
नेपालको राजनीतिक इतिहासमा राजा महेन्द्र र वीपी कोइरालामात्र राजनेताका रूपमा चर्चित छन् । यी दुईको छ र नेपाल रहेसम्म रहिरहनेछ ।
०४६ सालको परिवर्तन कालरात्रि बनेर अस्तायो, ०६३ सालको लोकतान्त्रिक गणतन्त्र भ्रष्टाचार र कूशासनको रूपमा बिलायो । अग्रगमनका नाममा बनेको संविधान, संवैधानिक संरचना सबै मरेर गयो । जतिसुकै आत्मरती गरे पनि लोकतान्त्रिक गणतन्त्रको जिलो पनि बाँकी छैन । जेनजीको बिद्रोहले सबै फाँडिदियो ।
यतिबेला प्रश्न गर्न सकिन्छ– राजा महेन्द्र र वीपीको राष्ट्रवाद र प्रजातन्त्र अर्को १० वर्ष जिवित रहेको भए, नेपाल यसरी रक्षान बन्ने थिएन ।
वीपीको आत्मबृतान्त पढ्नेलाई थाहा छ– वीपीले मान्ने राजतन्त्रलाई मात्र हो, राजाले मान्ने वीपीलाई मात्र । एकदोस्रालाई सम्मान गर्थे, वीपी राजाका भान्सामा पुग्थे, महारानीले तरकारी काटेको ठाउँमा पनि पुग्थे । तर एकदोस्राप्रति आकाशजमीनको भिन्नता थियो । वीपी प्रजातन्त्रबादी, महेन्द्र राष्ट्रवादी । नदीका दुई किनारजसरी बाँचे, मिल्न सकेनन् । यद्यपि वीपीले जीवनभरि राजतन्त्रको गर्धनसँग गर्धन जोडिरहे, राजाले वीपीलाई सम्मान र सहयोग गरिरहे । त्यहाँ निषेध थिएन, प्रतिषोध पनि थिएन ।
वीपी बिते, वीपीका शाश्वत नीतिहरू बिलाए । वीपीका उत्तराधिकारीहरूले वीपी धारणालाई कम्युनिष्टको चुलोचौको, चकचकीमा सेलाए । कांग्रेस छ, गूट र फूटमा छ । वामको पछि पछि छ ।
राजतन्त्र फालियो । किन फालियो, कसैलाई थाहा छैन । राजतन्त्रवादी छन्, कोठे आक्रोश र ओठे जय जयकारमा छन् । कांग्रेस छ, वीपी नीतिमा छैन ।
वीपी थिए र राजतन्त्र थियो । राजतन्त्र थियो र कांग्रेस थियो । प्रजातन्त्र र राष्ट्रवाद ज्यूँदो थियो र दुबै थिए । आज न समाजबाद छ, न राष्ट्रवादी । कांग्रेस छ, सुतेको छ कि उठेको छ ? राजनीतिको बहादुर हो कि बगरको बुहारी झार ? नेपाली कांग्रेसले आफ्नो स्थान र स्तरको ख्याल गरेन ।
कांग्रेस खोज्न माओवादी, एमालेजस्ता वामपार्टी खोतल्नुपर्छ ।
राष्ट्रवादी राजतन्त्र र प्रजातान्त्रिक कांग्रेस– राजतन्त्र मारियो, कांग्रेस ब्रम्हनालमा घिटीघिटी अवस्थामा छ । यी दुबै बौरिनसक्ने सहमतिमा हो । सहमति हुन रोक्ने देश विदेशी शक्तिहरू छन्, जो गणतन्त्रको तगारो तेस्र्याएर दोबाटोमा उभिएका छन् ।
