
जे नहुनुपर्ने थियो, भइसक्यो । राजनीतिक दुर्घटना घटिसक्यो । घटना इतिहास बनिसक्यो, यो इतिहासबाट शिक्षा लिने हो भने नेपाली नेताहरूले सोच सच्याउन सक्छन्, जनताको अपेक्षाअनुसार अघि बढ्न सक्छन् ।
भदौ २३ र २४ को जेनजी आन्दोलनले नेपालमा सुशासनको नयाँ बहस सुरू भएको छ । नेपालमा फैलिएको भ्रष्टाचार, नेपोटिजम र अपराधीक राजनीतिको न्यूनिकरण हुने आशा जगाएको छ । नेता र प्रशासकले राम्ररी बुझे कि अनियमितताको बिलाशिता टिकाउ नहुने रहेछ, कुनै पनि बेला राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा घृणित हुनुपर्ने रहेछ । जेनजी पुस्ताले चाहे भने सबै खरानी पार्न सक्नेरहेछ ।
जेनजी आन्दोलनले नेपालमा विद्यमान पद्धति परिवर्तनदेखि अवसरको खोजीसम्मका लागि भइरहेको हो भन्ने सबैले बुझ्न सके । जेनजी पुस्ताले सुरक्षित भविष्य र न्यायपूर्ण समाज र जवाफेदहीपूर्ण नेतृत्व खोजेका छन् । फागुन २१ मा निर्धारित चुनाव जेनजी पुस्ताका सबै एजेण्डाहरूलाई संवोधन गर्ने प्रत्याभूति हुनैपर्ने बाध्यात्मक राजनीतिक वातावरण सिर्जना गरिदिएको छ ।
यसकारण फागुन २१ को चुनाव, परम्परागत रूपमा हुनेछैन, मासुभात र खर्चपानी दिएर चुनाव जित्न सकिनेछैन, यसपटकको चुनाव सही जनप्रतिनिधिले जित्नसक्ने देखिन्छ । नेपोटिजम र स्वार्थ कतिसम्म घृणायोग्य छ भन्ने कुरा चुनावमा सिफारिस भएका र समानुपातिकमा राखिएका बदनाम, नातावाद र असमावेशी नामबाट पार्टीहरूलाई खुलस्त शिक्षा दिइसकेको छ ।
जेनजी पुस्ताले २७ घण्टामा स्थापित गलत पद्धति, असफल संविधान खरानी पारेर दिएको सन्देश भनेको कि त जनताको इच्छा आकांक्षा संवोधन गर, कि त शासन, प्रशासनबाट पन्छिउ भन्ने नै हो । जो अटेरी भएर अनियमिततामा लिप्त हुन्छ, आउने दिन तिनीहरूका लागि दुर्भाग्यजनक परिणाम बेहोर्नुपर्ने संकेत निश्चित छ ।
तत्कालीन केपी ओली सरकारले २६ वटा सामाजिक सञ्जालमा प्रतिवन्ध लगाउँदा युवा भड्किए, अभिभावक रिसाए, आक्रोश सडकमा पुग्यो । आक्रोशमाथि राज्य दमन गर्न गोली चलाउँदा भदौ २३ गते १९ र २४ गते जेनजी पुस्ताको नरसंहार नै हुनपुग्यो । ७८ जना मारिए, हजारौं अंगभंग भएर जीवन बाँच्न कठिन अवस्थामा पुगे । अझै जेनजी पुस्तामाथि राज्यकहर भइरहेकै छ । यसैको प्रतिरोधमा आगो लाग्यो र लोकतान्त्रिक गणतन्त्रमा खडा भएको असक्षम संविधान खरानी खरानी हुनपुग्यो ।
नेपालको यो जेनजी पुस्ताको आन्दोलनलाई सन २०२२ को श्रीलंकामा भएको जनबिद्रोह, बंगलादेशमा भएको न्यायको माग गर्दा भएको शेख हसिनाको राज्यदमनसँग जोडेर हेर्ने गरिएको छ । जेनजी पुस्ताले उदाहरण स्थापित गरिदिएका छन्– जब जनताको गाँस बास खोसिन्छ, राजस्वमा भ्रष्टाचार बढ्छ र नेपोटिजमलाई लोकतन्त्र भनिन्छ, तब बिद्रोह हुन्छ । देश र जनताप्रति जिम्मेवार हुनुपर्छ भन्ने शिक्षा दिन्छ ।
केन्यादेखि पेरूसम्म जेनजी असन्तोष सडकमा छाल बनेर उर्लिएका छन् । व्यापक जनसमर्थन पाएका छन् । राज्यदमनले टाउको झुकाएको छ । जेनजी पुस्ताको लडार्इँ नेपोटिजम र भ्रष्टाचार विरूद्ध हो । समानता, योग्यताको कदर, अवसर, न्यायको खोजी र पारदर्शिताको माग जेनजीको आन्दोलन हो । जेनजीको आन्दोलनले जवाफदेहिता बलियो बनाउन मद्दत गरेको छ । जिम्मेवार हुने कि घृणित बन्ने ? आइन्दा प्रत्येक शासक, प्रशासकले जवाफ दिनैपर्ने समय आएको छ ।


