माओवादी केन्द्रका प्रभावशाली नेता कृष्णबहादुर महराले धर्मपरिवर्तन गरेर क्रिश्चियन बने। उनी त बुझकी छन्, बुझेर धर्मपरिवर्तन गरे होलान्। स्कूलका बालबालिकाहरुलाई पास्टरहरुको प्रभावमा माष्टरले नै बाइबल बोकेर प्रार्थना गराउन थालेपछि र चेपाङ बालबालिकाहरुलाई स्कूल ड्रेस र खाजाखर्च दिएर बाइबल घोकाउन थालेपछि के बुझ्ने?
कुनाकाप्चा, कन्दराका स्कूलहरुमा आजकल राष्ट्रियगान गाएर पढाई सुरु हुन्न, बाइबलको प्रार्थना गराएर पढाई सुरु हुन्छ। कोर्सका पुस्तकभन्दा बाइबलका श्लोकहरु घोकाइन्छ। भगवान भनेका ईशु हुन् भनेर बालबालिकाको दिमाग भर्न थालिएको छ। यसरी क्रिश्चियन धर्म प्रचारका लागि प्रचारकहरु घरघर, गाउँगाउँ गइरहेका छन्। दोलखाको स्कूलबाट प्रचारकहरु रंगेहात पक्राउ परे तर प्रशासनले धरौटीमा रिहा गरिदियो। राप्रपा नेपालका अध्यक्ष कमल थापा भन्छन्– धर्मनिरपेक्ष राष्ट्र घोषणा भएपछि १० लाखको धर्मपरिवर्तन गरिएको छ। यो क्रम बढ्दैछ।
नेपाल सरकारले २ सय ५४ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुलाई नेपाल सरकारले तिनका परियोजनामा काम गर्ने अनुमति दिएको छ। तीमध्ये अधिकांश युरोप, अमेरिकाका छन्। चरम गरिबी, अशिक्षा, अभाव र अवसर नपाएका छँदैथिए, त्यसमाथि भूकम्प र बाढीपहिरोको चपेटामा परेकाहरुको छटपटीको लाभ उठाएर आइएनजीओहरु धर्मपरिवर्तन, जातियता र साम्प्रदायिक सद्भाव भड्काउने र क्षेत्रीयताको भावना फैलाइरहेका छन्। खासगरी पहाडी र हिमाली भेगमा यो क्रम व्यापक बढाइएको छ। यिनै आइएनजीओहरुलाई सरकारले ७९ अर्वको योजना स्वीकृत गरेर तत्कालकालागि १९ अर्व ५७ करोड खर्च गर्न अनुमति दिएको छ। यिनीहरुले पुनर्निर्माणभन्दा पनि धर्मपरिवर्तनमा बढी ध्यान दिइरहेका खबरहरु आएका छन्। यो खर्च कसरी, कहाँ खर्च भयो, आइएनजीओहरु के गरिरहेका छन्, सुरक्षा निकायले अनुगमन गरेको पाइन्न। छन त सेना, प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग छन् र तिनका आ–आफ्नै देशव्यापी च्यानल पनि छन् तर ती च्यानलमा खटिने कर्मचारीहरु प्रभावशाली देखिएका छन् भन्न सकिन्न। त्यसो त समानान्तर सरकार चलाइरहेका विदेशी आइएनजीओहरु र दूतावासहरुको प्रभाव र दबाब झेल्नसक्ने स्थितिमा सरकार देखिन्न। त्यसैले दुरुपयोग बढिरहेको छ।


