Advertisement Banner
Advertisement Banner

१५ शुक्रबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

Image

प्रत्येक नेतालाई कालभैरवका सामु उभ्याऔं

राजन कार्की

१२ मंगलबार , कार्तिक २०८२४ दिन अगाडि

प्रत्येक नेतालाई कालभैरवका सामु उभ्याऔं

बहुदल र लोकतन्त्रको कुमारीचोक बुझाऊ
राणा शासकले कालभैरवका सामुन्ने उभ्याएर सपथ खुवाउने र शासन व्यवस्था चलाउने गर्थे । भैरव रिसाए भने उल्का हुने हुनाले आमनागरिक, कर्मचारी सबै डराउँथे ।
कतिपय घटनाक्रममा न्याय दिनका लागि तामा तुलसी समाएर किरिया खुवाउने चलन पनि थियो । यसो गर्दा कसैले पनि झूठ बोल्ने साहस नै गर्ने थिएनन् । त्यो सामाजिक मान्यता अहिले राजनीतिक र सामाजिक अपराधिकरणमा रूपान्तरण भइसकेको छ ।
अहिले पाखण्ड बढेको छ । पाखण्डीको कामै पाखण्ड देखाउनु हो । नेतृत्वको गुण भए न नेतृत्व देखाउनु ? राजनीतिलाई व्यवसाय बनाउनेले देखाउने नै पाखण्ड हो । बहुदलपछिका ३७ वर्षमा र लोकतन्त्रको १८ वर्षमा जे देखियो, पाखण्डबाहेक केही देखिएन ।
परिवर्तन हामीले गरेका र्हौं भन्नेहरू कति गलत रहेछन्, गत भदौ २३ र २४ गतेका दिन जेनजी पुस्ताले प्रमाणित गरिदिएका छन् । नेतृत्वमा राजनीतिक सिद्धान्त, नैतिक बल र स्पष्ट लक्ष्य भएको भए नेपाल अग्रगमनको धेरै अगाडि पुग्ने थियो । यिनको यात्रा विदेशी दलाली, स्वदेशी लूटमा सिमित भयो । फरियावादमा रमाउँदा यिनमा स्वाभिमान र स्वाधीनता मरिसकेको रहेछ ।
कहाँ छन् शेरबहादुर देउवा, केपी ओली र प्रचण्डहरू ? तिनका पछि पछि स्वार्थका लागि दगुर्नेहरू ? यी जहाँ छन्, त्यहाँ भ्रष्टाचार, अनियमितता, निषेध र विभेदमात्र थियो । अनुशासनहीनता र नैतिकहीनतामात्र थियो । यसकारण त यिनको राजनीतिले नोज डाइभ ग¥यो, जेनजी पुस्ताले यिनको औकात देखाइदिए, यिनको अपराधको घ्याम्पो फोडिदिए । जेनजी पुस्तालाई मार्ने यिनै हुन्, देश आँसुमा डुबेको छ ।
जनआन्दोलन, जनयुद्धका सफल नेता र तिनका सहयोगीहरूले जनताको रगत–पसिनाको सर्बतमात्र पिए । बाल्मिकी बन्न सकेनन्, सुकुलगुण्डा चरित्रमात्र देखाए । यी वाल्मिकी बन्न नसकेका रत्नाकर थिए, भदौ २३ गते रत्नाकर डाकु नै साबित भए ।
यी उज्यालो थिएनन्, अँध्यारोमात्र प्रमाणित भए । रक्तपात गरे ।
वाल्मिकी बन्नसक्ने विवेक थियो र रत्नाकरले ऋषिमन, ऋषि सुझाव बुझेर सत्मार्गतिर लागे । स्वर्ग र नर्क पृथ्वीमै छ, मान्छेले यही जीवनमा स्वर्ग र नर्कको भोग गर्छ भन्ने मान्यता बुझे । यस्तो मान्यता न सर्वहारावादी, न समाजवादीले बुझे ? यसकारण त यिनीहरूमा राष्ट्रघाती सावित भए । यिनको लूटको साम्राज्य डल्यो ।
