Advertisement Banner
Advertisement Banner

२० बुधबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

Image

मंसिर ७, के होला र ?

शाश्वत शर्मा

१९ मंगलबार , कार्तिक २०८२२ दिन अगाडि

मंसिर ७, के होला र ?

छठ लगत्तै पद्धति परिवर्तन गर्ने आन्दोलनको आँधीबेहरी ल्याउँछु भन्थे, उनले साइत जुराएका छन्, मंसिर ७ को । उनले धमास दिएका छन्– राजधानीमा ५ लाख मान्छे उतार्छु । उनले आन्दोलनको मिति पर सार्नुमा भारतको विहारको चुनावको बहाना बनाएका छन् । केही व्यक्तिहरूका अनुसार दिल्ली जाने अनि आन्दोलनको मिति तोक्ने, राष्ट्रवादी आवरणमा प्रसाईले गर्ने भनेको आन्दोलन दिल्लीकै आन्दोलन हो । सरकार पश्चिमाको प्रभावमा बनेकोले दुर्गा प्रसाईलाई यो सरकार नफाली भएको छैन । प्रसाईकै नीतिसँग मेल खाने कांग्रेसी सांसद डा.सुनिल शर्मा भन्छन्– यो पटक नेताजहिरूले भागेर ज्यान जोगाउन पाएका छन् । यसबाट बुझिन्छ– नेपाल विदेशी रणमैदान बनिसक्यो । एकले अर्कोलाई खुइल्याउन, सिध्याउन दत्तचित्त भएर लागेका छन् । एकातिर अवस्था यस्तो छ, अर्कोतिर प्रम सुशीला र गृहमन्त्री ओमप्रकाश ज्यादति गरेको देखिए प्रसाईलाई कारवाही हुन्छ भनिरहेका छन् । उता विहारमा नितिसकुमार चुनाव हार्ने लक्ष्यण देखिएको भए यता दुर्गा प्रसाईले आन्दोलन थालिहाल्थे भन्ने विश्लेषण गर्छन् । सत्तादेखि सडकसम्म सबै विदेशीकै प्रभावमा । जेनजी पुस्ताले ज्यान दिए, रगत बगाए । देश र जनताका लागि कौवालाई बेलपाकेजस्तो भो । भ्रष्टाचारबाट मुक्ति र सुशासन केही आउने लक्ष्ण देखिदैन ।
हो, दुर्गा प्रसाईको संगठन देशैभरि छ । खासगरी लघुवित्त, मिटरव्याज, सहकारी पीडितहरू दुर्गा प्रसाईका पक्षमा छन् । दुर्गा प्रसाई चाहिं भुइँमान्छेको समस्या उठान गरेर काम चाहिं कसको गरिरहेका छन्, प्रश्न उठेको छ । गत भदौ २३ र २४ को नरसंहारपछि प्रष्ट भएको छ– जेनजी आन्दोलन र बिद्रोह, बालबालिकाको हत्या गरिएको घटना मात्र चीन पक्षीय केपी ओली सरकार फाल्नमात्र रहेछ । एकजना केपी ओली फाल्नका लागि यति ठूलो नरसंहार ? प्रधानमन्त्री सुशीला कार्कीले चुनाव गराउँछु भनिरहेकी छिन् । राष्ट्रिय सभाको चुनाव गराउने मिति तय भइसक्यो । जुन संविधान असफल भयो, देश लथालिङ्ग पा¥यो, त्यही संविधान जोगाउन सुशीला सरकार लागिपरेको छ भने युवाको हत्या किन गरियो ? खरवौंको राष्ट्रिय र निजी सम्पत्ति, सम्पदा किन खरानी पारियो ? हत्यारा को हो, बिध्वंश कसले गरेको हो ? तिनलाई पक्राउ गर्न छाडेर सरकार जेनजीलाई पक्राउ गरेर यातना दिन थाल्ने अर्को दुर्भाग्य हो । एकजनालाई लुसिफर भनियो । यहाँ त पार्टीभरि, नागरिक समाज, बुद्धिजीवी कता छैनन् लुसिफर । देशले युवाको अर्को आन्दोलनको माग गरेको छ । यो पद्धति नफाले, कुनै भ्रष्ट, अपराधी फालिने छैनन् । शान्ति, समृद्ध र सुशासनका लागि अर्को आन्दोलन समयको माग हो ।
तर त्यो आन्दोलन गर्ने कसले ? जुन जेनजी पुस्ता जागेको थियो, तिनीहरूमा हुनसम्मको षडयन्त्र भइरहेको छ । जेनजी पुस्ताको बली चढाएको घटनाले देशव्यापी आक्रोश बढेको छ । हत्यारा यिनै शासक हुन् र यिनलाई छाड्न कोही तैयार छैनन्, जेनजी पुस्तालाई नै पक्राउ गरेर जेल हाल्ने जुन चर्तिकला जेनजी नामको सरकारले गरिरहेको छ, त्यसप्रति झन बढ्दो आक्रोशले आन्दोलन निम्त्याइसकेको छ ।
