Advertisement Banner
Advertisement Banner

१७ मंगलबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

नेपाली युवा पुस्ताको आन्दोलन र राजनीतिज्ञहरूको अवकाश उमेर

१४ शनिबार , मंसिर २०८२३ दिन अगाडि

नेपाली युवा पुस्ताको आन्दोलन र 
राजनीतिज्ञहरूको अवकाश उमेर

अगष्ट ७, २०२४ मा पिपल्स रिभ्यू शिर्षकको एक साप्ताहिक अग्रेजी अखवारमा मैले मुलुकको प्रगति र राजनीतिज्ञहरूको अवकाश उमेर शिर्षकको National Progress and the Retirement Age of Politicians एक लेख लेखेको थिएँ । सो लेखमा मैले जनकल्याण र राष्ट्रको दूतगतिले विकास सक्रिय, इमानदार, र ऊर्जावान नेतृत्वमा निर्भर हुने कुरा औंल्याएको थिएँ । यसै सन्दर्भमा त्यस लेखमा मैले अन्य पेशाहरू जस्तै राजनीतिमा पनि अवकाश उमेर तोक्नुपर्ने तर्क गरेको थिएँ, ताकि नयाँ पुस्ताले देश विकासमा योगदान गर्न सकून् । आज नेपालमा उठिरहेको नयाँ पुस्ताको अर्थात जेन जीको चेतना र आन्दोलनले त्यो आवश्यकता अझ प्रासङ्गिक बनाएको छ । हालै देशका भर्खर भर्खरका काँचो उमेरका युवाहरूले देशका अनुभवी पाको पुस्ताले नदेखेको देशको अधोगति,वेथिति, अब्यवस्था,भ्रष्टाचार र देशवासीको दुःख पीडा उजागर गरी देशवासीलाई ब्यूझाएका छन् ।
अस्थिरता, भ्रष्टाचार र झूठ्ठा आश्वासनहरूको वातावरणमा हुर्किएको आजको पुस्ता अब मौन बस्न तयार छैनन् भन्ने यसले देखाएको छ । उनीहरू परम्परागत पार्टी झण्डा बोकेर होइन, विचार, प्रश्न र साहस बोकेर उठेका छन् । उनीहरूले शारीरिक रूपमा कमजोर, मानसिक रूपमा थकित, तर सत्ताको कुर्सीमा अझै पनि टासिएर बसेका दशकौँदेखि उही पुराना नेताहरूलाई पार्टीका शीर्ष पदहरूमा देखिरहेका छन् । यो पुस्ता अब सोध्दैछ—किन वृद्ध र अशक्त नेताहरू अझै पनि सत्तामा टासिएका छन् किन राष्ट्र सेवामा रहेका निजामती, प्रहरी, सेनाका राष्ट्रसेवकहरू ५८ वा ६० वर्षमै अवकाश लिन्छन्, तर ७० वा ८० वर्षका राजनीतिज्ञहरूले अझै पनि प्रधानमन्त्री वा पार्टी अध्यक्ष भएर शासन गर्न पाउँछन्, यस्तो विरोधाभासले शासन प्रणालीको नैतिकता र कार्यक्षमता दुवैमा प्रश्न उठाउँछ ।
जसरी मैले अघिल्लो लेखमा लेखेको थिएँ, विकासका लागि ज्ञान, ऊर्जा र गतिशीलता आवश्यक हुन्छ । त्यस्तै सक्षम नेतृत्वमा लामो समय घण्टा काम गर्ने, छिटो निर्णय लिने र कार्यान्वयन गर्ने,कसैको पनि उपयोगी सुझाव, सल्लाह सजिलै ग्रहण गर्न सकने र समय र परिस्थितिलाई राम्रो आकलन र आत्मसात गर्ने क्षमता हुनु पर्दछ । ती गुणहरू आजका युवा नेताहरूमा बढी पाइन्छन्—जो प्रविधिमा दक्ष छन्, विश्वसँग जोडिएका छन र नयाँ सोच बोकेका छन् । यस्ता बुद्धि ज्ञानले सम्पन्न उर्जाशील युवाहरुको सट्टा जब राजनीति वृद्धहरूको विश्रामस्थल बन्छ, तव विकास स्थिर रहन्छ । हाम्रो मुलुक यसको दृष्टान्त बनेको छ । हाम्रो देशमा विकास कछुवा चालमा छ । विकासको कुरा भने द्रूत गतिमा छ ।
इतिहासमा हामीले हाम्रो मुलुकमा आत्मसजग र इमानदार नेताहरूका उदाहरण पनि देखेका छौं । नेपाली कांग्रेसका सर्वोच्च नेता स्वर्गीय गणेशमान सिंहले २०४६ सालको जनआन्दोलनपछि राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न आग्रह गर्दा आफ्नो उमेर र स्वास्थ्यको कारण आफू प्रधान बन्ने अवसर स्वइच्छाले छोडी आफना सहकर्मी नेता श्री कृष्ण प्रसाद भट्टराईको नाम प्रस्ताव गर्नु भएको भन्ने कुरा इतिहासमा छ । त्यो निर्णयले उहाँलाई अझ ठूलो नेता बनायो । त्यस्तै, अमेरिकाका राष्ट्रपति जो बाइडेनले आफ्नो उमेर र स्वास्थ्यलाई ध्यानमा राखी पुनः उम्मेदवारी नदिने निर्णय लिनु भएको कुरा पनि जग जाहेर छ । यी घटनाले नेतृत्वमा उत्तरदायित्व र आत्मसजगताको सुन्दर उदाहरण दिन्छन्—जसको कमी आजका नेपाली नेतामा स्पष्ट देखिन्छ ।
