
८ दशक लामो इतिहास भएको नेपाली कांग्रेस डाइनासोर हुने खतरनाक मोडमा पुगेको छ । नेपाली प्रजातन्त्रको बिडा उठाएको कांग्रेस धेरै संघर्ष र पटक पटक पटक सत्ताको बागडोरमा पुगेर पनि असफल देखिन्छ । नेपालको प्रजातन्त्रको धरोहर नेपाली कांग्रेस संघर्ष, राजनीतिक शिखर आरोहण र बदनामी र सतहमै झर्नेमात्र होइन, डाइनासोरझैं बिलीन हुने त होइन भन्ने भीरमा आइपुगेको छ ।
जेनजी पुस्ताले पार्टी सभापतिका दम्पत्ति नै रगतपच्छे हुनेगरी कुटिएपछि र घर र अकूत सम्पत्तिलाई आगो लगाएर खरानी बनाइएपछि कांग्रेस राजनीति तरल हुनपुगेको थियो । वीपीका पुत्र र बाँकी शेखर, सशांक, सुजाता पनि दिग्भ्रमित भएको अवस्था छ भने वीपीका अनुयायी सभापति शेरबहादुर देउवा स्वयम् निर्वाचन कि संसद पुनस्र्थापना, नियमित कि विशेष महाधिवेशन भन्ने निर्णयसम्म गर्न नसकेर बहुमतको माग र विधि लत्याउन पुग्दा घरको न घाटको भएको छ ।


