Advertisement Banner
Advertisement Banner

०१ मंगलबार, पौष २०८२20th November 2025, 6:33:20 pm

Image

राजा नै केन्द्रविन्दुमा छन्

शाश्वत शर्मा

३० सोमबार , मंसिर २०८२१८ घण्टा अगाडि

राजा नै केन्द्रविन्दुमा छन्

शाश्वत शर्मा------------

सुशीला सरकारको हालै भएको बिस्तार, एमालेको ११औं अधिवेशन, भिजिट भिसा प्रकरणमा भइरहेको थुनछेकका घटना, राप्रपाको एकदिने प्रदर्शन र ३ दिने केन्द्रीय समितिको बैठकको निष्कर्ष र केही जेनजी समूहवीच सम्पन्न सरकारी सम्झौता र राजपत्रमा प्रकाशित घटना प्रकरणभन्दा पनि राजा ज्ञानेन्द्रको फ्रेन्चकट दाह्रीसहितको अलि दुब्लाएको शरीरले अझै चर्चा पाइरहेको छ । इटहरितिरको भाटभटेनी सुपर मार्केटमा किनमेल गर्न जानु भएका राजाको उक्त लुक्ससहितको फोटले राजनीतिक अर्थ दिइरहेकै छन् । त्यसो त राजनीतिक र कूटनीतिक बृत्तमा पूर्वराजाको चर्चा बाक्लिएको सुनिन्छ । यसबाट थाहा हुन्छ, नेपालमा राजतन्त्रको मुद्दा केन्द्रविन्दुमा नै छ । भलै राजसंस्थावादी पार्टी, व्यक्ति, संस्थाहरूले दह्रो आन्दोलनको रूपरेखा दिन नसकुन्, राजतन्त्र नेपाली राजनीतिको शिखरमा रहेको जोकसैले अनुभव गर्न सक्छन् । त्यसो त नेपाली राजनीति जेनजी आन्दोलनको बिस्फोटनपछि ज्यादै तरल स्थितिमा छ । यसले जस्तोसुकै आकार लिन पनि सक्छ । अराजकता र अस्थिरताका अनेक जोखिमहरू देखिएका छन् । स्वयम् पार्टीहरू चुनावमा जाने कि नजाने, संसद पुनस्र्थापना गराउने कि भनेर दुई डुङ्गामा टेकेर राजनीति गरिरहेका छन् । राजा भनेको नेपालको मौलो हो, अभिभावक हो भन्ने तह र तप्का दिनदिनै बढेर गएको छ । कांग्रेसका गोपालमान श्रेष्ठ, शंकर भण्डारी, सुनिल शर्माहरूले दह्रै वकालत गरेपछि कुनै कृयाकलाप नगरे पनि राजसंस्था स्वतः चर्चाको केन्द्रमा पुग्नु गएको छ ।
पूर्वराजा हाल पूर्वतिरको बसाई र भेटघाटमा व्यस्त देखिनुहुन्छ । झापको चियाबगानतिर उपल्लो तहका नेताहरूसँग पनि भेटवार्ता गरेका अपुष्ट खबर सार्वजनिक भएका फोटोहरूले बताइरहेकै छन् । केही दिन अघि पूर्वराजाले कांग्रेस उपसभापति पूर्णबहादुर खड्कासँग वार्ता गर्दै गरेको तस्वीर सार्वजनिक भएको थियो । पूर्वराजा सार्वजनिक रूपमा निस्कृय रहेपनि भित्रभित्रै राष्ट्रको बिग्रदो परिस्थितिप्रति चिन्तित रहेको सहजै अनुमान गर्न सकिन्छ । जेनजी आन्दोलनका बेलामा राजाविरोधी माधव कुमार नेपालले आत्तिदै दिएको प्रस्तावमा पूर्वराजाले आमराजनीतिक सहमति खोजेको विषय बाहिर आएकै हो । यसको अर्थ पूर्वराजा थप अस्थिरता र द्वन्द्व नचाहेको प्रष्ट बुझ्न सकिन्छ । क्रिकेटको एनपीएलसकियो, एमालेको महाधिवेशन समाप्ति हुँदैछ, यसपछि कांग्रेसको महाधिवेशन छ । अब खेल सुरू हुन्छ, फागुन २१ मा चुनाव हुने कि म्याद थप्ने कि संसद पुनस्र्थापना हुने हो कि अनेक तर्कवितर्क उठिरहेकै छन् । सुशीला सरकारलाई फाल्ने खेल देखिन्छ, अर्को सरकार पनि बन्नसक्छ । सुशीला सरकारले जेनजीको एजेण्डामा काम नगरेको, समय घर्काएको आरोप पनि लागेकै छ । अन्य ससाना गुटहरू पनि आन्दोलन गर्ने मूडमा छन् । खासगरी दुर्गा प्रसाई थामथुम भएका हुन् कि होइनन्, सहकारी, लघुवित्त, मिटरव्याज पीडितहरू तात्न थालेका छन् । स्थिति भयावह हुँदैछ, यो भयावहता सम्हाल्ने कुनै पनि नेतामा साहस र क्षमता देखिदैन । विश्वासको संकटमा परेका नेताहरू टाउको उठाउन त थालेका छन् तर समाजमा जान डराइरहेका छन् र समाजले ठूला पार्टी र नेतालाई स्वीकार गरेको अवस्था छैन ।
