Advertisement Banner
Advertisement Banner

२३ शनिबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

सुब्यवस्था, सुशासन र बिकासः केही चिन्तन, केही सुझाव

२३ शनिबार , कार्तिक २०८२११ घण्टा अगाडि

सुब्यवस्था, सुशासन र बिकासः केही चिन्तन, केही सुझाव

हामी सबैलाई थाहा छ कुनै ठाउँमा जाडो याममा जाडो आएपछि, गर्मी याममा गर्मी आएपछि त्यस ठाउमा बस्ने सबैलाई जाडोमा जाडो, गर्मीमा गर्मीनै हुन्छ । त्यहा बसेका मध्य जाडोमा कसैलाई गर्मी वा गर्मीमा कसैलाई जाडो हुन पर्दैन  । हुन सक्तैन । यो प्राकृतिक नियम हो । घाम पानी झरी हुरीको असर पनि सबैलाई पर्छ । त्यस्तै नै मुलुकको शासन प्रशासन प्रगति दुर्गति विकास निर्माण भ्रष्टाचार, नाताबाद, कृपावादको असर पनि सबैलाई परेको हुन्छ नै । यसवाट नाजायज फायदा उठाउने वा पाउने शक्ति हातमा रहेका सीमित संख्याको कुरा वेग्लै । यस दृष्टिकोणवाट हेर्दा मुलुकको राजनैतिक अवस्था, प्रगति वा अवनति सबैले एकै देख्न पर्ने हो । सबैले एकै नदेखे पनि वहु संख्याले  त देख्न पर्नेहो । हिजो वा आजको मुलुकको अवस्था हेर्दा वा राम्रो वा नराम्रो जुनसुकै पार्टीको पछि लाग्ने भीड देख्दा, एउटै रंग पनि मानिसहरुले फरक फरक देख्ने भान हुन्छ । हाम्रो मुलुकमा अन्तस्करणले विवेक प्रयोग गरी ठीकलाई ठीक, र वेठिकलाई बेठिक भन्ने संख्या ज्यादै कम भएको देखिन्छ । हाम्रो मुलुकको स्थिति यस्तै छ ।
म जन्मिदा नेपालमा राणा शासन नै थियो । म सानो छदा यो व्यवस्था गयो । सानो भएकोले यस बारे मैले अनुभव गर्न पाइन । नेपालको संविधान २०१५ वभोजिम चुनाव हुदा म १६ वर्षको भएकोले श्रीबिश्वेश्वर प्रसाद कोइरालाको सरकार मैले देखेको हुँ । नेपाली कांग्रेस पार्टीले चुनावमा धाधली गरयो भनी संयुक्त प्रजातन्त्र पार्टीका नेता डा के. आई सिंहले सर्वोचमा मुद्दा हालेको र हारेपछि काग्रेसी न्यायाधिशहरुको कारण मुद्दा हार्न परेको प्रतिकृया दिनु भएको कुरा आज पनि मलाई राम्रो सम्झना छ । श्री कोइराला बुद्धिमान, योग्य, प्रशांसनीय सर्वप्रिय प्रभावपूर्ण व्यक्तित्वको प्रधानमन्त्री हुनु भएपनि शक्ति र पदले उन्मत पार्टी सरकारबाट असंह्य नाताबाद कृपावाद र बेथिति नभएको होइन । हाम्रो मुलुकको आज भोलिको अवस्था झण्डै झण्डै ऊवेलाको नेपालको जस्तै छ । यसैको कारण राजा महेन्द्रबाट २०१७ पौष १ को घटना हुनगयो । जसलाई विरोधीहरुले राजाको कू र समर्थकहरुले ऐतिहासिक कदम भन्छन ।
