Advertisement Banner
Advertisement Banner

२५ बुधबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

ग्याङ अफ फोर

१७ सोमबार , श्रावण २०७३१० बर्ष अगाडि

चीनमा माओको मृत्युपछि ग्याङअफ फोरले उधुम मच्चाएको बृतान्त पढ्ने एमालेहरु अव आफ्नै पार्टीभित्र ग्याङ अफ फोर अर्थात केपी ओली, झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतमलाई झेल्नुपर्ने स्थिति आयो। आफ्नै पार्टी अध्यक्ष केपी ओलीको सरकार टिकाउन भन्दा आलोचना गरेर जग हँसाए झलनाथ, माधवकुमार नेपाल र वामदेव गौतमले। गजब त के भयो भने झलनाथ र वामदेवले त प्रचण्डको गुणगान गाउन कुनै कसर बाँकी राखेनन्। अध्यक्ष ओली प्रधानमन्त्रीको कुर्सीमा बसेर जिल परिरहेका देखिए। सत्ताबाट खगारिनु परेका केपी ओली इखालू चरित्रका व्यक्ति पनि हुन्। उनी भुलेर पनि बदला लिन्छन्। ग्याङ अफ फोरको झगडाले एमालेलाई सत्ताबाट सडकमा त झार्‍यो, अव कहाँ पुर्‍याउला? हेर्नुछ।

क्याडरबेस एमालेभित्र सबैलाई थाहा छ, यी चार नेता मिले भने एमाले अघि बढ्छ, फेरि पनि सत्तामा जानसक्छ। आगामी चुनावमा राम्रो परफरमेन्स पनि गर्नसक्छ। दोस्रो ठूलो पार्टी पहिले बन्न नसक्ने कुरा छैन। तर, यी चारको मन एकदोस्राप्रति यसरी बिरक्तिएको छ, तीतो छ कि त्यो मीठास बन्न सक्दैन। वामदेव, झलनाथ र माधवकुमार नेपालले संसदको रोष्टमबाटै ओलीमाथि जाइलागे। ओलीका मान्छेहरु सामाजिक सञ्जाल र सडकबाट देखाइदिने भनिरहेका छन्। एकले अर्कोको बद्ख्वाई गरेर बादशाह बन्न सकिन्न। एमाले यस्तै भएर १७ वर्ष अघि माले भएर चिरिएको थियो र त्यसको नेतृत्व गरेर सत्ताको मजा लुटिरहेका छन् सीपीले। अहिले पनि एमालेजस्तो गोल्डन पार्टीभित्रको ग्याङ अफ फोरको फाइटले कसलाई अर्को सीपी मैनाली बनाउने हो।

एमालेभित्र टिप्प्णी ह्ुने गरेको छ– एमालेको आपसी मनमुटाव र हानाहान देखेर उहिल्यै मरिसकेका स्टालिन, माओ, माक्स हाँसिरहेका होलान्। यी चारै जनाका प्रशंसक कार्यकर्ताहरु आफ्ना नेताहरुलाई देवता भनिरहेका छन्। यथार्थमा मानसिक रुपमा एमाले विचलित अवस्थामा पुगेको प्रमाण हो यो। ओलीका कार्यकर्ताहरु गैरमधेसी र जनजातिमा ओलीको लोकप्रियता देखेर ३ नेताले आहि्रस गरेका हुन्। आधाभन्दा बढी जनसंख्यालाई चिढाउने र संवोधन गर्न नसक्नेको लोकप्रियता के अलोकप्रियता के? देशको प्रधानमन्त्री केही जातिको, क्षेत्रको मात्र बन्न रुचाउनु भनेको दुर्भाग्य नभए के हो? केपी ओलीले सुशासन दिन सकेनन् यो यथार्थ हो। यथार्थ कसरी छोपिएला र?