Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

कुनै दिन झण्डा चोरिए

१७ सोमबार , श्रावण २०७३१० बर्ष अगाडि

सेना, प्रहरी, गुप्तचर, प्रशासनिक कर्मचारी चौविसै घण्टा चनाखो भएर बस्ने सिंहदरवारभित्रै आइफोन, ल्यापटप, नगद चोरी भयो भन्दा जिल पर्ने स्थिति छ। किनभने सीसी  टीभीका फुटजहरुबाट पनि कुनै अत्तोपत्तो नलागेपछि अनुसन्धानमा जुटेको प्रहरी हैरान हैरान भएका रहेछन्। देशको प्रमुख प्रशासनिक निकायको सुरक्षाव्यवस्था यति फितलो?

धन्न सिंहदरवारको शीरमा फरफराइरहेको नेपालको झण्डाचाहिं चोरी भएको रहेनछ। कुन दिन त्यो झण्डा पनि चोरी नहोला भन्न सकिन्न, सुरक्षा निकायहरुका लागि यो ठूलो चुनौतिको विषय बनेको हुनुपर्छ।

स्थानीय विकास मन्त्रालयका उपसचिव चिरञ्जीवी तिमिल्सिनाको कार्यकक्षबाट यो चोरीकेा घटना भएको हो। प्रश्न के उठ्छ भने उपसचिव स्तरको कर्मचारी आइफोन र एकलाख नगद लिएर मन्त्रालयमा कि आउने गर्छन्? उनको कथन छ, कार्यालय आएर वैठकमा गएँ, ४५ मिनेटपछि फर्कदा चोरी भइसकेको रहेछ। भन्नलाई उपसचिवले एक लाख ऋण तिर्न ल्याएको बताए, कतै त्यो घूस खाएको पैसा त होइन? चोरी भयो भनेर हल्लाखल्ला गरेपछि प्रहरीले शंकाको भरमा सेवाग्राही, कर्मचारी सबैको खानतलासी गरेको थियो। जुन घटनालाई सबैले अपमानको रुपमा लिन बाध्य भएका छन्। मन्त्रालयका सबै कर्मचारीको यसरी खानतलासी गर्नु उचित थिएन। मन्त्रालयभित्र केही फेला परेन अनि सिंहदरवारको ढोकामा पनि चेकजाँच कडा पारियो। कुनै सुराक नपाएका प्रहरी आफै दिक्क भइसकेको छ। यस घटनापछि प्रहरीले सिंहदरवार छिर्ने र निस्कने सबैको कडा निगरानी गरिरहेको छ। धोती खुस्केपछि लाज छोप्ने सुरक्षा निकायको अनुहार पनि राम्रैसँग देखियो। अहिले एयरपोर्टमा पनि सुरक्षा कडा पारिएको छ, त्यो सुरक्षा प्रवन्ध पनि यस्तै नहोस्।