Advertisement Banner
Advertisement Banner

२५ बुधबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

प्रचण्डलाई हेग लैजाने धम्की - धर्मरत्न श्रेष्ठ

०६ सोमबार , भाद्र २०७३१० बर्ष अगाडि

 - धर्मरत्न श्रेष्ठ एमाले अव प्रचण्डलाई तर्साउने रणनीतिका साथ अघि सरेको छ। एमाले अध्यक्ष केपी ओलीको लोली, उनका अनुयायी राजीव पहारीको बोली सुन्दा यस्तै अनुमान लगाउन थालिएको छ। राष्ट्रिय सहमति र सहकार्यको आवश्यकता छ, राजनीतिक द्वेषका भावहरु छचल्किन थालेका छन्। त्यसमाथि प्रधानमन्त्रीका कर्म र राजनीतिक अधर्मले पनि स्थितिलाई जटिल र तनावपूर्ण बनाउन थाल्यो।

ओली सरकारलाई हटाएर आफै सरकार बनाएका प्रचण्डलाई हेग पुर्‍याएर छाड्ने रणनीतिक आक्रोस पोख्न थालेको छ एमालेले। भर्दा ३ गते एमाले हेडक्वार्टरको आदेशमा युवा संघका अध्यक्ष राजीव पहारीले प्रधानमन्त्री प्रचण्ड आफै हेग जाने बाटो खन्दैछन् भनेर धम्क्याएका छन्। सोही दिन प्रधानमन्त्रीले अदालतमा चलेका र फैसला भइसकेका सबै मुद्दालाई सत्य निरुपण तथा मेलमिलाप आयोगमा लैजाने निर्णय गरेका थिए।

यही दिन सरकारले सहयोग नगरेको र फौजदारी अभियोगीहरुलाई आममाफी दिन नसकिने कुरा गरेका थिए मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङले र साथसाथै राजीव पहारीले जनयुद्धकालीन गम्भीर अपराधका अभियुक्तलाई आममाफी दिने होमवर्क सरकारले थालेको आरोप लगाएका छन्। र, यता मानवाधिकारवादीहरुले प्रधानमन्त्री प्रचण्डलाई खबरदारी गरेका छन्। यता गंगामाया बचाउ अभियान तीब्र गतिमा चर्किदै गएको छ। छोरा कृष्णप्रसादको हत्या माओवादीले गरेको थियो र हत्यारालाई कारवाही गरिपाउँ, न्याय पाउँ भनेर श्रीमान नन्दप्रसाद अनसनमै बितिसकेका छन् र उनको शव टिचिङ अस्पतालको फ्रिजमा बरफ बनाएर राखिएको पनि वर्षौं भइसकेको छ। अव गंगामायाको जीवन मृत्युको संघारमा पुगिसकेको छ। गंगामायाको जीवन लीला समाप्त भयो भने नेपाल दण्डहीनता, अमानवीयतायुक्त मुलुक प्रमाणित हुनजानेछ। विश्वका अधिकारकर्मीको ध्यान यतिबेला गंगामायातिर देखिन्छ।

जेहोस्, एमाले हेग जाने र प्रचण्डलाई हेग अदालतमा उभ्याउने सम्मको आक्रोस पोख्न थालेको छ। आक्रोसले आतंक जन्माउने खतरा बढेको छ।