
मेयर बालेन साह भन्छन्– कांग्रेस एमालेले एकअर्काका घर जलाए । बालेनको यो भनाइलाई लिएर एकथरि चिन्तकले प्रश्न तेस्र्याए– उसोभए सिंहदरवार, सर्वोच्च अदालतजस्ता सम्पदाहरू बालेन साहले जलाएका हुन् त ? एक विश्लेषकले बालेन साहलाई लुसिफरको संज्ञा दिएका छन् । बालेन साहले मुख फर्काएका छन्– ‘चियाको टाइममा रगत पिएर अरूलाई लुसिफर भन्छौ ! लाज लाग्दैन ?’ बालेन साहका तीखो प्रतिकृया आएको छ ।
आफूलाई जेनजीका अगुवा दावी गर्ने सुदन गुरूङले पत्ता लगाए– सिंहदरवारमा काम गराउन जहीँतहीँ पैसा खर्च गर्नुपर्ने रहेछ । घूस दिनुपर्ने रहेछ । यो घुस्याह चलन हटाउन क्रान्ति गर्ने (भदौ २३, २४) सुदनले र उनको हामी नेपाल अभियानले अहिलेसम्म कुनै योजना अघि सारेको छ त ? घुस्याहमाथि कारवाही गर्न कुन कुन निर्णय गराउन सकेको छ ? सुदनलाई मात्र होइन, सबैलाई थाहा छ कि सिंहदरवार भ्रष्टाचारको अखडा हो भनेर । पालिकासम्म फैलिएको सिंहदरवार शैली हट्न हटाउन सकिने स्थिति अहिले पनि छैन । भ्रष्टाचार छ, सुशासन चाहियो भन्ने जेनजी पुस्ताले महिनौंसम्म के हेरेर बसेका छन् ? अब त भ्रष्ट नेता र पार्टीहरूले नै भन्न थालेका छन्– जेनजीहरूले गाउँसम्म उठ्ती धन्दा चलाउन थालिसकेका छन् । जेनजीको नाममा धन्दा चलाउने ती को हुन् ? किन बोल्दैनन् सच्चा जेनजीहरू ? केही जेनजीले त जलविद्युत आयोजनामा मुफतमा सेयर कायम गराएछन् । बाह्रथरि कुराहरूले जेनजीहरू पनि बदनाम हुँदैछन् । 
सुदन गुरूङ र सिङ्गो मुलुक बालबालिकाको टाउको, छातीमै गोली ठोकेर मार्नु निन्दनीय विषय भनेका छन् । अब त अन्तर्राष्ट्रिय मानवाधिकारवादी संसाद र राष्ट्रसंघका निकायले पनि आपत्ति जनाइसकेका छन् । तर जेनजी र सुदन गुरूङहरू सरकार बनाउन सक्छन्, कारवाही गर्न गराउन सक्दैनन्, किन ? बालबालिकालाई मार्नेमाथि कारवाही गर्न गराउन नसक्नेले ठूला काम के गर्लान् ?
हिजोका शासकहरूले आगो लगाएर सम्पदा जलाउने बाहेक मुलुकको दोहन गरेर मुलुक सिध्याउन कुनै कसर बाँकी राखेनन् । माओवादीले जनयुद्धकालमा मार्ने आगो लगाउने काम गरेकै हो, लोकतान्त्रिक चोला फेरेपछि १८ वर्षमा ११ वर्ष सत्ताको साझेदार भएर लुट्नुसम्म लुटेकै हो । ती दल र यो जेनजी सरकारमा भिन्नता के रह्यो ? हिजो पनि न्याय थिएन, आज पनि न्याय मारिदैछ । आन्दोलनमा फ्रि टिवेटवालाहरू आए । दलाई लामाले सबैभन्दा पहिलो बधाई जेनजी सरकारलाई नै थिए । चीन सशंकित बन्न पुगेको छ । कतै सच्चा जेनजीको काँधमा आन्दोलन, बिद्रोहको भारी बोकाएर राष्ट्रविरूद्ध गम्भीर षडयन्त्र त भइरहेको छैन ? आन्दोलनका क्रमका घटनामा जेनजीहरू समातिएका छन्, कारवाहीमा परेका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालले दुर्गा प्रसाईको आन्दोलनमा छुट नदिने बताएका छन् । पार्टीहरूलाई प्रहरीको लुटिएका हतियारको दुरूपयोग नगर्ने प्रत्याभूति उनैले मागेका छन् । छिमेकी भड्काउने, पार्टीहरूलाई आक्रोसित पार्ने कार्यले चुनाव कसरी हुन्छ ? शासन्तसुरक्षा कसरी कायम हुन्छ ? मनोबल गिरेको प्रहरीले कसरी काम गर्छ ? यसमाथि अधिवक्ता स्वागत नेपाललाई साइबर मुद्दामा फसाउने प्रपञ्च भइरहेको छ । भन्नलाई निरंकूश ओली भन्ने, व्यवहारमा ओलीभन्दा निकृष्ठता देखाउने वर्तमान जेनजी सरकारले अर्को आन्दोलनलाई निम्त्याउन थालेको अनुभूति गरिदैछ ।
