
नेकपाका संयोजक प्रचण्ड दिल्ली पुगे लगत्तै कांग्रेस सभापति पत्नी डा.आरजु देउवा दिल्ली पुगिन् । रास्वपाका स्वर्णिम वाग्लेदेखि राप्रपा, मधेसी दलहरु र एमालेका प्रतिनिधिको समेत दिल्ली दौडाह भइरहेको छ । लाग्छ, दिल्लीमा हाजीरी नजनाईकन नेताहरु चुनावमा जान सक्दैनन् । दिल्लीमा प्रम मोदीलाई होइन, भाजपाका नेता र योजनाकार अजित डोभालसँग कुरा मिलाएर फर्कने हुन् ।
यस पटकको दौडाहमा प्रभावकारी माओवादी अर्थात हालको नकेपा संयोजक प्रचण्ड देखिएका छन् । तत्कालीन माओवादी र नेकपा एसको प्रवासी संगठनहरूको एकता सन्देश सभालाई संवोधन गर्न दिल्ली भ्रमणमा गएको भनिए पनि चुनावको चटारोको स्थितिमा प्रचण्ड भारतीय कम्युनिष्टहरू र भारतीय संस्थापनको निकटस्थहरूसँग चुनावमा सहयोगको वातावरण बनाउन गएको बुझ्न सकिन्छ । माओवादी पुरानो स्थितिमा नरहेको, १६ पार्टी मिलाएर नेकपा बनाएको र आफू त्यसको संयोजक रहेको प्रष्ट पार्न पनि प्रचण्डको भ्रमण भएको हुनसक्छ । विज्ञहरू भन्छन्– यो भ्रमणमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसम्म प्रचण्ड आएको नोटिससम्म मात्र पुग्यो होला, थप केही हुनसकेको देखिएन ।
स्मरणीय छ, प्रचण्डले १० वर्षे माओवादी जनयुद्धकालमा भारतमै बसेर नेपालमा जनयुद्ध लडेका थिए । नेपालमा जेनजी आन्दोलनपछि पाखामा पछारिएका ठूला दलहरूप्रति भन्दा नयाँतिर भारतले चासो राख्न थालेको चर्चा चलेको छ ।
कसले फुटाउँछ, कसले जुटाउँछ ?
नेता नेता, पार्टी पार्टीलाई कसले उचाल्छ, कसले पछार्छ ? कसले जोड्छ, तोड्छ ? कसले खेलाउँछ, चलाउँछ ? रहस्यमय छ । दिनदिनै पार्टी र नेताको अवस्था दयनीय बन्दै गएको छ । यही कारण नेता, नीति, विधि, पद्धति फेल भएका छन् । अस्थिरता बढ्दै गएको छ । पछिल्लो जुटेका उदाहरण हुन् बालेन्द्र साह, रवि लामिछाने र कुलमान घिसिङ । यिनलाई जेनजीले जोडे कि अदृश्य शक्तिले ? यिनीहरू स्थिरताका प्रतीक हुन् कि अस्थिरता ?