मुलुकको विकास र जनताको सुख समृद्धिको लागि काम गर्नुको सट्टा अहिले जस्तै पार्टी पार्टी  वीच झगडा र आफ्नै पार्टी भित्रको झगडामा रूमल्लिएको मुलुकलाई कटु अनुभवको आधारमा ठीक वाटोमा लगी विकास निर्माण गर्ने उदेश्यले राजा महेन्द्रले पञ्चायती पद्धति अवलम्बन गरेको देखिन्छ । यो असत्य जरुर होइन । राजाको मान प्रतिष्ठा सुरक्षित गर्ने अभिप्राय पनि यसमा जरुर रहेको हुनुपर्छ नै । कुराजस्तो भएपनि, जसले पञ्चायती व्यवस्था निर्माण र प्रतिपादन गरेको भएपनि पार्टीको कलहवाट देशलाई अलग राखी देश निर्माण गर्नको लागि यो एक उपयोगी राजनैतिक पद्धति नभएको भने होइन– बुझ्नेले कुरा राम्रो बुझेको र इमान्दारीपूर्वक कार्यान्वयन गर्न सकेको भए । तर मलाई राम्रो समझना छ । यसको कार्यान्वयन सुरुदेखिनै राम्रो हुन सकेन ।
नेपाली कांग्रेशका बागी नेताहरू डा.तुल्सी गिरी, विश्वबन्धु थापा आदिको मूल सहभागितामा यो सुरूभयो । पार्टी व्यवस्था विरुद्ध यो आएको कारण सुरुमा प्रतिबन्धित पार्टीका सबै जसो मान्छेहरू यो ब्यवस्थाको विरोधी भए । उनीहरू यसमा आएनन । हामी जस्तो उबेलाका कच्चा वुद्धिका स्वतत्र नवयुवकहरु राजालाई प्रतिगमनकारी र पार्टी नेताहरूलाई मात्र अग्रगामी, प्रजातन्रवादी ठान्ने भए । उनीहरूले यसमा अभिरुची लिएनन् । यसो हुदा स्कूल कलेज पढन नसकी शहर वा गाउँघरमा हल्लिएर वसेका एक किसिमले फटाहा प्रबृतिका धेरै व्यक्तिहरु यसमा प्रवेश गरे । यसो हुँदा एक समय चोर फटाहा जति पच्चायतमा लागे भन्ने कहावत पनि हुन गएको मलाई सम्झना छ । अर्को कुरा यो व्यवस्था कांग्रेसी सरकारलाई अपदस्थ गरी आएको हुँदा यो व्यवस्थाले काग्रेसीहरूलाई शत्रुतापूर्ण दृष्टिकोणले हेर्ने र काग्रेसीहरूले यो व्यवस्थालाई आफ्नै शत्रु ठान्ने पनि हुनगयो ।
यस्तो भएपछि यो व्यस्थाले आफ्नो सहयोग र सहाराको रूपमा कम्युनिष्टहरुलाई नजिकियाए । कमल राज रेग्मी, डी.पी. अधिकारी, केशर जङ्ग रायमाझी आदि आदि कम्यूनिष्ट नेताहरु यसमा समावेस भए । हुनत विस्तारै काग्रेसीहरू पनि यसमा नलागेका होइनन् । रूद्र प्रसाद गिरी देखि पर्शुनारायण चौधरी, श्रीभद्र शर्मासम्मका कांग्रेसका ठूला नेताहरू पनि प्रवेश गरेका हुन् । तरपनि व्यवस्था राम्रो बनाइ मुलुक बनाउने भन्दा यो थरी थरीका स्वार्थीतत्वहरुको स्वार्थ सिद्ध गर्ने व्यवस्था हुन गयो । काग्रेसहरू ओझेलमा परेकाले कम्युनिष्टहरूलाई यस व्यवस्थाले आफ्नो संगठन विस्तार गर्न र अनुयायी वृद्धि गर्न ठूलो टेवा दिएको मलाई महसुस हुन्छ । २०१७ सालमा हातको औलामा गन्न पनि संसद्मा नभएका कम्युनिष्टहरू आज मुलुकमा शासनको बागडोरमा हुनुमा यो पनि एउटा कारण जस्तो देखिन्छ । कुरा जस्तो भएपनि राजाको प्रत्यक्ष नेतृत्व,रेखदेख रहेकोले यो व्यवस्थाले देशको पूर्वाधार विकासमा उल्लेखनीय योगदान नगरेको भने होइन ।