कम्युनिष्ट छन्, राजतन्त्रको बिरोध गर्छन्, प्रजातन्त्रलाई सर्वहारावादी समाजवादको जामा पहि¥याएर ‘पुग्ने एकदलीय शासनमै हो’ भन्ने स्कूलिङ गरिरहेका छन् । कम्युनिष्ट सत्ताको भाङ्मा लठ्ठिएर प्रजातन्त्रको चीरहरण गरिरहेका छन् । बरू महाभारतमा कतै कतै दुर्योधन हच्किएको देखियो, लोकतन्त्रलाई नङ्ग्याउन कम्युनिष्टले कुनै कसर बाँकी राखेनन् । कम्युनिष्टका चरित्रमा नीति र अनीतिमा कुनै भिन्नता देखिएन । राष्ट्रवादको मन्त्र जपेर राष्ट्रमाथि बलात्कार गर्नु कमरेडी कमाल हो । संसद, सिंहदरवार र शितल निवास कम्युनिष्टका लागि हरेक दिन मदिरा पिउन र आफैलाई हल्लाउन हल्लिन जाने दोहोरी साँझ भयो । यसकारण त जेनजी बिद्रोह भयो ।
७५ वर्षमा न अर्को राष्ट्रवादी महेन्द्र जन्मे, न प्रजातन्त्रवादी वीपी । अर्को मदन भण्डारी र मनमोहन पनि जन्मेनन् । जन्मिए शेरबहादुर देउवा, प्रचण्ड, केपी ओली, माधव नेपाल । यिनको नाममा कूशासन र भ्रष्टाचारमात्र देखिन्छ ।
शासन चारकोसे झाडी भयो, पशुजस्ता डाँकाहरूको राज निर्वाध चलिरह्यो । सक्कली लोकतन्त्रका लागि जेनजीले बिद्रोह गरे, बिद्रोहपछि पनि नक्कली नै हावी हुनपुगेका छन् ।
इतिहासअनुसार– राणा शासन । एरिगा ल्युस्टाग दरवारकी नर्स । उनले समेत त्रिभुवनको दूत बनेर साथ दिइन् । कारण एरिगाले राजाको निरीहता र जनताको बिजोगबाट ग्लानीवोध गरेकी थिइन् । स्वयम् राजा त्रिभुवनले नर्सलाई भनेका थिए– असली राजा श्री ३ हुन् । म नाममात्रको श्री ५ हुँ । म कैदी श्री ५, कैदी राजा । ताला मारिएको पाँच पाँच ढोकाबाट म थुनिएको छु । इतिहासकारहरू भन्छन्– राजाले तिनै नर्सका माध्यमबाट राणालाई सर्प, राजदूतलाई चरा र चिठीलाई फूलको सांकेतिक भाषामा जनतासँग सम्पर्क स्थापित गरेका थिए । यसरी राजाले राणाविरोधी आन्दोलन छेडेर राणा शाहीलाई हटाएका हुन् ।
त्यसरी आएको र विकसित हुँदै गएको नेपालको प्रजातन्त्र भ्रष्टाचार र कूशासनको बिरामीले थलियो ।
कूशासनको हैजाका बारेमा कुनै योजनाकार भन्दैनन् । कुनै नागरिक समाज वा बुद्धिजीवी बोल्दैनन् । थाहा नभएर होइन, उनीहरूभित्र आत्मसम्मान मरिसक्यो । सबैभन्दा डरलाग्दो रोग विश्वासको संकट हो । आत्मविश्वास नभएकाहरूको रस्तीबस्ती बन्यो शासन ।
विश्वासको ऐना फुटेको छ । फुटेको ऐनामा सग्लो अनुहार देखिन्न । ऐनाका टुक्राहरू बिझेको, ऐनाले काटेर घावैघाउ भएको छ नेपाल । राष्ट्रनिर्मातामा बिबाद छ । परिवर्तनमा बिबाद छ । पद्धतिमा बिबाद छ । मूल कानुन संविधानमा बिबाद छ । बिबादै बिबादले भरिएको मुलुक क्षतबिक्षत अवस्थामा पुग्यो ।
