Advertisement Banner
Advertisement Banner

२४ शुक्रबार, आश्विन २०८२16th June 2025, 6:20:04 am

Image

भदौ २३ र २४ गते फुटेको छिपाको घ्याम्पो

राजन कार्की

२३ बिहिबार , आश्विन २०८२एक दिन अगाडि

भदौ २३ र २४ गते फुटेको छिपाको घ्याम्पो

बहुदलपछिको ३८ वर्ष र लोकतन्त्रको १८ वर्षमा भ्रष्टाचार, व्यभिचार, नेपोटिजम र बेबीइजमको पिलो यसरी पाकेको थियो कि त्यो छिपाको घ्याम्पोजसरी जमेर बसेको थियो । त्यो पिलो भदौ २३ र २४ गतेको जेनजी पुस्ताले निचोरिदिए । पिलो फुट्यो । पिपहरु निस्किए । तर खिल निस्केन । निकाल्न सकिएन । पिलोरुपी भ्रष्टहरु, लोभीपापीहरु पुनः षडयन्त्र थालेका छन्, टाउका उठाएका छन् । जेनजी पुस्ताको नाममा बनेको सुशीला कार्कीको सरकारले पनि तिनै जब्बर भएर टाँसिएका जुका भ्रष्टहरुकै साथमा लागेर यही संविधान, यिनै शासक प्रशासकलाई पुनस्र्थापना गर्न अग्रसर भएको देखिदैछ ।
जेनजी पुस्ताका ७६ जना मारिए, सयौं अंगभंग भए, घाइते छन् । गोली हान्ने जिम्मेवार को हो ? एकजनामाथि पनि कारवाही भएको छैन । लोकतन्त्र भन्ने, मानवाधिकार मान्ने, बालबालिकामाथि, जेनजीपुस्तामाथि गोली हानेर हत्या गर्नेमाथि कारवाहीको सुरुआतसमेत नहुनु दुर्भाग्यजनक छ । यस्तो सरकार जेनजी पुस्ताले बनाएको सरकार कसरी भन्ने, कसरी मान्ने ?
भदौ २३ र २४ को २७ घण्टामै जेनजी पुस्तासँग डराएर अन्ततः साना ठूला नेता, नागरिक समाज, चिन्तक, थिङ्क टेंक, असन्तुष्ट बनेकाहरुले पटक पटकको आन्दोलनबाट डेग नहल्लिएको कुहिएको जाँडको घ्याम्पोजस्तो भइसकेको राजनीतिक छिपाको घ्याम्पो फुट्यो । पिलो फुट्यो, खिल निकाल्न सकिएन । यही खिलले फेरि फेरि दुःख दिने खतरा कायमै छ । देखिदैछ ।
खुशवन्त सिंह प्रसिद्ध राजनीतिज्ञ, बरिष्ठ अधिवक्ता, बरिष्ठ पत्रकार पनि थिए । उनी बिते पनि उनका कथन अहिले पनि उत्तिकै बेजोड छन्, चर्चित छन् । खुशवन्त सिंहले भनेका थिए– राजनीति, वकालत र पत्रकारिता मैले यी तीनवटै पेशा गरें, यी तिनवटै पेशा वेश्यावृत्तिभन्दा पनि खराव छन् ।
खुशवन्त सिंहले भनेका थिए छ– राजनीति घिनलाग्दो खेला हो । वकालत पनि त्यस्तै हो, पैसाको लागि सत्यलाई झूठो र झूठोलाई सत्य सावित गर्ने । त्यस्तै पत्रकारिता पनि बदनाम छ । सत्य विषयलाई घुमाई फिराई लेखेपछि बिचरा विपक्षीको त धुलोपिठो हुनुपर्नुे । कुरा लुकाएर लेखे छापेपछि । राजनीति, वकालत र पत्रकारिता सबै पैसाको खेल, न धर्मको सोच, न न्याय अन्यायको सोच, जेसुकै होस्, स्वार्थ र पैसा नै महत्वपूर्ण भन्ने सोचले यी तीनवटै पेशा वेश्यावृत्तिभन्दा घिनलाग्दो छ ।