दुर्भाग्यवश, नेपालका धेरैजसो वरिष्ठ नेताहरू मृत्यु शैयासम्म पुगेको अवस्थामा पनि कुर्सी छोड्न चाहँदैनन् । ज्ञान, काम, सोचाइ, सेवा र त्यागमा अरु देशका अनुभवी, ज्ञानी र त्यागी  बृद्ध नेताहरूसंग तुलना त के, संगै नाम राख्न पनि नसुहाउने हाम्रा देशका भ्रष्ट, लोभी,स्वार्थी बृद्ध नेताहरु उमेरको हिसावले अवकाशमा रहन नपर्ने तर्कको लागि अरु मुलुकका बृद्ध नेताहरुका नामावली दृष्टान्तका रूपमा अघि सार्छन । उनीहरूले आफ्ना पार्टीहरूलाई लोकतान्त्रिक संस्थाभन्दा पनि व्यक्तिगत साम्राज्यमा रूपान्तरण गरेका छन् । यसले सक्षम र ऊर्जावान युवा पुस्तालाई अघि बढ्नै नदिने वातावरण सिर्जना गरेको छ । फलस्वरूप, जेन जी आन्दोलनले यसको विरुद्ध दलभित्र पनि जनआक्रोश बढ्दो छ ।
जेनजी आन्दोलन केवल असन्तोष होइन—यो आशाको प्रतीक हो । यो आन्दोलनले नेपाली लोकतन्त्रमा पुरानो पुस्ताको वर्चस्व अर्थात् वृद्धशासन, विरुद्ध प्रश्न उठाएको छ । सामाजिक सञ्जाल, सडक अभियान र नागरिक आन्दोलनमार्फत युवाहरू जवाफदेही, पारदर्शिता र पुस्तान्तरणको माग गरिरहेका छन् । उनीहरू वृद्धको विरोधमा होइन—उनीहरू विकासको गति रोक्ने बृद्ध विचार र मानसिकताको विरोधमा छन् ।
अब नेपालले कम्तीमा ६५ वर्ष राजनीतिक क्षेत्रमा पनि अवकाश उमेर अनिवार्य गर्नुपर्छ । ६५ वर्ष नाघेका कुनै पनि व्यक्ति पार्टी अध्यक्ष, महासचिव, मन्त्री वा प्रधानमन्त्री बन्न नपाओस् । यसले नयाँ सोच, नवीनता, र जीवन्तता ल्याउनेछ, जबकि वरिष्ठ नेताहरू सल्लाहकारको भूमिकामा रहँदै अनुभव बाँड्न सक्नेछन् । अनुभव र बुद्धिमत्ता निर्देशनका लागि हो, शासनका लागि होइन भन्ने सिद्धान्त स्थापना गर्न सकियो भने हाम्रो विकासले गति लिन सक्छ ।
कुर्सी नछोड्ने बानी सेवा होइन, स्वार्थी, लोभ लालचका चिन्ह हुन् । साँचो नेतृत्व भनेको आफूले सेवा कहिले सम्म गर्ने र कहिले जिम्मेवारी हस्तान्तरण गर्ने भन्ने कुरा समयमा जान्नु हो । राजनीतिमा अवकाश उमेर लागू गरेर नेपालले विश्व इतिहासमा नाम राखी आफ्नो राजनीतिक संस्कृतिलाई आधुनिक बनाउन सक्छ र २१औँ शताब्दीका चुनौतीहरू—डिजिटल रूपान्तरण, वातावरणीय संकट, युवा रोजगार, र विश्व प्रतिस्पर्धा आदि सामना गर्न सक्षम नयाँ पुस्तालाई अवसर दिनसक्छ ।
जेनजी विद्रोह केवल वितेका दिन र हिजोका नेताहरु विरुद्धको विद्रोह मात्र होइन युवा जमातको यो भविष्य निर्माण गर्ने माग पनि हो । भीक मागेर होइन, नियम बनाएरै नेतृत्व पुस्तान्तरण संस्थागत गर्ने काम होस् भन्ने यसको अमूक आशय बुझ्नु पर्दछ । इमानदार बृद्ध राजनीतिज्ञहरूले सम्मानजनक अवकाश लिई युवा पु्स्तालाई देश सञ्चालन गर्ने अवसर प्रदान गरी न्याय प्रदान गरियोस् भन्ने यो आग्रह पनि हो । घर परिवारमा वाबुले छोरालाई सजिलै व्यापार व्यवसाय, उद्योगधन्दा सञ्चालनको जिमेवारी सुम्पन्न सकने सर्दभमा दलका नेताले अर्को युवा नेतालाई नेतृत्व हस्तातरण गर्न नसकिने कारण पनि देखिन्दैन । यसैले हाम्रा जेष्ठ,बृद्ध नेताहरूले राष्ट्रप्रेमका नाममा कुर्सी प्यारो नगरी देशको भलाई र जन कल्याणको लागि युवा जगतको काँधमा कुर्सी छाडी देशको कल्याणमा प्राथमिकता दिनु आजको समयको माग देखिन्छ । युवाहरुलाई मार्ग दर्शन गर्ने भूमिकामा आफू बस्ने गरी यो माग समयमा पुरा गर्न सकिएन भने ढीलो चाडो बृद्ध नेताहरु अपमान जनक अवकाशमा रहनु पर्ने वाध्यता समयले ल्याउने छ भन्ने कुरामा शङ्का छैन । यसमा बृद्ध नेताहरूले समयमा बुद्धि, विवेक लगाउन सकून ।
narayanshanti70@gmail.com