हरेक चुनावमा, हरेक परिवर्तनमा आमजनताले साथ दिए, सहमति जनाए । तर, यी नेताहरू कलियुगका रत्नाकर परे । आफूलाई स्वार्थको शिखरपुरूष माने, लोकतान्त्रिक साँचोमा ढाल्न सकेनन् । पापकर्म, भ्रष्टाचार र कुशासनलाई यिनले धर्म ठाने । जीत ठाने । जसरी पनि सत्ता, शक्ति र सम्पत्ति कमाउनुपर्छ भन्ने  मान्यता राखे । लोकतन्त्रको जगमा अलोकतान्त्रिक र अपवित्र धारणा बोकेका कारण जनादेश र जनआकांक्षा यिनलाई अपाच्य बन्यो । फलस्वरूप एकजना नेता पनि बाल्मिकी बन्न सकेनन् । राष्ट्र बाल्मिकीबिहीन रत्नाकरहरूको जंगल बनिसकेको थियो, जेनजी पुस्ता अगाडि स¥यो र यिनको रजगज अपवित्र सावित गरिदियो, खरानी बनाइदियो । यिनको जंगली शासन समाप्त पारिदियो । स्वार्थको पोखरीमा डुब्दा डुब्दा यिनको चेतना तन्तु मरिसक्यो, अव यिनले अनुशासनमा चलाउनुपर्ने लोकतन्त्र चलाउन सक्ने देखिदैन । नयाँ पुस्ता अगाडि आउनैपर्छ । विकल्प छैन ।
खेतबारीमा ठड्याएको बुख्याँचा र लोकतन्त्रमा उभ्भिएका यी नेताहरूमा भिन्नता रहेन । जब नेतामा मानवीय मर्म र मर्यादा रहँदैन, विवेकशीलता हुँदैन । विवेकहीन नेता र तिनको राजनीति भनेको मृत्यु हो । जीवन होइन । जीवन खोज्ने क्रम सुरू भएको छ, यसका लागि विश्वासको संकट मोचन हुनुपर्छ ।
जता हेरे पनि राजनीतिकरण । अपराधिकरण । सेटिङ । स्वार्थ । नेपोटिजम, नेपोबेबीइजम । राजनीतिक गुण्डातन्त्र । राजनीतिले नीति, सिद्धान्त, नैतिकता इमान बेच्यो । राजनीति टाट बन्यो । देशको परिस्थिति जे छ, त्यो तिक्त अनुभूति पूर्वराजाले बोले । राजतन्त्रविहीन प्रजातन्त्र सान्दर्भिक हुन नसक्ने निष्कर्ष सुनाइदिए । सहमति, संवाद र सहकार्यको विकल्प छैन भने । स्थिति ठ्याक्कै त्यही विन्दुमा छ । राष्ट्र बचाउने, बनाउने हो भने पूर्वराजाको सुझाव सान्दर्भिक छ । 
पूर्वराजाले २०६५ साल जेठ १५ गते गणतन्त्र कार्यान्वयन भएपछि आजसम्म कुनै पनि प्रकारको बाधा दिएका छैनन् । त्यस्तो अभिभावक देशको आवश्यकता हो । अब जनता र देशलाई चासो दिने र जिम्मेवारी लिने नेता चाहिन्छ । युवा पुस्ताले देश सम्हाल्नुपर्छ । 
जनताले बहुदलपछिको ३७ वर्षको हिसाव मागेका छन् । प्रत्येक नेताले त्यो कुमारीचोक बुझाउनै पर्छ ।
प्रत्येक नेतालाई कालभैरवका सामु उभ्याऔं
रेकर्डमा स्थापित कालभैरवको मूर्तिबारे केही कुरा– काठमाडौंको हनुमानढोका दरबारको प्रांगणको उत्तरपश्चिमी भागमा काल भैरवको ठूलो प्रस्तर मूर्ति छ । कालो प्रस्तरबाट बनेको यो मूर्ति अति ठूलो र डरलाग्दो छ । यो मूर्ति १२ फिट अग्लो छ । यो मूर्ति प्राचीन कालतिर बनाइएको मानिन्छ तर यस स्थानमा यसको स्थापना भने कान्तिपुरे राजा प्रताप मल्लले गराएका हुन् । कतिपय श्रद्धालुहरू काल भैरवलाई काली मानेर पनि पूजाआजा गर्ने गर्दछन् ।