खुशवन्त सिंहका अनुसार ९० प्रतिशत वेश्यावृत्ति विवस भएर, गरीवीका कारणले गर्छन्, १० प्रतिशत चाहिं लुटपाट धन्दा चलाउन ।
नेपालमा २०४६ सालमा बहुदल आयो, कालरात्रि बनेर सकियो । जनयुद्ध र जनआन्दोलन भयो, परिवर्तन ल्यायो, लोकतन्त्र आयो । तर लोकतान्त्रिक गणतन्त्रको १८ वर्ष भ्रष्टाचार, अपराध, अन्यायमात्र भयो । फलतः खुशवन्त सिंहको कथन झैं पत्रकारिता, राजनीति र वकालत वेश्यावृत्तिभन्दा पनि घिनलाग्दो हुँदै गयो । यही बिकृति र बिसंगति कुशासन बन्यो, भ्रष्टातन्त्र बन्यो, नेपोटिजम र नेपोबेबीइजमको पिलो बन्यो । छिपाको घ्याम्पोजस्तो भएको थियो ।
छिपा जातिले दिनहुँ प्रयोग गर्ने माटोको घ्याम्पो कहिलेकाहीं फुट्थ्यो । अब बिपत्ति आउने भो भनेर अनौठा अनौठा हल्ला चलाइन्थ्यो । पत्याउनै नसकिने कुरा सुनेपछि छिपाको घ्याम्पो फेरि फुटेछ भन्ने कहावतको इतिहास यही हो ।
जेनजी पुस्ताले २७ घण्टामा बहुदलदेखि लोकतन्त्रसम्मको बिकृति बिसंगतिले नाली बनेको बाँध फुटाइदिन्छ, पार्टीहरु दुलोभित्र भाग्छन् भनेर कसले सोचेको थियो । पत्याउनै नसक्ने परिवर्तन जेनजी पुस्ताले ल्याएकै हुन् । यो परिवर्तनलाई परिवर्तन प्रमाणित गर्ने दायित्व जेनजी पुस्ताकै काँधमा आएको छ । जेनजी पुस्ता बिभाजित पारिदैछ ।
०६३ साल वैशाख ११ गते संसद पुनस्र्थापना भयो, अब नयाँ नेपाल बन्छ भनेर सपना बाँडियो । ०६५ सालमा गणतन्त्र कार्यान्वयन गरियो, अब जनताका छोरा राष्ट्राध्यक्ष हुन पाउने भए, समृद्ध र शान्तिपूर्ण, न्यायपूर्ण र समतामूलक समाजमा बाँच्न पाइने भयो भनियो । ०७२ मा संविधान जारी भयो, ०७४ र ०७९ मा दुईपल्ट आवधिक निर्वाचन भयो । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल, नेपालीका लागि पीडाबाहेक केही हुनसकेन । असफल भयो यो व्यवस्था । गत भदौ २३ र २४ को जेनजी पुस्ताका बालबालिका ७६ जनाको रगत पियो यो असफल व्यवस्थाले । नेताहरुले ।
अर्थात् छिपाको घ्याम्पो फुट्दै गयो, फुट्नेक्रम जारी नै रह्यो । अझै आन्दोलन, अझै बिद्रोहको शंख फुकिदै छ । कति धनजनको चरु होम्नुपर्ने हो ?
राष्ट्रघात र भ्रष्टाचारका अनेक काण्डहरु छन् । अन्तरिम सरकारले ती काण्डबारे फाइल खोल्ने भन्छ, बालबालिकाको हत्या गर्नेलाई पक्राउ गर्न नसक्ने यो परालखुट्टे बन्दै गएको सरकार भुटानी शरणार्थीका नाममा नागरिक बेचेको, बालुवाटारको जग्गाको अनियमितता, वाइडबडीमा महालेखाले देखाएको भ्रष्टाचार, टनका टन सून काण्डदेखि ठगी र कमिशनका काण्डहरुमा कारवाही गर्ने विश्वास निम्छरो बन्दै गएको छ । सम्भाबना न्यून छ ।