वास्तविक जेजनी पुस्तालाई पन्छाएर अँध्यारो कोठाबाट नक्कली जेनजीहरू सक्कली जेनजीहरूलाई उक्साउन थालेका छन् । जो अस्पतालमा छन्, तिनीहरूसमेत यो सरकारबाट असन्तुष्टि पोख्दैछन् । यो सरकारले घाइतेको उपचारमा खेलाँची गरेको, सहिदलाई दिने भनेर घोषणा गरेको क्षतिपूर्ति पनि दिइरहेको छैन । अस्पतालको बेडबाट, शरीरमा गोली बोकेका असली जेनजीहरू भनिरहेका छन्– बरू हामीलाई केही चाहिंदैन, जेनजीले उठाएका सुशासन र भ्रष्टाचार मुक्तिका लागि काम गरिदिनोस् । सरकरमा बस्नेले घाइते जेनजीहरूलाई समेत भेट्न छाडेका छन् । वास्तविक जेनजीहरूको सुनवाई हुने कुरामा शंका बढेको छ । समय घक्र्याउन कृष्णबहादुर महराजस्ता कमजोर कडीलाई थुनेजस्तो गर्ने, प्रचण्ड–शेरबहादुर देउवा–केपी ओलीलाई सम्पत्ति शुद्धीकरणले छानबिन गर्दैछ भनेर हल्ला फिजाइएको छ । सयौं काण्डका फाइलहरू जिउादो छँदाछँदै फाइल नखोल्ने, भ्रष्टाचारीमाथि कारवाही गर्न नसक्ने,  बालबालिकाको हत्या गर्ने तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई पक्राउ गर्न नसक्नेयो नक्कली जेनजी सरकारले केही गरेको देखिदैन । तिनका जलाइएका घरमा भेटिएका केही सुन र डढेका नोटबाट छानबिन हुँदैछ भनिदैछ । यो सरकार नक्कली जेनजीकै सरकार हो, जोसँग सक्कली जेनजी पुस्ता असन्तुष्ट । दिनानुदिन यो सरकारले गर्नुपर्ने काम नगरेर आफ्नो मुखुण्डो उघारिरहेको देखिन्छ । भ्रष्टाचार निवारण, सुशासन, कार्यकारी प्रधानमन्त्रीको निर्वाचन, संविधान संशोधन, संघीयता खारेजी केही पनि नहुने भएको छ । स्वयम् प्रधानमन्त्रीले चुनावमात्र आफ्नो कार्याधिकार रहेको बताएर जेनजीपुस्तालाई निराश बनाएकी छिन् । बालबालिकाले किन ज्यान दिए, रगत बगाए, यो यक्ष प्रश्न बनेको छ ।
यो सरकारबाट केही हुन्छ भनेर आश नगर्दा हुन्छ । गत असोज ३ गते सैनिक मञ्चबाट संविधान दिवस मनाउँदै प्रधानमन्त्रीले थप निराश पारेकी थिइन् । यसपछि प्रष्ट भयो– जेनजी पुस्ताका कुनै पनि माग पूरा हुने छैनन् ।  कुनै मिसन पूरा गर्न स्थापना गरिएको यो सरकारले नेपालीको अपेक्षाको मतलव राख्नेछैन । सर्पलाई छाडेर नागलाई अँगाल्न बाध्य पारिएको घटना बन्यो भदौ २३, २४ मा नवयुवाहरूको हत्या । २४ गतेपछि कत्लेआम र आगजनीबाट भयभित भएका नेताहरू स्थिति सम्हालीदिन राजाकोमा पुगेका थिए । सबैको लिखित सहमति खोजेपछि पार्टीहरू पन्छिए । विषयान्तर गर्न भारत मानेन, अमेरिका मानेन प्रचार गरियो । अब फागुन २१ मा यो सरकारले चुनाव गराउँछ भनिदैछ । तर एमाले बिच्किएको छ । एमाले अध्यक्ष जो भदौ २४ गते सेनाको शरणमा भागेका थिए, ५ मिनेट ढिला भएको भए मार्ने रहेछन् पनि भन्छन्, केपी ओलीले सर्वोच्चबाट संसद पुनस्र्थापना हुने र आफै पुनः प्रधानमन्त्री बन्ने दावी गर्न समेत भ्याइसकेका छन् । कानुनव्यवस्था भाँडिएको छ, धेरैथरिले आन्दोलन गर्ने भन्दैछन् । एकथरि जेनजी पुस्ता पनि आन्दोलन हुन्छ भनिरहेका छन् । देउवा राजनीतिबाट पन्छिदै छन्, कांग्रेसी नेता गोपालमान श्रेष्ठले राजालाई पनि समेटेर अघि बढौं भन्दा कांग्रेस तरङ्गित बन्न पुगेको छ । सच्चा जेनजी पुस्तालाई नजरअन्दाज गर्न अनेक चलखेल भइरहेका छन्, अर्थात् अर्को द्वन्द्व हुने जोखिम छ । यो जोखिमबाट स्थिरता र शान्ति कसरी आउला र ?