शवमाथि उभिएको तथा नरमुण्डमाला लगाएको काल भैरवको मूर्तिलाई बेग्लै मन्दिर नबनाएर त्यत्तिकै खुला आकाशमुनि एउटा पर्खालमा टँसाएर राखिएको छ । मध्यकालतिर काल भैरव मूर्ति अगाडि अपराधीलाई दण्ड–सजाय दिने चलन थियो । यसको अगाडि उभ्याएर अपराधीलाई अपराध स्वीकार गर्न लगाइन्थ्यो । साथै कतिपय अपराधीहरू त यहाँ आइपुग्नासाथ डरले आफैं मर्दथे भनिन्छ । यस्तो डरलाग्दो मूर्ति आफु भने हाँसिरहेको छ । कालभैरवको मूर्ति हेर्नु भयो भने तपाईले पनि भैरवको मुख हाँसेको र हाँस्दा दाँत पनि देख्नु हुनेछ ।
किन हाँसे त काल भैरव ?
कालभैरवको मूर्ति हास्नुको कारणका बारेमा रमाइलो किंवदन्ती छ । पहिले पहिले कुनै कसुरमा दसी प्रमाण नभेटिएमा कालभैरवको पाउ छुवाएर किरिया खुवाउने चलन थियो । यसरी किरिया खाँदा यदि झुट्टा बोल्यो भने तत्काल त्यहीं रगत छादेर मर्ने गथ्र्यो । यौटा हाकिम बडो घुस्याहा थियो तर उसले गरेको बदमासीको प्रमाण कसैले नपाउने गरी गर्दथ्यो । उसका विरूद्ध उजुर प¥यो । उजुरी गर्ने अति नै विश्वासिला मानिस थिए तर हाकिमका विरूद्धमा भने कसै गर्दा पनि प्रमाण भेटिएन । प्रमाण नभेटिएकाले उसलाई कालभैरवको पाउ छुवाएर किरिया खुवाइने फैसला भयो । किरिया खुवाउँने दिन भनेर भोलीपल्टलाई नै तोकियो ।
फैसला पछि घर आएको ऊ नुन खाएको कुखुराजस्तै झोक्राएर बसिरह्यो । उसकी आमाले यो देखेर उसलाई सोधिन् । उसले पनि सबै सत्य कुरो आमालाई बताइदियो । आमाचाहिंले “ए, यत्ति कुरामा किन पीर लिनु” भनेर उसलाई योबाट बच्ने सजिलो तरिका भएको कुरा बताइन् । त्यसका लागि उसलाई नाङ्गै भएर आफ्नो काखमा बसेर दूध चुस्न लगाइन् र भोलिपल्ट भन्नु पर्ने सबै कुरा सिकाइन् ।
भोलिपल्ट सबै भैरवस्थानमा जम्मा भए र ऊ पनि गयो । जब उसलाई किरिया खान भनियो अनि उसले कालभैरवको पाउ समातेर “मैले अजान छँदा, नाङ्गै आमाको काखमा बसेर दूध खानुअघि त के के गरें भन्न सक्दिन तर त्यसपछि मैले आजको दिनसम्म घुस खाने वा कुनै नगर्नु हुने काम गरेको छैन । भए यहीं रगत छादेर मेरो मृत्यु होस् ।” उसले यति चलाखीपुर्ण किरिया खाएको सुनेपछि त्रिकालदर्शी कालभैरवको मूर्ति पनि हाँस्यो । र, आजसम्म हाँसेकै छ रे ।
निथारः
०४६ सालपछिका शासक प्रशासकलाई कालभैरवको अगाडि उभ्याएर भ्रष्टाचार र अनियमितता, घूस र फरियावादका बारेमा किरिया खुवाउने कि ? उनीहरूले परलोक र सन्ततीका लागि साँचो बोले भने इतिहास कायम हुनेछ ।