सुशासन आउने छ, भ्रष्टाचारीहरू जेल पर्नेछन् भने पनि अपत्यारिला घटनाक्रम चलिरहेकै छन् । उनै भ्रष्टाचारी नेताहरुलाई बचाएर चुनावमा सहभागी बनाउने चलखेल भएको देखिन्छ । लोकतन्त्रमा विधिको शासन हुन्छ भन्ने कहावत अनपत्यारिलो बन्यो, अन्तरिम सरकारले पनि छिपाको घ्याम्पो तैयार गर्न थालेको छ । चुनावलाई सफल बनाउन भ्रष्टाचारमा कसैमाथि पनि कारवाही हुन्न भन्ने वातावरण बन्नु भनेको ७६ जेनजी पुस्ताको रगतमाथिको खेलबाड हो । बेवास्ता हो ।
राजनीतिमा विदेशी चलखेल, पुराना नेताको षडयन्त्रले भदौ २३ र २४ को नवयुवाको त्याग र राष्ट्रिय राजनीतिको स्वामित्व नेपाली हातबाट फुस्किदै र खुस्किदै जाँदो छ । इमान र वीरताले फेरि हार्ने खतरा बढेको छ ।
कांग्रेसको प्रजातन्त्र, माओवादीको सर्वहारावाद, एमालेको बहुदलीय जनवाद, राप्रपाको राष्ट्रवाद, रास्वपा, जसपा, नेकपा स र अनेक पार्टीका अनेक सिद्धान्तहरू असफल भए, नयाँ पुस्ताले आश्चर्यजनक परिवर्तन ल्याए । तर त्यो परिवर्तनले नोज डाइभ गरेको दृश्य दोहोरिन थालेको छ । देखिदैछ ।
१० वर्ष जनयुद्ध चल्यो । १७ हजार मारिए । २०६३ मा जनआन्दोलन भयो, परिवर्तन पनि आयो । परिवर्तनले राजतन्त्रलाई किनारा लगायो मात्र । न सुशासन आयो, न विधिको शासन बस्यो । भ्रष्टाचार र माफियातन्त्रले लोकतन्त्र, गणतन्त्रमा हैकम चलायो । यहीकारण नवयुवा जागेका थिए । नवयुवालाई मार्नेहरु फेरि राजनीतिमा दाइँ गर्न अग्रसर हुनथालेका छन् । २०८२ भदौ २३ र २४ को परिवर्तन घुम्दैफिर्दै रुम्जाटार हुनथालेको विश्लेषण सुरु भइसकेको छ ।
राष्ट्रपति संविधान बचाएँ भन्छन्, दुलापसेका पार्टीका नेताहरु टाउको उठाएर यही संविधानअनुसार चुनाव हुनुपर्छ, पहिले संसद अधिवेशन डाक्नु बेश हुन्छ भनेर कराउन थालेका छन् । लोकतन्त्र गणतन्त्र भन्ने हुन् कि अन्तरिम सरकार होस्, कसैले भारतद्वारा नेपालको ६६ हजार हेक्टरभूमि अतिक्रमण भएको र नेपालका लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्र अतिक्रमण गरेको कुरै उठाउँदैनन् । डराउँछन् ।
हरेक पार्टीलाई खाली सत्ता र शक्तिकोमात्र चिन्ता ? अन्तरिम सरकारले केही गर्छ भन्ने जुन आशा थियो, यिनले पनि पुरानै पार्टीको लाइनमा काम गर्न थालेको आभाष पाइनु दुःखद छ । जनता झुक्याउने, दुखित पार्ने चक्रव्यूह बन्यो पछिल्लो परिवर्तन पनि ।
हाटबजारमा मेला लाग्छ, बजार लाग्छ । जात्रे हुन्छन्, जात्रा देखिन्छ । जेनजी आन्दोलनको परिवर्तनलाई जात्रा बनाइदिए स्वतन्त्र भन्नेहरुले पनि । पुरानाले स्वार्थमात्र हेरे, नयाँले नयाँ गर्न नसक्ने स्थिति विकास हुनथाल्यो ।
