Advertisement Banner
Advertisement Banner

१५ आइतबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

आँधीको केन्द्रमा उभिएको एमालेको बहुप्रतिभाशाली रणनीति

१४ शनिबार , मंसिर २०८२एक घण्टा अगाडि

आँधीको केन्द्रमा उभिएको एमालेको 
बहुप्रतिभाशाली रणनीति

नेपाल यतिबेला इतिहासकै जटिल मोडमा उभिएको छ जहाँ घरेलु शक्ति–सम्बन्ध, संवैधानिक विवाद, कूटनीतिक स्पर्धा र छिमेकी राष्ट्रहरूको बदलिंदो प्राथमिकताले देशलाई एउटा अगम्य भुमरीभित्र धकेलिरहेका छन्। यस्तो हलचलको घेरामा कुनै पनि राजनीतिक शक्ति केवल स्थानीय खेलाडी भएर टिक्न सक्दैन। उसले बृहत्तर भू–राजनीतिक संकेत, अन्तर्राष्ट्रिय अपेक्षा र टकराइरहेका विश्वशक्तिहरूको मनोविज्ञान बुझ्नैपर्छ। यही संदर्भमा एमालेले पछिल्लो समय अपनाएको कानुनी चुनौती र चुनावी तयारी दुवैलाई समानान्तर चलाउने शैली कसैलाई विरोधाभास जस्तो लागे पनि, वस्तुतः यो वर्तमान विश्व–राजनीतिसँग अत्यन्त सापेक्षिक कदम हो। एमालेले अपनाएको यही नीतिलाई कतिपयले विरोध गर्ने माध्यम वा अस्त्रका रुपमा प्रयोग गरिरहेका छन्।

अहिलेको जस्तो अन्धकारमय भएको समयका राजनीतिक गणित सधैं जटिल हुन्छ। सधैं एकै दिशामा तन्नेरी भएर हिँड्ने कठोरता कहिलेकाहीँ दललाई क्षीण बनाउने कारक बन्छ। तर धेरै विकल्प खुला राख्ने नीतिले अनिश्चिततामा टिकेका राष्ट्रहरूलाई लम्बेतान बाँच्न मद्दत गरेको इतिहासले देखाउँछ। १९९० पछि युरोपमा जुन प्रकारको द्वि–सन्देशीय राजनीतिक संकेतहरू चलाए, त्यही शैली अहिले एशियामा पनि बढिरहेको छ। नेपाल त्यसबाट पृथक् रहन सक्दैन।

नेपाललाई तीन उदीयमान शक्तिहरूले अघोषित रूपमा ‘भूराजनीतिक चौराहा’ का रूपमा हेरिरहेका छन्। चीनलाई उत्तरतिरको रणनीतिक गहिराइ महत्त्वपूर्ण छ, भारत चाहन्छ– दक्षिणी सीमाले सुरक्षा–असन्तुलन ननिम्त्याओस् वा त्यस्तो वातावरण नबनोस्, अमेरिका भने इंडो–प्यासिफिक अवधारणा मार्फत हिमाली क्षेत्र आफ्नो प्रभाव क्षेत्रमा रहोस् भन्ने चाहनामा केन्द्रित छ। यस्ता प्रतिस्पर्धी दायरा बन्दै गएपछि कुनै पनि दलले एकै विकल्प मात्र बोकेर हिँड्न असम्भव जस्तै हुन्छ।

यही कारण, एमालेको वर्तमान शैली सर्बोच्च अदालतमा वैधानिकता चुनौती दिने तर निर्वाचनका लागि दल दर्ता गर्ने प्रक्रियामा सहभागिता नछोड्ने छ। यो कसैको दृष्टिमा द्वैध देखिए पनि, भू–राजनीतिक दृष्टिकोणले विश्लेषण गर्दा यो साँच्चिकै बुद्धिमत्तापूर्ण रणनीति हो। यस्तो शैलीलाई पश्चिमी राजनीतिक अध्ययनमा multi vector alignment  भनिन्छ जुन जोखिमपूर्ण वातावरणमा स्थायित्व दिन प्रयोग हुने विधि हो।

