Advertisement Banner
Advertisement Banner

१५ शुक्रबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

यक्ष प्रश्न–सकिने कि सच्चिने

१२ मंगलबार , कार्तिक २०८२४ दिन अगाडि

यक्ष प्रश्न–सकिने कि सच्चिने

जेनजी पुस्ताले आन्दोलन गरे । आन्दोलन बिद्रोहमा पुग्यो । बिद्रोह क्रान्तिमा परिणत भयो । क्रान्ति भयो तर क्रान्ति सफल भएन । बिद्रोहले स्थापित सबै मान्यता, पद्धति, नेतृत्व, संविधान, सरकार, संसद ढाल्यो । नयाँ सुरूआत हुनुपर्नेे, हुनसकेन । सडकमा जेनजीले युद्ध जिते, सम्झौतामा हारे । जितलाई नयाँ पुस्ताले आफ्नो नेतृत्व स्थापित गर्न चुके । हुन त सुशीला कार्कीलाई प्रधानमन्त्री बनाएका हुन् । अनुभव चाहिने थियो, ठिकै गरेका हुन् । त्यसपछि नयाँपुस्तालाई पाखा लगाइयो । दिग्भ्रमित पारियो । यहीँनेर सफल बिद्रोहपछिको क्रान्ति असफल भएको हो । यति ठूलो रक्तपात भयो, नवयुवाहरू मारिए, राज्यआतंक भएकै हो । राज्य आतंकलाई कानुनी दायरामा ल्याउन पनि जेनजीपुस्ता अलमलमा प¥यो । पुराना खुँखार भ्रष्ट, अपराधिक राजनीतिका सामु जेनजी पुस्ता अन्यौलग्रस्त पारिए । देशले यूटर्न लिनेबेलामा नयाँ पुस्ताको आँखामा धुलो पारियो, अधुरो क्रान्तिले फेरि मुलुक ०७ साल, ०४६ साल, ०६३ सालमा झैं कुहिरोको काग बन्यो । ०८२ को आन्दोलन र पुराना आन्दोलनमा फरक देखिन छाड्यो । पूर्णक्रान्ति जनताको माग थियो, राष्ट्रको आवश्यकता थियो, जेनजी पुस्ताको लक्ष्य थियो । फाँड्नुपर्ने राजनीतिक ऐंजेरू थियो, फाँडिए, फेरि पलाउन थाले । फाड्नुपर्ने अपराध, घूसखोरी, अनियमितता थियो, तिनीहरू बचे । बचाइए । अब के हुन्छ, कसरी देश अघि बढ्छ, भन्न सकिन्न । चुनाव भनिएको छ, चुनाव भए पुरानै अनुहार आउने पक्का छ । चुनावी वातावरण बनेको छैन । चुनाव भएन भने के हुन्छ, उही अराजकता, अस्थिरता । त्यसपछि के हुन्छ ? कोही भन्न सक्दैन ।
भन्नेहरू भन्छन्– पुराना पार्टीले जित्ने भए, पुराना नेतालाई भ्रष्टाचार, अनियमितता र अपराधमा कारवाही नहुने भएमात्र उनीहरू चुनावमा सहभागी हुन्छन् । जेनजी पुस्ताले सुशासन र भ्रष्टाचारविरूद्ध कारवाही भनिरहेका छन् । कारवाही थालनी भयो भने चुनाव भाँडिन्छ । अपराधीहरू सलबलाउँछन् । अनि अराजकता र अस्थिरताले सीमा नाघ्छ । फेरि सेना अगाडि आउनुपर्ने स्थिति हुन्छ ।
