
जेनजी जेनजीजस्ता सावित भएनन् । गत भदौ २३ र २४ को जेनजी आन्दोलन, आन्दोलनपछिको बिस्फोटक बिद्रोह सफल भएपछि लोकतान्त्रिक गणतन्त्र नामको लूटतन्त्र तासको पत्ताझैं ढल्यो । जेनजी पुस्ताको बिजय भयो । यो बिजय ७६ जना जेनजी पुस्ताको ज्यान र हजारौं जेनजी पुस्ताको अंगभंगपछि प्राप्त भएको थियो । जेनजीले राखेका माग र खोजेको परिवर्तनका बारेमा जेनजीहरुले खुला बहस गरेका थिए । बहसमा सार्वजनिक भएका विषयहरु थिए– संसद विघटन, प्रत्यक्ष कार्यकारीको निर्वाचन, नरसंहार मच्चाउन आदेश दिने तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई पक्राउ र कारवाही, जेनजी पुस्ता समेटेर निर्वाचन, ०४६ सालपछि पदमा बसेका सबैको सम्पत्ति छानबिन, भ्रष्टाचार काण्डहरुको स्वतन्त्र र न्यायिक छानबिन र कारवाही, २ महिनाभित्र हिन्दुराष्ट्रसहितको नयाँ संविधान जारी, २ कार्यकालको अवधि किटान, सांसद मन्त्री बन्न नपाउने, संघीयता खारेज, संवैधानिक निकायहरुका दलगत नियुक्तीहरु खारेज गर्ने, राष्ट्रिय सभा गैरदलीय बनाउने, स्थानीय तह गैह्रदलीय बनाउने, कर्मचारी लगायतकाको दलीय संगठन खारेज गर्ने ।
अन्ततः सुशीला कार्कीको नेतृत्वमा जेनजी सरकार बन्यो, षडयन्त्रपूर्वक जलेको कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकाको खरानी भइसकेको संविधानको सपथ खाएर सरकार बन्यो । सुशीला कार्कीको नेतृत्वको सरकारले जेनजी पुस्ताका कुनै पनि मागलाई संवोधन गरेन । समयक्रममा जेनजी पुस्ताको एकतालाई संविधानको ढोकामा ओखर फुटाएझैं फुटाइदिए । तितरबितर हुनपुगे जेनजीहरु । एकमुख, एकता भाँडिएपछि ०४६ सालपछिका अराष्ट्रियतत्वहरु सलबलाए । जेनजीहरुलाई आतंककारी भन्दै यातना दिन थाले । जेनजीहरु प्रताडित बन्न थालेका छन् ।
अर्थान्, जेनजी जेनजीजस्ता सावित भएनन् ।
जेनजीहरुले जुन आशा, अपेक्षा र विश्वास जगाएका थिए, ती सबै लथालिङ्ग हुनपुगे ।
भ्रष्ट, अपराधी भाइरस बनिसकेका नेताहरु जेनजी आन्दोलन र बिस्फोटनलाई दुर्घटना भन्न थालेका छन् । दुर्घटनाबाट बौरिएर फेरि सत्ताको बागडोरमा जान अदालत र निर्वाचन दुबैतिरको खेलोमेलो गर्न थालेका छन् । जेनजीहरु भाँडिएका र कित्ता कित्ता, गुटफुटमा बाँडिएकाले अदालतको कठघराबाट संसद पुनस्र्थापना भए पनि अथवा निर्वाचन नै भइहाल्यो भने पनि भाइरसहरु नै सिंहदरवार, संसद र कार्यपालिकामा रजगज गर्ने तारतम्य मिलाउन थालेको देखिन्छ ।
अर्थात् जेनजीहरुको त्याग र बलिदान खेर जाने भीरमा पुगिसकेको छ ।
जेनजीको उभार सेलाइसकेको देखिन्छ । भ्रष्टहरुको पतन नालीबाट उठ्न थालेको छ ।
एमाले र कांग्रेससहितको नेतृत्वका केपी ओली सरकार ढालेर सुशीला कार्कीको नेतृत्वको सरकार बन्नु अर्थात् व्यक्ति फेरिनुमा सिमित हुनपुग्यो जेनजीको आक्रोश, आन्दोलन ।
फेरिएन, शासन प्रशासनको नियत फेरिएन । सत्तामा व्यभिचार घटेन । नेपोटिजम स्थायी रहेछ भन्ने देखियो । नेपोबेबीइजमको खिया खुइलिएन । के भयो त जेनजी आन्दोलनले ?
