Advertisement Banner
Advertisement Banner

२५ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

राजनीतिमा द्वन्द्व, अस्थिरता र गम्भीर अविश्वासको जालो

११ बुधबार , मंसिर २०८२८ महिना अगाडि

राजनीतिमा द्वन्द्व, अस्थिरता र
गम्भीर अविश्वासको जालो

राजनीति भनेको विविधतायुक्त समाजलाई एकताको सूत्रमा बाँधेर सुसङ्गठित, मर्यादित र समुन्नत राष्ट्र निर्माण गर्ने उच्चतम तथा पवित्र दायित्व हो । राजनीति कुनै विशेष उमेर समूहको एजेन्डा होइन—यो सम्पूर्ण राष्ट्रको नीति, दिशा र जिम्मेवारीबोधसँग सम्बन्धित सर्वोच्च आधारशिला हो ।
राजनीतिमा संलग्न व्यक्तिले आफ्नो ‘राष्ट्रधर्म’ क्षणभर पनि बिर्सिनु हुँदैन । तर दुर्भाग्यवश, बाह्य शक्ति, प्रलोभन र स्वार्थका कारण विचलित हुने नेतृत्वहरू देशको हितमा काम गर्न असमर्थ बन्दै गएका उदाहरण नेपालमा प्रशस्तै छन् । यस्ता विकृत प्रवृत्तिको निरन्तर उपस्थितिले आज नेपाललाई राजनीतिक द्वन्द्व, अस्थिरता र गम्भीर अविश्वासको जालोभित्र पारिदिएको यथार्थ स्पष्ट छ ।
यो समस्या प्रायः सर्वत्र चरम चुनौतीको रूपमा देखा परेको छ । नागरिक स्तरबाटै यो ‘महारोग’ अन्त्य गर्ने दृढ सङ्कल्प नगरेसम्म देशले अझ गम्भीर घात र अवाञ्छित संकटहरू भोगिरहनुपर्नेछ, जुन भूपरिवेष्टित र संवेदनशील भू–राजनीतिक अवस्थाको नेपालजस्तो राष्ट्रले दीर्घकालसम्म थेग्न सक्दैन ।
हामी राष्ट्रलाई सही मार्गमा अघि बढाउन चाहन्छौँ भने कुनै हिचकिचाहट बिना, व्यक्तिगत स्वार्थ र संकुचित दृष्टिकोण पूर्णतः त्याग गर्दै, २०४७ सालको सन्तुलित, शालीन र नेपाली सामाजिक–सांस्कृतिक मूल्यसँग मेल खाने गणेशमान–किसुनजीहरूको राजनीतिक आदर्शलाई आधार बनाएर अघि बढ्नु अपरिहार्य छ ।
गणेशमान सिंहका सुपुत्र तथा कांग्रेसका नेता प्रकाशमान सिंहले ढिलासुस्ती नगरी नेतृत्व सम्हाल्ने हिम्मत गर्नुपर्छ । नेपाली कांग्रेस पार्टीले पूर्ण इमान्दारिताका साथ सर्वसम्मतिको सभापतिका रूपमा प्रकाशमान सिंहलाई अघि सारेर जनतामाझ प्रस्तुत हुन सके, पार्टीको गौरवशाली इतिहासको सम्मान मात्र सुरक्षित हुने छैन, बरु छिमेकी राष्ट्रसमक्ष पनि नेपालको राष्ट्रिय मर्यादा र प्रतिष्ठा अझ उच्च हुनेछ । जय नेपाल ।