देश अस्तित्वको संकटमा छ । सक्कली जेनजीहरू अर्को आन्दोलन, बिद्रोह, क्रान्ति भनिरहेका छन् । राजनीतिक कोर्ष सच्चिने धारमा देखिदैन । सुशासनका लागि, भ्रष्टाचारबाट मुक्तिका लागि पूर्वराजाले भनेझैं सबै राजनीतिक शक्तिका वीचमा संवाद, सहमति, सहकार्य हुनैपर्छ । ता कि भ्रष्टाचारीले उन्मुक्ति नपाओस्, सुशासन सुरू होस् । शान्ति व्यवस्था कायम होस् । जेनजी पुस्ताको नेतृत्वमा राजनीति अघि बढोस् । डामिएका सबै नेताले राजनीतिबाट सन्यास लिउन् । अब ३० वर्षे बहुदल र १८ वर्षे लोकतान्त्रिक गणतन्त्र जसरी चल्यो, त्यसरी यो देश चल्न सक्दैन । सत्य यही हो ।
आमनेपालीलाई यी भ्रष्ट राष्ट्रघातीबाट मुक्त गराउने गुरूत्तर दायित्व टड्कारो छ । परिवर्तन अधुरो भयो । कुनै पनि भ्रष्ट, ज्यानमारा, राज्यदमनकारीले छुट पाउनुहुन्न । यसका लागि देशको कानुन कमजोर छ भने बलियो बनाउनुपर्छ । अन्तर्राष्ट्रिय अदालतसम्म पनि नवयुवाको हत्यारालाई उभ्याउनै पर्छ । अबको परिवर्तन फासफुस हुनुहुन्न । राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पुगेको जेनजी पुस्ताको बिद्रोह तुहिन सक्दैन । जेनजी युवाको बिद्रोह पानीको फोका भयो भने बाँकी के रहन्छ ? जो छन्, भ्रष्ट छन्, लुटाहा छन्, देशको अस्तित्व नै प्रश्नचिन्हमा परिसकेको स्थितिलाई सुधार्ने र अस्तित्वको रक्षा गर्ने युवा पुस्ताले नै हो । बुढोपुस्ताले जुका बनेर देश र जनतालाई चुस्नुसम्म चुसिसके । जुकाहरूलाई नुन दल्नुपर्छ ।
राजतन्त्रसहितको प्रजातन्त्र जनताको माग हो । जेनजी पुस्ता पनि अभिभावककै पक्षमा छन् । राप्रपाको भर छैन । दुर्गा प्रसाईले गर्न सक्दैनन् । नवराज सुवेदी, कमल थापा, केशर विष्ट अथवा ६ दर्जन राजतन्त्र र हिन्दुवादी संगठनहरू पनि सबै अवसरवादीभन्दा भिन्न देखिएनन् । ९४ प्रतिशत ॐकार परिवारमा २५ प्रतिशत सडकमा निस्केको भए १८ वर्षसम्म लुटतन्त्रवाद चल्नै सक्दैनथ्यो । गणतन्त्र, लोकतन्त्रका बहानामा संघीयता सहितका पार्टीका कार्यकर्ता, नेताका छोराछोरी–नातापातावादले देशलाई लखनौं लूट मच्चाए । यसको कारण राजतन्त्र र हिन्दुवादीको असंगठित र मौसमी आन्दोलन नै हो । कसैले सोचेको थिएन कि जेनजी पुस्ताले यस्तो आन्दोलन गर्न सक्छन् । अचम्मित भयो विश्व नै । विश्व राजनीतिमा नेपाली जेनजी चर्चाको शिखरमा पुगे । वीर जेनजी पुस्ताले स्कूल, कलेजबाट सडकमा निस्किएर गरेको भदौ २३, २४ गतेको आन्दोलनमाथि राज्यले गोली बर्सायो, राज्यदमन मच्चायो । फलत एकै दिन २३ र अर्को दिन मारिनेको संख्या ७५  नाघ्यो । रक्तपातपछि आन्दोलन बिद्रोहमा परिणत भयो, बिद्रोह क्रान्तिजस्तै भयो । राज्यसंयन्त्र केही बाँकी रहेन, सबै ढल्यो । ०४६ सालपछिका बहुदले, गणतन्त्रे नेताहरू ज्यान जोगाउन अँध्यारो कोठामा लुके । २७ घण्टामा ३७ वर्ष लामो नेतातन्त्र बालुवाको महल जसरी ढल्यो । देखे, राजतन्त्र र हिन्दुवादी सबैले देखे कि टुक्रे झुण्डे आन्दोलनले नहुने रहेछ । एकजुट भएर जेनजी पुस्ताले गरेजस्तो आन्दोलन गरेको भए, भ्रष्टाचार उहिल्यै रोकिने रहेछ ।