सरकार बिस्तारै भ्रष्टाचारको अन्त्य र सुशासनबाट पछि हट्दैछ र जसरी पनि फागुन २१ को चुनाव गराएर पन्छिने मूडमा देखिदैछ । मैले राजीनामा दिएपछि बिध्वंश भएकाले सेनाले के हेरेर बस्यो ? भनेर तत्कालीन प्रम केपी ओली डुक्रिन थालेका छन् । सबैलाई थाहा छ, राजीनामा दिए पनि कामचलाउन प्रधानमन्त्री उनै थिए । उनी सेनाकै ब्यारेकमा गएर ज्यान जोगाएर लुके । अहिले सेनामाथि नै दोष थुपार्ने राजनीतिक भाषण दिइरहेका छन् । भोलि आन्दोलन चक्र्यो र लुक्न परे सेनाले यस्ता दोधारे, नैतिकहीन नेताहरूको संरक्षण गर्न अग्रसर होला त ? यसैवीच माओवादी नेकपा स जस्ता साना पार्टी टुक्य्राएर दर्जनौं कम्युनिष्ट पाटीृहरूसँग एकीकरण गर्दै संगठन बलियो बनाउन लागिपरेका छन् । तर प्रचण्डको असफलता भनेको आफ्नै पार्टीका नेता जनार्दन शर्माको बिद्रोहलाई शान्त पार्न नसक्नु हो, नेकपाका महासचि नेत्रविक्रम चन्दले आफ्नै पार्टी खोल्नु र चुनावमा सहभागी हुने निर्णय गर्नु हुनपुगेको छ । प्रचण्डले नेतृत्व छाड्नुपर्ने कुरा उठेका छन्, यो मुद्दा साम्य पार्न प्रचण्डका लागि फलामको च्यूरा चपाउनुजस्तै बनेको छ ।
अहिलेको सर्वाधिक चर्चाको विषय दुर्गा प्रसाई बनेका छन् । उनले मंसिर ७ मा देशैभरि आँधी ल्याउने भन्दै आमनागरिकलाई चुलोचौकोमा चाहिने नूनतेल, ग्यास दाउरा जोहो गरेर राख्न आह्वान गरेका छन् । दुर्गा प्रसाईले धेरैपल्ट आन्दोलन गरे, पहिलो दिन सफल पनि भएका हुन् तर भोलिपल्टदेखि सेलाएका थिए । गत चैतमा पनि व्यवस्था परिवर्तन गर्न तीनकुनेमा ठूलै आन्दोलनको सुरूआत गरेका हुन् । त्यो दिन राज्यले षडयन्त्र गरेर नागरिक मा¥यो, दुर्गा भारततिर भागे । मंसिर ७ मा दुर्गा प्रसाईले व्यवस्था परिवर्तन गर्ने आन्दोलनको आगो बाल्न सक्लान् त ? कि सुरूआत गरेर भोलिपल्टै बटारिने हुन् ? सबैले चर्चा परिचर्चा गरिरहेका छन् । प्रसाईमाथि परिचालितको आरोप छ । यो आरोप घटनाक्रमले हो भन्ने देखिन्छ । हुन पनि कलाकारको काम डाइरेक्टरले भनेजसरी अभिनय गर्ने न हो । स्वचालितहरू यस्ता हुँदैनन्, दुर्गा प्रसाईका कुरा सुन्दा उनी त्याग गर्न तैयार छन् । उनले गर्ने त्याग र बलिदानको अर्को पटाक्षेप हुनेवाला छ– मंसिर ७ गते ।
राजनीतिमा यू टर्न आएको छ । २७ घण्टामा जेनजी पुस्ताले सत्ता ढालिदिए, संविधान र संसद मासिदिए । राष्ट्रपति, प्रधानमन्त्री भागिसकेका थिए । सेनाले सम्हालेको हो । जेनजी पुस्तासँग योजना नभएकाले यति ठूलो जितमाथि षडयन्त्र भयो र घुम्दैफिर्दै रूम्जाटार भनेझैं उही संविधानमा उत्रियो । यद्यपि संविधानअनुसारको यो सरकार होइन । जेनजीले दबाब दियो भने फागुन २१ मै कार्यकारी प्रधानमन्त्रीको चुनाव हुनसक्छ । मरेको संविधानले पाएको कोरामिन निस्प्रभावी हुनजानेछ । प्रम सुशीला कार्कीलाई यसप्रकारको बल दिने जेनजीले नै हो । जेनजीलाई दर्जनौं गूटमा बिभाजित गर्न सफल भएकाहरूले रोकेका छन्, रोक्न सक्ने खतरा छ । सरकारमा जेनजीलाई शिलाखोज्नुपर्ने अवस्था छ भने राष्ट्रिय सभामा जेनजीलाई लान सकिन्न भनेर अध्यक्षले भनिसकेका छन् । निर्वाचन आयोग पनि टकटकिसकेको छ । अब जेनजी पुस्ताले गर्ने निर्णय भनेको संविधानको खारेजी नै हो । त्यो हिम्मत र अक्किलमा जेनजी पुस्ता एक भए जीत जोगिने छ ।
भनिन्छ, जेनजी पुस्ता सफल भए, सफलता षडयन्त्रले लुटियो ।
अबको आन्दोलन दुर्गा प्रसाईको नेतृत्वमा हुँदैछ । 
दुर्गा प्रसाईले यसपल्ट पनि एकदिने आन्दोलन गरे भने के होला ? त्यसै पनि मुलुक राजनीतिक, आर्थिक, सांस्कृतिक, सामाजि सबै हिसावले क्षतविक्षत भइसकेको छ । टालटुले चालाले मुलुक सम्हालिने स्थितिमा देखिदैन । जेनजी पुस्ताले जेनजीका नाममा अस्थायी सरकारसम्म गठन गर्न सफल भए । दुर्गा प्रसाईले त्यो पनि गर्न सक्ने विषयमा ठूलै शंका छ । अब जनताले नै निर्णय गर्नुपर्छ कि अस्तित्व रक्षा र मुुलुकको हितका लागि निर्णायक आन्दोलन गर्नुपर्छ, दुःख पीडा खपेरमात्र हुन्न ।