किन भयो जेनजी आन्दोलन, को हो जेनजीहरु ? किन ताते, किन सेलाए, किन अग्रसर भए, किन पछि हटे जेनजी पुस्ता ? जेनजी पुस्ता जो हो, तिनले आफ्नो अनुहार सुशीला सरकारको ऐनामा हेर्नुपर्छ र आत्ममिमांसा गर्नुपर्छ । ती सत्ताको गोलीबाट सहादत प्राप्त गरेका आमा, ती परिवारको आँसुको मूल्य के हो ? जेनजी पुस्ताले प्रष्ट पार्नुपर्छ ।
हिजोका सत्ताधारीहरु निरंकूश थिए, बेइमान बने, जवाफदेही बन्न सकेनन् । जेनजी पुस्ता त्यस्तो अकर्मण्य बन्नसक्छ ? सक्दैन भने जेनजी पुस्ता, भदौ २३ र २४ को आन्दोलन, बिध्वंश, बिस्फोटन र त्यसयताका ३ महिनामा के के भयो, के के हुनुपथ्र्यो, के के हुनसकेन, मूल्याङ्कन गरेर देश र जनताका आँखामा आँखा जुधाएर जवाफ दिनुपर्छ । जिम्मेवारी लिनुपर्छ ।
जेनजी पुस्ता ०४६ सालपछिका अपराधी शासकजस्ता हुनसक्दैनन् । जेनजी पुस्ता वर्तमान हो, उज्यालो भविष्य बन्न अग्रसर हुनुपर्छ ।
जेनजी पुस्ता जेनजी पुस्ताजस्तो देखिनुपर्छ ।
२०४६ को आन्दोलनबाट आएको उही कांग्रेस, एमाले, माओवादीका नेताजस्ता अनैतिक बन्न सक्दैनन् । बन्नु हुँदैन ।
जेनजीले बिधिमा टेक्नैपर्छ, सुशासन खोज्नैपर्छ, अपराध मेटाउनै पर्छ, प्रजातन्त्र र समानतामा उभिनैपर्छ । विभेद, निषेध र प्रतिषोध जेनजी पुस्ताले मेटाउनै पर्छ ।
जेनजी पुस्ता भनेको जुन जोगी आए पनि कानै चिरिएका जस्ता हुनसक्दैनन् । हुनु हुँदैन । जेनजी देशका उत्साह हुन्, नैराश्यता मेटाउनै पर्छ ।
समाजवाद शोषक बन्यो, सर्वहारावाद लुटाह भयो । जेनजी पुस्ताले राजनीतिलाई समाज परिवर्तनको साधन बनाउनु पर्छ ।
भदौ २३ र २४ को बिस्फोटन म्याग्नाकार्टा बन्नुपर्छ । १२१५ को म्याग्नाकार्टाबाट बेलायत चल्नसक्छ, इमान र नैतिकताको धरातल स्थापित हुनसक्छ भने नेपालमा किन सक्दैन ?
गत भदौ २३ र २४ को जेनजी आन्दोलन, बिस्फाटन, बिद्रोह म्याग्नाकार्टा सावित भयो भने नेता नेताजस्तो, पार्टी पार्टीजस्तो, सरकार सरकार जस्तो, नागरिक समाज र बुद्धिजीवी बर्ग सम्मानित र सुशासन कायम हुनसक्छ । भ्रष्टाचारीको दोहोलो काढिन सक्छ ।
जेनजी पुस्तालाई चेतना रहोस् ।