नेपाल र नेपालीले सुशासनको आशा गर्दागर्दै फेरि कूशासित हुनुपर्ने भयो । कति सोझा छन् नेपाली, नेतृत्वको नवाबी परिवर्तन कहिल्यै बुझेनौं ।
नागरिकका अनेक पीडा छन् । अन्यायले पारेका घाउ छन्, न्याय नपाएको छटपटी छन् । बेपत्ता र मेलमिलाप आयोगमा दर्ता भएका ६४ हजार उजुरीको चाङ एकातिर, सत्ताले दिएको सास्ती अर्कोतिर । विश्वभरिका अधिकारकर्मीहरू दण्डहीनता अन्त गर भनिरहेका छन्, जन्मकैद पाएका व्यक्तिहरू आममाफी दिएर लोकनेता नामधारीले विश्वलाई नै जिस्क्याइरहेछन् । अदालतलाई पार्टीकरण गरेर आफैले बनाएको संविधानको समेत खिल्ली उडाइरहेका छन् । जेनजी पुस्ताको त्याग र बलिदानको सफलतासमेत हरण हुँदैछ । अर्थात् फेरि छिपाको घ्याम्पो बन्दैछ, शासन प्रशासनमा शुद्धीकरणको साटो भाइरस भरिदैछ । जनताले अर्को बिद्रोह गर्नुपर्ने बाध्यतामा नेपाली पुग्न थालेको हो कि ? भन्ने प्रश्न उठेको छ ।
भारतीय टीभी दुरदर्शनले १९८९ को मार्च महिनामा नेपाली ऋषिकेश शाहलाई ‘फोकस’ कार्यक्रममा बकायो– नेपालले आफ्नो सुरक्षा भारतको हातमा दिनुपर्छ, भारतीय सुरक्षा छाता ओढेर सुरक्षित बस्नुपर्छ । सामाजिक सञ्जाल र अन्तरिम सरकारको दिनचर्या, निर्णय र अभिव्यक्ति सुन्दा लाग्छ, नेपालले छिमेकी वा पश्चिमा कसको छाता ओढेर बाँच्नुपर्ने हो ? वीर पुर्षाले निर्माण गरेको कहिल्यै परतन्त्रमा नपरेको नेपालको अस्तित्व साँच्चै संकटमा परिसकेको अनुभूति हुनथालिसकेको छ ।
सन १७६५–१८६८ सम्मका अन्तिम पाटनका मल्लराजा तेज नरसिंह मल्लले ६ प्रधानलाई अघि सारेर शासन चलाएका थिए । राजा पाटन दरवारमा झुल्थे, ६ प्रधान शासनमा भुल्थे । ६ प्रधानले मन नपरेकालाई षडयन्त्र र चक्रव्युहमा फसाइ फसाइ आँखा निकालेका घटना पनि इतिहासमा बर्णित छन् । डरलाग्दा ती इतिहासका पानामा अङ्कित घटना र वर्तमान नेपाल, त्यो भोग्ने पीडितलाई थाहा छ । आमनागरिक ऐया ऐया भनेर चिच्याइरहेका छन्, सुन्ने कसले ? नेपाल नेताहरु ६ प्रधानजस्ता छन्, यी प्रधानहरुलाई परचक्रीले उठक बैठक गराइरहेका छन् । यी खेलौनाजस्ता छन् ।
मुगल सम्राट अकबरले आफ्नो दरवारमा नवरत्नमार्फत शासन गरेको इतिहास छ । अब्दुल मुवारक प्रधानमन्त्री, राजा तोडल मल अर्थ र वाणिज्य मन्त्री, अव्दुल रहिम खान रक्षा, राजा बीरबल विदेशमन्त्री, मुल्ला दो पियाजो गृह, फैजी शिक्षा, फकिर अजियो दिन धर्म, तानसेन संस्कृति, राजा मानसिंह सेनापति । अकवर र वीरवलका अनेक किस्साहरू अहिले पनि चर्चित छन् । नवरत्नको चर्चा राजनीतिमा ताजै छ । नेपाली राजनीतिमा एकजना पनि सक्कली रत्न देखिदैनन् । सबै शिशा हुन्, जो टल्किन्छन्, छिपाको घ्याम्पो फुटेझैं फुटेर गन्दकी फैलेको पत्तै पाउँदैनन् ।