Advertisement Banner
Advertisement Banner

२० बुधबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

कांग्रेसका लागि रूख भारीभो

१९ मंगलबार , कार्तिक २०८२२ दिन अगाडि

कांग्रेसका लागि रूख भारीभो

लाख प्रयत्न र कांग्रेस–माओवादीवीच भागबण्डा हुँदा तनहुँबाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपति बन्न सफल भएका थिए । तनहुँमा मध्यावधि चुनाव भयो । त्यो चुनावमा रास्वपा प्रवेश गरेका स्वर्णिम वाग्ले उमेदवार भए र भारी मतले बिजयी भए । चुनावका बेलामा तनहुँका युवाहरूले रूख उखेले, रथ बोकेझैं बोके र रूखको अन्तिम बिदाई गरिदिएको दृश्य हो यो ।
यसपछि राजनीतिमा उतारचढाव भइसह्यो, माओवादी–कांग्रेस, एमाले–कांग्रेसको सरकार बन्यो, सबैभन्दा ठूलो पार्टी कांग्रेसले सरकारको नेतृत्व गर्न सकेन । गत भदौ २३ र २४ को जेनजी आन्दोलन र बिद्रोहले राज्यसत्ता नै पल्टाइदियो । सभापति देउवा र देउवा पत्नी डा.आरजु राणाले कुटाइसमेत खाए । महिना दिनपछि बसेको कांग्रेस बैठकमा सभापति देउवाले उपसभापतिलाई जिम्मेवारी दिए, सभापतिको दावी नगर्ने संकेत गरे र पतिपत्नी सिंगापुरतिर उपचारका नाममा सिंगापुरतिर लागे ।
कांग्रेसका अधिकांश सदस्यले विशेष अधिवेशन मागेका छन् । मंसिर, पुसमा नियमित अधिवेशन हुनुपर्ने माग पनि छ । तर कार्यवाहक सभापति पूर्णबहादुर खड्का समयको आहट सुन्न तैयार छैनन् । कांग्रेसभित्रका युवा अर्थात जेनजी पुस्ताले नेतृत्व परिवर्तन र युवाको उचित प्रतिनिधित्व गर्न पाउनुपर्ने माग राखेर कांग्रेस हेडक्वार्टरमा तालाबन्दी गरिदिएका छन् ।
कांग्रेसका देउवा अर्थात् खड्का पक्ष नेतृत्व छाड्नुपर्ने कारणले रमिता देखाइरहेको छ । त्यसैपनि कहिले माओवादी, कहिले एमालेको पुच्छर बनेर कांग्रेस नेतृत्वले प्रहसन देखाइरहेको थियो, अब त पार्टीलाई झन असरल्ल पार्न थालेको छ । कांग्रेसका पुराना नेतामा कार्यकर्तालाई उल्लू बनाउने होडबाजी जारी रहेको छ ।
कांग्रेसको चुनाव चिन्ह हो रूख, रूख बोक्न सकेन कांग्रेसले । माओवादीको हँसिया हथौडामा भोट हाल्यो, हाल्न लगायो र कांग्रेसले नीति, नैतिकता गुमाउँदै गएको थियो । अब त कांग्रेस हाँस न कुखुराको चालमा छ । अन्यौल बढेर गएको छ । प्रजातन्त्रको बिडा उठाएको भन्छ, कम्युनिष्टको पुच्छर बनेर सत्तामा भुलेको देखिन्छ । अब देउवा कोटरीको कारण कांग्रेस उनीहरूको निर्देशनमा चल्न नसक्ने देखिन्छ । कांग्रेसमा छुट्टै जागरण र अभियान उठेको छ । कांग्रेसले वीपीको बिरासत बिसायो, पार्टीभन्दा माथि नीति र पार्टीनीतिभन्दा माथि देश छ भन्ने भुल्यो । यसैको प्रतिफल हो, कांग्रेस ऐतिहासिक संकटमा फस्यो ।
कांग्रेस प्रजातन्त्र र मुलुकको हित, जनआकांक्षासँग मिल्न सकेन । कांग्रेसको साख गिर्दै गएको छ । कांग्रेस योभन्दा तल नझर्ने हो भने प्रजातन्त्र बोल्नुपर्छ, प्रजातन्त्रमा उभिनुपर्छ, वीपीको बिरासतमा देखिनुपर्छ । स्वार्थको तमासा रोकिनुपर्छ । कांग्रेस कांग्रेस हुने हो भने नियमित वा विशेष अधिवेशन गरेर नेतृत्व छान्ने र संगठनलाई मजबुत पार्नुको बिकल्प छैन । अन्यथा प्रजातन्त्रको बेहाल हुनेछ ।
पत्तासाफ हुने कि प्रजातन्त्र जोगाउने, कांग्रेसका सामु यक्ष प्रश्न छ । सभापति जो बनोस्, कांग्रेस पार्टी बन्नुपर्छ । जेनजी आन्दोलन, विद्रोह किन भयो, बुझेर कांग्रेस अघि नबढ्ने हो भने जसरी तनहुँमा युवाहरूले रूखलाई अन्तिम बिदाई गरिदिएका थिए, त्यसरी राजनीतिक परिदृश्य देखिन सक्छ भन्छन् विश्लेषकहरू ।