आशा र भरोसा राजसंस्थामा कायम छ । राष्ट्रपति, पूर्व विशिष्टश्रेणीकादेखि गाउँपालिकासम्म भ्रष्टाचारको क्यान्सरले ग्रस्त गलित छन् । राजनीतिक बर्गमा विवेक छ भने संवाद, सहमति र सहकार्यका साथ अघि बढेर प्रजातन्त्र बचाउन र सुशासन दिन अग्रसर हुनुपर्ने हो । त्यसै पनि अलोकप्रिय बनिसकेका नेताहरू अझै जनताको आँखामा छारो हाल्न सकिन्छ भनेर नसोचे बेश हुनेथियो । चुनाव फागुन २१ मा तोकिएको छ, आमनागरिकमा पटक्कै उत्साह छैन । यसको कारण भनेकै लामो समयदेखि शासनसत्तामा व्यभिचार र अपराध फैलाउने यिनै तत्व हुन् ।
हो, पसल थापेझैं सयौं दल दर्ता भएका छन् । दल दर्ता हुनु भनेको प्रजातन्त्र बलियो भएको होइन । यति सानो देशमा दलैदलको दलदल भनेको पनि भ्रष्टाचार नै हो । नीति, सिद्धान्त, नैतिकताको कसीमा कुनै दल खरो उत्रनसक्ने देखिदैन । जब चुनावमय वातावरण बनेकै छैन भने कसरी चुनाव सम्भव छ र ? न चुनाव सम्भव देखिन्छ, न अदालतबाट संसद पुनस्र्थापना हुन्छ नै भन्न सकिन्छ । चुनाव अथवा संसद पुनस्र्थापना दुबै स्थितिमा देखिने र बढ्ने भनेको अराजकता नै हो । राजनीतिक दलहरूले स्थिरता, शान्ति, सुशासन र समृद्धि खोजेका हुन् भने जेनजी पुस्ता लगायतका सबैखाले राजनीतिक शक्तिहरूसँग संवाद, सहकार्य र सहमतिको वातावरण निर्माण गर्नैपर्छ । तबमात्र देश गतिमान हुनसक्नेछ । हिजो राजाका कारणले स्थिति खराव भएको भनेर जतिसुकै आक्षेप लगाएपनि बिगत १७ वर्षले देखाइसक्यो कि कारण राजतन्त्र होइन रहेछ । इतिहासमा वर्तमानमाजस्तो अन्धकारमय अन्यौल कहिले पनि थिएन । ०३६, ०४६, ०६३ सालमा राजतन्त्रले जन–असन्तुष्टिलाई संवोधन गरेर एउटा निकास दिएको थियो । अहिले राति सुतेर उठ्दा देश रहन्छ कि रहँदैन, मान्छे सुरक्षित उठ्छ कि उठ्दैन भन्ने भय छ । असुरक्षा, अशान्ति, भ्रष्टाचार, राष्ट्रघात र बाहुबलीतन्त्रले सीमा नाघेको छ । यिनै सडेगलेका पुरना र नयाँ पात्रहरूबाट केही हुनेवाला छैन । तसर्थ, राजसंस्था आजको आवश्यकता हो । त्यही भएर नै केही गरे पनि नगरे पनि, बोले पनि नबोले पनि राजाको चर्चा शिखरमा रहेको देखिन्छ । पार्टीका कार्यक्रममा नेताका कुरा सुन्न मुस्किलले मान्छे जानेगर्छन्, खासगरी कार्यकर्ताहरू । तर राजा जहाँ जाँदा पनि स्वागत र अभिनन्दन गर्ने, तस्वीर लिनेहरूको भीड लाग्छ । किन त ? फेरि  पनि भनौं, सतहमा अहिलेसम्म नदेखिएको मात्र हो, राजा नै सर्वेसर्वा भइसकेका छन् । राजा नै एकमात्र आशाको केन्द्र मानिएको छ । राजतन्त्र पुनस्र्थापना गर्न अन्तिम धक्काको जरूरत देखिन्छ । स्मरणीय के पनि छ भने राजतन्त्र पुनस्र्थापना भइसक्ने थियो, राप्रपा, राजावादी, हिन्दुवादी भनिएकाहरू सबै अवसरवादी र त्याग गर्न नसक्ने खालका भएकाले भ्रष्टाचार, दुराचारीहरूको हालीमुहाली कायम रहेको हो । जेनजी पुस्ताले तीन त्रिलोक, चौधभुवन देखाइदिएका छन्, सबैको विवेकको बिर्को खुलोस् ।