कुनै प्रधानमन्त्रीले मेरो देश महान भन्यो ? नेपालप्रति गौरव गरेको सुनियो ? एउटा दक्षिणतिर ढल्क्यो भने अर्को उत्तरतिर ढल्किन्छ, तेस्रो पश्चिमतिर । यी तिनैथरिमा भएका अवसरवादी पसलेहरू लाभतिर पल्किन्छन् । राष्ट्रवाद र प्रजातन्त्र खिइएको यसैगरी हो । स्वार्थले महत्व पाउँदा कूशासन बढेको हो ।
हरेक नेता शंकास्पद छन् ।
हरेक प्रशासक शंकास्पद छन् ।
शक्तिशाली हुनु भनेको विदेशीको एस म्यान हुनसक्ने योग्यता हो । सत्तामा पुग्ने योग्यता भनेको जेल परेको वर्षगन्ती, पार्टीलाई आर्थिक सहयोग गर्नु हो । संवैधानिक पदमा पुग्ने योग्यता बढाबढमा घूस दिनसक्ने क्षमता र न्यायाधीश हुने योग्यता लेनदेन मिलाउन जान्ने योग्यता हो । घूस दिन्छु, आदेश मान्छु भन्नुपर्ने भएपछि व्यक्ति भजन गुञ्जिने नै भयो । सुत्न र सुताउन सक्ने, खान र खुवाउन सक्ने, लुट्न लुटाउन सक्ने सबै योग्य, बाँकी सबै अयोग्य । नेपाल बिग्रेको नगद र नमस्कारतन्त्रले हो ।
राणा शासनपछि अनेक परिवर्तन भए । २०१७ देखि २०२८ वीचमा बाहेक रचनाशील र सिर्जनाशील केही पनि हुनसकेन । राजा वीरेन्द्रले केही प्रयास गरे, ०४६ पछिका ३७ वर्ष खेर फालियो । लिक्वान यु र महाथिरको सम्झना धेरै पटक गरियो, देशका लागि जनअपेक्षा फल नमिल्ने तपस्यामात्र भयो । राजनेता बन्लान् भन्नेहरूले देश बेचिरहे ।
दोष नागरिकको पनि छ । नागरिकले कस्तो नेता बनाउने भनेर कहिले सोचेनन् । अधर्मीलाई खादा, माला, अभिनन्दन, सिन्दुरे जात्रा गरी गरी अधर्म बढाउने नागरिक नै हुन् । यही देखेर कालीप्रसाद रिजालले गीत लेखे– मुटुमाथि ढुङ्गा राखी हास्नुप¥या छ ।
हाम्रा राजनीतिक प्राणीहरूले कहिले विचार नै गरेनन्, रूसमा किन लेनिनको सालिक ढालेर अब्राहम लिंकनको सालिक ठड्याइयो ? इराकमा सद्दाम हुसेनको सालिक बनाउने कारिगरले आफ्नै कारिगरी भत्काए भनेर ।
अर्थात् भ्रम चिरायु हुँदैन ।
नेपाली जनजन भ्रममा छन् ।
०४६ सालमा राजा वीरेन्द्रको पुतला दहन गर्नेहरू ०५८ सालमा तिनै राजाको हत्या भएपछि टाउको मुडेर किरिया बसे । बेलामा बुद्धि नपुगेपछि, समय घर्केपछि गर्ने पश्चाताप र पछुताउ हो ।
कुनै समय इटलीको मिलान सहरमा मुसोलिनीको कार्यक्रममा माउरीको गोलोजसरी मानिसहरू जम्मा हुन्थे, त्यसैगरी भूमिगत प्रचण्ड सार्वजनिक हुँदा प्रचण्डलाई हेर्न नागरिकहरूको लुँडो लागेको देखिन्थ्यो । आज प्रचण्ड शिखरबाट खाल्डामा पुगिसकेका छन् । कांग्रेसका देउवा अथवा ओली, देवत्वकरणबाट घृणाकरणमा पुगे ।
