
नेकपा (एमाले) को जारि ११ औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि विद्युतीय मेसिनमार्फत मतदान हुँदैछ । भावी नेतृत्व चयनका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् ।
भक्तपुरकाे सल्लाघारीमा उद्घाटन सत्रबाट सुरु भएकाे ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनको रस्साकस्सी अन्तिम मोडमा पुगेको छ । आज काठमाडाैँकाे भृकुटीमण्डपस्थित महाधिवेशन बन्दसत्र स्थलमा दिउँसो १ बजेबाट मतदान प्रक्रिया सुरु हुनेछ ।
एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदानको समय साँझ ७ बजेसम्मका लागि निर्धारण गरिएको बताइएकाे छ । सर्वसम्मतिको प्रयासका भएपनि अध्यक्ष पदमा ओली र पोखरेलले आ-आफ्नो गुटसहित उम्मेदवारी दिएपछि ११ औँ महाधिवेशन थप पेचिलो र रोचक बनेको छ ।
मतदानस्थलमा ८० वटा विद्युतीय मेसिन जडान गरिएका छन् भने देशभरबाट छानिएर आएका कुल २ हजार २ सय ६३ प्रतिनिधिले आफ्नो मताधिकार प्रयोग गर्नेछन् । ११ औँ राष्ट्रिय महाधिवेशन अध्यक्षमा मात्र नभएर एमालेको पदाधिकारी चयनमा पनि यसपटक ‘हेभीवेट’ नेताहरूबीच कडा प्रतिस्पर्धा हुँदैछ ।


