Advertisement Banner
Advertisement Banner

१२ शुक्रबार, असार २०८३20th June 2026, 4:50:23 am

केपीको हट्ने होइन डट्ने नीति

२८ मंगलबार , आश्विन २०८२८ महिना अगाडि

केपीको हट्ने होइन डट्ने नीति

एमालेमा केपी ओलीको नेतृत्वको बिकल्प खोज्नेहरूलाई केपी ओलीले लोप्वा ख्वाइदिएका छन् । एमाले नेतृत्वमा नयाँ पुस्ता र विद्या भण्डारीसम्मको चर्चा चलिरहेको थियो, ती सबै खासखुसलाई अध्यक्ष ओलीको राजनीतिले फेल गरिदिएको छ । सबैखाले जेनजी पुस्तामा बुढा नेताहरूले बिश्राम लिनुपर्ने र नेतृत्व पुस्तान्तरण हुनुपर्ने माँग भइरहेको र एमालेभित्र पनि केपी ओलीले नेतृत्व छाड्नुपर्ने विषयमा गहन छलफल भयो तर एक दिन केपी ओलीले बिरामीको बहाना गरेर बैठक स्थगित गराए, दोस्रो दिन असोज २६ गतेको बैठकमा केपीकै लाइनमा प्रस्ताव पास भयो– एमालेको निर्णय ः मंसिर अन्तिम साता महाधिवेशन, संसद् पुनः स्थापना र प्रतिगमनविरूद्ध एकजुट हुने । नेतृत्व परिवर्तनकारी थचक्कै बसे ।
एमालेको यो निर्णय ओलीको पद नछोड्ने अडान हो । जेनजी पुस्ताको आन्दोलनबाट आत्तिएर सेनाको सहारामा शिवपुरी अनि भक्तपुरको गुण्डुमा पुगेर कार्यकर्ताको सुरक्षा घेरामा रहेका एमाले अध्यक्षमाथि अध्यक्ष पदबाट राजीनामा दिन बढेको दबाबलाई आफ्नै तरिकाले तत्काललाई खारेज गराइदिएका छन् ।
जेनजी सरकारले ओलीको पासपोर्ट रोकेको छ, उपत्यका छाड्न नपाउने गरेको छ । यस निर्णयलाई हाहुको सरकार भनेर ओलीले हाँसो उडाएका छन् ।
एमाले बैठकमा सचिवद्वय गोकर्ण विष्ट र योगेश भट्टराईले राजीनामा मागेका थिए भने अष्टलक्ष्मी शाक्यले नेतृत्व परिवर्तन हुनुपर्ने भनेकी थिइन् । अध्यक्ष ओलीले नयाँ नेतृत्व परिवर्तन खोज्नको सातो खाएको एक सदस्यले बताए । तपाईको सल्लाहमा हामी चलाउँछौं, तपाई अभिभावक बन्नोस् भन्ने आवाज खारेज गर्दै अध्यक्ष ओलीले भनेका थिए– दुई जनाले भन्दैमा मैले किन राजीनामा दिने ? ‘जे गर्नुपर्ने हो, त्यो महाधिवेशनबाट हुन्छ,’ ओलीको ओठे जवाफ थियो– ‘मैले केही कमजोरी गरेको छैन, अहिले छोड्नुपर्नेगरी ।’ त्यसपछि सबै चूप भए ।
भदौ २२ गतेसम्म सरकार बेखबर थियो, शासनमा मदहोस् थियो । २३ र २४ यस्तो आँधीजसरी जेनजी पुस्ता सडकमा निस्किए कि २७ घण्टामा दुई तिहाईको सरकार ढल्यो, सत्तासीनहरू सेनाको सुरक्षामा भागेर लुक्न बाध्य भएका थिए । महिना दिनमै असक्षम नेताहरू जेनजी पुस्ताविरूद्ध उभिन थालेका छन् ।