एकछत्र छाएका नेता हुन्– कांग्रेसका शेरबहादुर देउवा, एमालेका केपी ओली, माओवादीका प्रचण्ड । अरू भुरेटाकुरे नेताहरू । कुनै पनि नेताको बिरासत बाँकी रहेन । हरेक नेता केही हप्तामै राजनीतिबाट अस्ताउने निश्चित छ । चुनाव भए पनि नभए पनि, स्थिरता बने पनि नबने पनि, पुराना नेताहरूले शासन गर्नेदिन सकिए । जुनसुकै दलका हुन्, शासन गर्ने नवपुस्ताले नै हो । पुस्तान्तरण अवश्यम्भावी छ । डोनाल्ड ट्रम्प, पुटिन, नरेन्द्र मोदीलाई देखाएर सोच जेनजी पुस्ताको जस्तो हुनुपर्छ, उमेरले हुँदैन भन्नेहरू हार खान थालिसकेका छन् । नेपालका युवा ताते । नेपोटिजम र नेपोबेबीइजमले अर्को १० वर्षसम्म युवालाई तताइरहनेछ । भ्रष्टाचारीहरू अहिले नै सचेत हुनथालेका छन् । युवा पुस्ताले बिस्तारै राजनीति बुझ्न थालेका छन् । आफूले जितेको जित खोसिएको विषयमा बुझ्न थालेका छन् । देश बेच्ने, सीमा बेच्ने, राष्ट्राधिकार बेच्ने, जनाधिकार बेच्ने, लुट्ने कोही पनि सुरक्षित छैनन् भन्ने भय देशव्यापी फैलिसकेको छ । पुराना नेताहरूले बुझ्नैपर्ने विषय भनेको इज्जत रहेन, सम्मान गुमाए । कलंकित भइसके । बाँकी जीवन देश र जनताका लागि किन अर्पण नगर्ने ? यदि त्याग गर्न चाहेनन् भने लेण्डुपजसरी आत्मघात गर्नुपर्नेछ ।
जेनजी पुस्तालाई अर्को आन्दोलनका लागि नउक्साउ । जेनजी पुस्तालाई नफुटाउ । भदौ २३ गते एक भएको पनि देखेका हौला । चाहे भने जेनजी पुस्ताले ज्यान फालेरै सुशासन र भ्रष्टाचारविरोधी अभियानलाई आन्दोलन र बिद्रोहमा परिणत गर्नसक्ने रहेछन् भन्ने नबिर्सौ ।
जेनजी पुस्ताले भ्रष्टहरूलाई छाड्ने छैनन् । विधिको शासन स्थापित गरिछाड्छन् । जो जुनसुकै देशमा भागुन्, नेपालमै सुरक्षित हुने उपाय खोजुन्, छिटै छानबिन र कारवाहीको डण्डा चलाउने छन् । लाभ र लोभका लागि भ्रष्टहरूका कार्यकर्ता जो बनेका थिए, तिनीहरू पनि भदौ २३, २४ मा सडकमा निस्केकै हुन् । यसको अर्थ जुनसुकै पार्टीका कार्यकर्ता हुन्, तिनीहरू विवेकशील छन् । बाध्यतालाई मिचेर जब सबै प्रकारका जेनजीहरू सडकमा निस्कनेछन्, फेरि क्रान्ति हुनसक्छ । अबको क्रान्ति यसैगरी भ्रमित पार्न सकिने छैन । किनकि जेनजी पुस्ताले राजनीतिक छलकपट कतिसम्म हुनसक्छ, थाहापाइसके । त्यसैले सक्किने कि सच्चिने ? हेक्का राखौं सबैले ।