चीनको नजरमा नेपालको राजनीति संवेदनशील मात्र होइन, अत्यन्त महत्वपूर्ण पनि छ। उसको दीर्घकालीन प्राथमिकता स्थिरता हो र स्थिरता दिन सक्ने विश्वसनीय राजनीतिक शक्ति खोज्नु उसको पहिलो उद्देश्य हो। बेजिङ कहिल्यै अत्यधिक कठोर वा अत्यधिक भावनात्मक दलसँग लामो सहकार्य गर्न हिच्किचाउँछ। अनुशासन, पूर्वानुमान र निरन्तरता हेर्ने चीनको दृष्टिले एमालेले देखाएको शैली उसलाई चिनेको मोडेलसँग मिल्दोजुल्दो देखिन्छ। जहाँ कानुनी संयोजन, सार्वजनिक संकेत र चुनावी तयारी सँगसँगै अघि बढ्छन्। चीन आफैं अफ्रिका, दक्षिण–पूर्व एशिया र मध्य एसियामा काम गर्दा ‘दुईवटा संदेश’ एकसाथ पठाउने तरिका प्रयोग गर्छ, सन्देशहरू विपरीत होइन, परस्परपूरक हुन्छन्। यही नीति एमालेको पछिल्लो कदमसँग पनि मेल खान्छ।

भारतको सुरक्षा–दृष्टि भने भिन्न छ। दिल्ली दक्षिण एसियालाई आफ्नो परम्परागत प्रभावक्षेत्र ठान्छ। चीनसँगको प्रतिस्पर्धा बढेपछि भारतको संवेदनशीलता झनै उच्च भएको छ। नेपालमा जोसुकै सत्तामा बसे पनि, यदि दिल्लीले उसलाई ‘संवाद योग्य र व्यवस्थापन गर्न सकिने शक्ति’ ठान्यो भने उसको सम्बन्ध दीर्घकालीन रहन्छ। तर निर्णय–प्रक्रियामा एकै विकल्प छान्ने दलहरूमाथि दिल्ली धेरै विश्वास गर्दैन किनकि अत्यधिक कठोरताले भारतका लागि ‘असम्मिलित जोखिम’ पैदा गर्छ।

एमालेले कानुनी प्रश्न उठाएर पनि निर्वाचन प्रक्रियाबाट बाहिरिन नचाहनु भारतका दृष्टिमा ‘सन्तुलित’ संकेत बन्न सक्छ। किनकि दिल्लीको प्राथमिकता स्पष्ट छ जो दल प्रक्रियाबाट हट्दैन, त्यो controlable variable बन्छ, जो पूर्ण अनिश्चितताको बाटो रोज्छ, त्यो दिल्लीका लागि unpredictable variable बन्छ।

अमेरिका अझै भिन्न दृष्टिकोण बोकेको छ। वाशिङ्टनको केन्द्रीय उद्देश्य लोकतान्त्रिक प्रक्रिया सुचारु रहोस् भन्ने हो, तर उसको व्यवहार पूर्णरूपमा वैचारिक हुँदैन, उसले ‘काम गर्न सकिने साथी’ खोज्छ जो न त अत्यधिक चीन–केन्द्रित देखियोस्, न भारतसँग मात्र नजिकियोस्, न नै अमेरिकालाई अस्वीकार गरिरहोस्। यस्तो स्थिति प्राप्त गर्न कुनै पनि दलले दुवै दिशा खुला राख्नु आवश्यक हुँदै जान्छ।

अमेरिकामा पनि चुनावी चरण र कानुनी चुनौती दुवै एकसाथ सञ्चालन हुने चलन छ। राष्ट्रपति चुनावहरूमा एक पक्ष अदालतमा मुद्दा हाल्छ, तर अर्को हातले विशाल चुनावी अभियान चलाइरहन्छ। अमेरिकन विश्लेषकहरूले यसको नाम दिएका छन्  legal presure without political vacuum। यही शैलीको प्रतिबिम्ब एमालेमा देखिन्छ।

सारांशमा, विश्वशक्तिहरूले नेपालको राजनीतिक दललाई तीन आधारमा हेर्छन् स पहिलो, प्रक्रियाबाट बाहिरिएर चरमपक्षमा सक्रिय भइरहने वा नरहने। दोस्रो, कूटनीतिक समीकरण बुझ्ने क्षमताको अभ्यास। तेस्रो, भविष्यको परियोजना, सन्धि र भू–रणनीतिक मार्गचित्र कार्यान्वयन गर्न सक्ने अनुभूति। यही तीन मापदण्डले एमालेको पछिल्लो शैलीलाई अन्तर्राष्ट्रिय रणनीतिक मनोविज्ञानसँग मिलाउँछ।