हुन त नेपाली राजनीतिमा कुनै दल, नेता लोकप्रिय रहेनन् । मुसोलिनीका प्रशंसकहरूको होस खुलेपछि मुसोलिनी र उनकी प्रेमिकालाई वीच बाटोमा उल्टो झुण्ड्याउने उनलाई देवता मान्नेहरू नै थिए । जो त्यो बाटो हिड्थ्यो, मुसोलिनीलाई थु थु थुकेर हिड्थे । जसरी १९७५ मा सिक्किम भारतमा मिलाउने राष्ट्रघाती लेण्डुप दोर्जीलाई सिक्किमेहरूले थुकेका थिए । उनी घृणित भएर मरे ।
नेताहरूलाई हेक्का रहोस्, धुपौरेको धुपध्वाँर, आरतीगान सुनेर म ख्यातीको शिखरमा छु भन्ठान्नु आत्मरती हो । ती लखेटिन्छन्, जसरी तिनले अरूलाई लखेटेका थिए । नागरिकले प्रशंसा गर्ने केही ग¥यो, केही गर्छ कि भन्ने आशले हो । पूजागर्ने उसको कीर्ति, अतुलनीय योगदानलाई हो ।
१५ वर्षमा राम अयोध्या फर्केको किन बिर्सेको ? राजा फालियो भन्ने दम्भ पाल्ने र सुकर्म गर्न नसक्नेहरू नादान हुन् । यासिर अराफात हरहमेसा भन्ने गर्थे– हामी शुन्यतामा महल होइन, प्यालेस्टाइन धर्तीमा झुपडी बनाउन चाहन्छौं । हाम्रा नेताहरूले भर्जिन धर्ती गुमाइरहे ।
१७ वर्षमै देखियो– लोकतन्त्रः जितनी चावी भरी रामने, उतनी चली खिलौना ।
आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्झना आइरहेको छ । देवकोटाले लेखेका थिए– खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ ? आफु रित्याई अरूलाई दिनु जहाँ छ । नेपाली नेताहरूले यो पढ्नु जरूरी छ ।
नेपालका सन्दर्भमा एक युगमा एक दिन ल्याउने हामी हौं भन्नेहरूले विन्सटन चर्चिल र उनका प्रशंसकको वार्तालाप पढ्न र बुझ्न जरूरी छ । गर्जने सिंह अर्थात बिसौं शताब्दीका युगपुरूष विन्सटन चर्चिलले बोल्ने भनेपछि स्रोता र सहभागीहरूको व्यापक र उत्सुकतापूर्ण भीड हुनेगथ्र्यो । एकदिनको कार्यक्रममा ठूलो मैदानमा अटाइ नअटाई मान्छेहरू आएको देखेर प्रशंसकले प्रशंसा गरे– तपाई साह्रै लोकप्रिय नेता हुनुहुन्छ । तपाईको भाषण सुन्नका लागि लाखौंलाख मानिसहरू जम्मा भएका छन् ।
चर्चिल खिसिक्क हाँसे र प्रशंसाको प्रत्युत्तर दिए– यो भीडमा थोरै भाषण सुन्न र अत्यधिक मानिसहरू तमासा हेर्न आएका हुन् । यदि भोलि यही स्थानमा मलाई फाँसी दिइयो भने योभन्दा ठूलो भीड देखेर तपाई अचम्मित नभए हुन्छ ।
चर्चिल र नेपाल उस्तै छ ।
ठूला दलका नेताहरू कार्यकर्तालाई फोर्स बनाएर सुरक्षित भइरहेका छन् । किन होला भनेर सवालको जवाफ खोजौं, नेपालको राजनीति स्पष्ट बुझिने छ । छर्लङ्ग देखिने छ । नेपाल सिसाघरजस्तो छ, बुद्धि नपु¥याए, जुनसुकै बेला कुनबेला चकनाचूर हुनसक्छ ।