यो व्यवस्थाको अन्तपछि २०४७ सालको संविधान वभोजिम देशमा बहुदल आएको पनि पुरा ३५ वर्ष भइ सक्यो । यस बीचमा हामीले २०४७ को सविधान पनि फाली २०७२ को संविधान ल्याइ सक्यौ । हामीले धेरैवटा संविधान बनाई सक्यौ । संविधानको संख्यामा भने हामीले धेरै विकास गर्यौ । तर हामी भने २०१७ सालमा राजा महेन्द्रले कटु अनुभव गरेको बहुदलको अवस्थामा नै छौ । पार्टी पार्टी बीचको झगडा मात्र होइन पार्टीभित्रै पनि नेता र कार्यकर्ताहरु  बीचको आरोप प्रत्यारोप, आक्षेप, गालीगलौज सबै पार्टी भित्र उस्तै छ । यै कारण पटकपटक अल्पमत वा बहुमतको सरकार विघटन् हुनगएको इतिहास पनि हामीसँग छ ।
हालै भइरहेको विभिन्न पार्टी र नेताहरू बीचको आक्षेप आरोपले मुलुकको वर्तमान स्थिति प्रष्ट्याउँछ । देश ओरालो लागेको छ । देशमा महङ्गी, जनताको आम्दानीको पहुच बाहिर छ  । स्वास्थ्य शिक्षा र न्याय धनीको मात्र हक अधिकारको जस्तो भएको छ । गरीवको क्षमता बाहिर छ । कुनै पनि अड्डा अफिस जान पर्यो भने मुटु हल्लिन्छ । भ्रष्टाचारीको मुख अघि आउँछ । डरले रिङ्गटा लाग्छ । जुनसुकै पार्टीको सरकार भएपनि कुशासन उस्तै रहेको जनताको अनुभव छ । सुशासनको आशा आकाशको फल आखा तरी जस्तो स्थितिमा छ । मुलुकमा सुब्यवस्थाको जग बसाली जनताको जीवनस्तर उकास्नेतर्फ  कुनै ठोस् काम भएको देखिन्दैन । जनताको सेवा र कामले बहुदलीय व्यवस्थाको महत्व र उपादेयता स्थापन गर्नुको सट्टा वर्तमान नेता र कार्यकर्ताहरूले बहुदलीय व्यवस्थामानै आछी गरेको महसुस हुन्छ । यसरी आछी गर्ने नेता र कार्यकताहरूलाई यो दुर्गन्ध नभएपनि जनतालाई भने यो दुर्गन्ध सहन गार्हो भएको छ । यै कारणले नै हाल मुलुकमा जेन जी आन्दोलन भएको भन्नु अन्यथा हुँदैन । 
गत ३५ वर्ष सम्मको अनुभवले हामीलाई चाहिएको सुव्यवस्था, सुशासन र बिकास हालको संविधान, ब्यवस्था र हालका दल र पात्रहरूबाट हुन नसकेकोले यी कुराहरूमा कुनै पुनरावलोकन र संशोधन नगरी यसैबाट आन्दोलनको माग र जनताको आकांक्षा पुरा हुने स्थिति बिल्कुलै छैन । यसैले प्रतिनिधि सभाको बिघटन, अनि चुनाव र प्रतिनिधि सभा गठन मात्र यसको औषधोपचार हुँदै होइन । मष्तिष्कको रोगीलाई खुट्टाको उपचार गर्ने जस्तो यो काम नगरी यसको सही जॉच र उपचार गर्ने काममा मुलुकको समस्त जनताले बुलन्द आवाज उठाउन पर्ने देखिन्छ ।