घरेलु आलोचना स्वाभाविक हो। सतही दृष्टिमा ‘असंवैधानिक सरकार’ भन्दै मुद्दा हालेको दलले ‘चुनावका लागि दल दर्ता’ गर्नु विरोधाभास देखिन्छ। तर राजनीति केवल तर्कको खेल होइनस त्यो जोखिम व्यवस्थापन, विकल्प निर्माण र भविष्य सूचकांकको खेल हो।

नेपालमा अहिले एक गलत निर्णयले चीनको असन्तोष निम्त्याउन सक्छ, अर्को गलत कदमले दिल्ली चिढ्याउन सक्छ, तेस्रो गल्तीले अमेरिका ‘लोकतान्त्रिक विचलन’ भनेर टिप्पणी गर्न सक्छ। यस कारण कुनै दलले एक दिशामात्र अँगालेर अघि बढ्नु खतरनाक हुन्छ। विकल्पहरू खुला राख्ने शैली आजको वातावरणमा मजबुत रहन कसैको बाध्यता बनेको छ।

विश्व राजनीति अनुशासन र संयोजनको खेल हो। एउटै नारा, एउटै वाक्य, एउटै बाटोले आजको प्रतिस्पर्धी युगमा टिकाउ हुँदैन। भारतले श्रीलंकामा, अमेरिकाले फिलिपिन्समा प्रयोग गरेको रणनीति एउटै हो multi dimensional signalling नेपालले त्यसको अनुपालन आज देखाएको छ, त्यसै रणनीतिक धुनमा एमालेको व्यवहार पनि रहेको छ।

राजनीतिक विज्ञान भन्छ, अनिश्चिततामा एक विकल्प बन्द गर्नु अर्थात भविष्यका सम्भावनाहरू स्वयंले घटाउनु। अनि जोखिमका बेला विस्तृत मार्गचित्र बनाउनु राजनीतिक परिपक्वताको संकेत हो। राजनीतिक जोखिम, संवैधानिक संकट, सत्ता–संक्रमण वा अन्तर्राष्ट्रिय दबाब भएका बेला, कुनै दलले थोरै तरिकामा होइन, विस्तृत योजना (A योजना बिग्रिए B बाट, त्यो असफल भए C बाट अघि बढ्ने) तयार गर्छ भने त्यो दूरदर्शिता, व्यवस्थापन क्षमता र शासन–सम्झदारी भएको संकेत हो। यस्तो दल संकटमा खुट्टा नडगमगाई स्थिर निर्णय गर्न सक्षम हुन्छ। यही कारण एमालेको पछिल्लो कदमलाई ‘द्वैधता’ मात्र भन्ने व्याख्या कमजोर हुन्छ। त्यो वस्तुतः भू–राजनीतिक टिकाउपन को अभिव्यक्ति हो।

नेपाल जति संवेदनशील मोडमा छ, त्यति नै विकल्पहरू आवश्यक छन्। एकपक्षीय कठोरता बाहिरिने ढोका बनेर आउन सक्छ। तर बहुविकल्पीय सामर्थ्यले कठिन समयमा दललाई स्थिर बनाउँछ। हालको वैश्विक वातावरण, दक्षिण एसियाली टकराव, उत्तरी सीमासँग जोडिएको चीनको तिब्बती मोर्चा, र अमेरिकी समुद्री रणनीतिसँग नेपालको सम्बन्ध, यी सबैले कुनै पनि दललाई एकै बाटोमा बाँधिन दिँदैन।

यही कारण, आजको जटिल भू–राजनीतिक जालोबीच एमालेको वर्तमान शैली केवल आन्तरिक राजनीति होइन, यो नेपालले विश्वशक्तिबीच आफूलाई कहाँ उभ्याउने हो भनेर अपनाएको एक किसिमको “सुरक्षात्मक राजनीतिक मुद्रा” हो। अन्तिम तथ्य यही हो नेपाल अब बाह्य दबाब, आन्तरिक उथलपुथल र संवैधानिक व्याख्या–संघर्षको सयौँ कोण सम्बन्धी केन्द्रमा छ। यस्तो समयका लागि बहुआयामी दिशानिर्देशन केवल कूटनीति होइन, अस्तित्वको रक्षा पनि हो।
एमालेले राखेको शैली त्यसको प्रतिबिम्ब हो, कसैको नक्कल होइन, वर्तमान परिस्थितिको अनिवार्य राजनीतिक उत्तर।