Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

खेलकुदको नाममा मानव तस्करी रोक्ने कसले?

१३ सोमबार , भाद्र २०७३१० बर्ष अगाडि

खेलकुदका नाममा मानव तस्करी बढ्दैछ। खेलाडीको बिल्ला भिराएर लैजाने र उतै छाडेर आउने क्रम तीब्र रुपमा बढेको छ। खेलकुद मन्त्री बनेर आएका छन्– दलजीत श्रीपाइली। उनी खेलकुद विश्वविद्यालय खोल्ने भन्छन्, क्रिकेट मैदान निरीक्षण पनि गर्न गएका छन्। तर उनलाई फुटबलमा भएको फिक्सिङमात्र होइन, हालै जापानमा क्रिकेट खेल्न गएका खेलाडीको आवरणमा ८ जना गैर खेलाडीलाई लगेर जापानमै छाडेर आएको कूकर्मबारे सोध्दा बोल्दैनन्। यस्ता मन्त्रीले कसरी खेलकुद सपार्लान्? यो पछिल्लो घटनाबारे अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले चिन्ता व्यक्त गरेको छ र सरोकारवालालाई यसबारे छानबिन गर्न निर्देशन दिएको छ। तैपनि नयाँमन्त्री श्रीपाइली आन्तरिक अनुसन्धान भइरहेको भनेर टारिरहेका छन्। कुनै एक्सन लिने यिनमा क्षमता देखिएको छैन। खेलकुद परिषदमा ठूलै भ्रष्टाचार काण्ड चलिरहेको छ, खेलका नाममा मानव तस्करीजस्तो अपराध भइरहेको छ, मन्त्रीको ढाडमा हाड देखिएन। ९ महिना त हो नि भनेर मिच मारेको भए भिन्नै कुरा, नत्र मन्त्रीले सुधार्नैपर्ने हो?

हालैका दिनमा म्याच फिक्सिङ गरेको छैन भनेर अपिल गर्ने ५ खेलाडीको अफिल एएफसीले खारेज गरिदिएको छ। अर्थात फिक्सिङ सदर गरिदियो। यी ५ खेलाडीलाई आजीवन प्रतिवन्ध लाग्यो। यिनमा नेपाली टिमका कप्तान सागर थापा, उपकप्तान सन्दिप राई, गोलकिपर रितेश थापा, विकास सिंह क्षेत्री र अन्जन केसी परेका छन्। धरौटीमा अदालतबाट छुटेका यिनको खेल जीवन सकियो भन्दा हुन्छ। \u000aयतिबेला खेलक्षेत्र बहसमा छ र पकेटवाला ग्रुपको खल्तीबाट खेलकुद चलिरहेको बताइन्छ। राज्यले राम्रै लगानी गरिरहेको छ, नतिजा उत्साहवर्धक छैन। किन? किनभने खेलकुदमा भ्रष्टाचार, कृपावाद, पार्टीवाद र विकृति व्याप्त रहेको छ।

खेलकुद सुधार्छु भन्ने एमालेले आफ्नै पार्टीका खेलकुद फाँटका केशवकुमार विष्टलाई मन्त्री पुरुषोत्तम पौडेलको पालामा जबरजस्ती नियुक्ती गर्‍यो। उनको काम एमालेकरण गर्नु हो, मानव तस्करीलाई भित्रभित्रै बढावा दिनु हो, दिइरहेका छन् र कमाइरहेका छन्। देशको खेलकुदको भविष्य अन्धकारमा पारिरहेका छन्। हालै १८ जनाको क्रिकेट टोलीमा यिनका पनि सिफारिसका मान्छे खेलाडीका रुपमा गएका थिए र प्रतिव्यक्ति १५ लाखका दरले ती खेलाडीका आवरणका युवालाई उतै छाडिएको आरोप लागेको छ।खेलकुद सुधार्छु भनेर माओवादी पनि भनिरहेको छ। तर, माओवादी पिएलए स्पोर्टस क्लव बनाउने सोचका साथ अगाडि बढेको आरोप अहिले नै लागिसकेको छ। विकृति हटाएर खेलकुदभित्र स्वच्छ प्रतिस्पर्धा कहिले सुरु हुने, केही भन्न सकिन्न। जता पनि राजनीतिक भागबण्डा, यही भागबण्डाले नेपालको खेलकुदको टाउकोमा हान्यो डण्डा। क्षमतावान खेलाडीहरु अवसर नपाएर कुहिएर बसेका छन्। स्टाफ र कृपावादीहरु देशविदेश घुमिरहेका छन्, खेलकुदको भविष्य अन्धकार हुँदै गएको छ। राम्रा भन्दा आफ्ना मान्छे खोज्न थालेपछि यस्तै हुन्छ।

खेलकुद तस्करी, गुण्डागर्दी चलाउने, गूपिज्म गर्ने, चाकरी गर्ने, घुस्याहहरुको थलो बनेर रह्यो। एउटा खेलाडीले दिएको सुझाव यस्तो छ– जेहेन्दार खेलाडीको खोजी, तिनलाई तालिम, खेलकुद क्षेत्रमा स्वच्छता हुनैपर्छ। खेलाडीले पदक जितुन्जेल उसको वाहवाही हुन्छ तर, त्यसपछिको भविष्य के? रोजिरोटीकै समस्याका कारण खेलाडीहरु पलायन भइरहेको डरलाग्दो परिस्थिति छ। जेहेन्दार करेन्ट खेलाडीहरुलाई भत्ता उपलब्ध गराउनु पर्छ। त्यो भत्ताले घर परिवार र उ स्वयमं पालियोस्। खेलेरै बाँच्न सक्ने वातावरण बनाउनुपर्छ। पुरानो गेमहरुमा गोल्ड मेडल जितेकाहरुलाई अनुभवि प्रशिक्षकको भूमिकामा राख्नुपर्छ। सरकारले चाहने हो भने एउटा क्याबिनेट निर्णयको आधारमा खेलाडीको भविष्य बन्नेछ।