जसरी राम्रो गुणस्तरको प्रभावकारी शिक्षाको लागि राम्रो पाठयांश, राम्रो योग्य कर्मठ शिक्षक, राम्रो पुस्तकालय, राम्रो प्रयोगशाला आवश्यक हुन्छ । त्यस्तै ने मुलुकमा सुशासन र सुव्यवस्थाको लागि सरकार चलाउने नेताहरू योग्य, बुद्धिमान, निस्वार्थी, चरित्रवान हुनु पर्छ नै । राम्रो शिक्षक नभई जस्तोसुकै शिक्षा पद्धति राम्रो ल्याएपनि शिक्षा राम्रो हुँदैन । त्यस्तै जस्तोसुकै राम्रो संविधान भएपनि निस्वार्थ नेता कार्यकर्ता नभए सम्म मुल्कमा सुशासन कायम हुन सक्तैन । यो सत्यतामा सवैले हृदयङ्गम गरी मुलुकमा स्वार्थी नेता र कार्यकर्ताहरूलाई निसत्साह र इमान्दार नेता र कार्यकर्ताहरुलाई प्रोत्साहन र टेवा दिने वातावरण सृजना गर्न पनि उतिकै जरूरी छ । 
यो अव २०१७ सालको नेपाल त होइन । जान्ने र बुझ्ने  जनसंख्या धेरै भइसकेका छन् । यसो भएपनि देशको समस्यामा विवेक र अन्तस्करण प्रयोग गरी सत्यको प्रतिनिधित्व गर्ने समाजको अभाव यस देशमा देखिएको छ । सत्य र तथ्यको आधारमा सही सूचना प्रवाह गर्ने पेशा अगालेका धेरै जसो पत्रिका खबर समेत सत्य र तथ्य भन्दा दलगत स्वार्थमा रही जनतालाई सत्य मार्गमा अग्रसर गराउने मार्गमा नलाग्नु पनि कम आश्चर्य होइन । त्यस्तै विश्वविद्यालयमा पढाउने उच्च तहका बुद्धिजीवीहरु पनि बुद्धिजीवी भन्दा पार्टीजीवि हुनु पनि कम अनौठो होइन । त्यसभन्दा पनि बढी लाखौ लाख शिक्षित युवाहरू तिव्वतका लामा भेड्चवारको पछि भेडाहरू लागे जस्तै उनै भ्रष्ट नेता पार्टीका जुलुसमा लाग्नु पनि कम रहस्यमय होइन । त्यसभन्दा पनि वढी उही दलहरूका नेता र कार्यकर्ताहरु कहिले नागरिक समाज, कहिले मानवअधिकारकर्मी भई सडकमा उत्रिनु र एकले अर्कोलाई गाली गर्नु र स्वतन्त्र शुद्ध नागरिक समाज देशमा नदेखिनु पनि अचम्म लाग्छ ।
गर्मीमा जाडो महसुस गर्नसक्ने र जाडोमा गर्मी महसुस गर्न सकने वा दिनलाई रात भन्न सक्ने र रातलाई दिन भन्नसक्नेलाई जाडो गर्मी, दिन रात कसरी कसले बुझाउने ?.यो स्थिति हेर्दा यो मुलुक यस्तै स्थितिमा कति वर्ष जाने हो, कल्पना गर्न गाह्रो छ । तर पनि ठीकलाई ठीक वेठिकलाई बेठिक भन्नसक्ने, आफ्नै नेताको खराव आचरण र निन्दनीय क्रियाकलापको डटेर विरोध गर्न सक्ने र आफ्नो विरोधी पार्टीको नेताको राम्रो काम कुरालाई खुल्ला दिलले स्वागत गर्न सक्ने नेता कार्यकर्ता मुख्यतःजनताको बृद्धि हुदै जाओस् । कामना गर्दछु । संविधान र यस व्यवस्थामा जानी नजानी प्रवेश गरे गरेका खराव किटाणुहरू अर्थात गणतन्त्र, धर्म निरपेक्षता, संघियता हटाई यस व्यवस्थामा आफैले गरेको फोहर सफा गर्न सक्ने नेता पनि देशले पाउन सकून कामना गर्दछु ।
narayanshanti70@gmail.com