
कांग्रेस एमालेको गठबन्धन अर्थात शेरबहादुर देउवा र केपी ओलीको गठबन्धन भत्काउनु, ओलीलाई फेर्नुमात्र जेनजी पुस्ताले यति ठूलो आन्दोलन गरेका हुन् त ? आन्दोलनपछि जेनजीपुस्तालाई महको झिंगा पन्छाएझैं पन्छाएर को को, के कसरी सत्तामा पुगे ? तिनको बोली व्यवहार फेरि किन उही पुरानै तरिकाको छ । यति ठूलो आन्दोलनपछिको परिवर्तनमा के के परिवर्तन आयो अथवा आउने सम्भाबना छ ? प्रश्नहरु गम्भीर छन्, जेनजी पुस्ता मौन छ । पुराना भ्रष्ट, राष्ट्र जनघातहिरु बिस्तारै अँध्यारो कोठाबाट टाउको उठाएर जेनजी पुस्ता र बनेको अन्तरिम सरकारलाई धम्कीको भाषामा च्यालेन्ज दिन थालिसकेका छन् । यही संविधान, यिनै नेता, प्रशासन, उस्तै तरिकाले चल्ने हो भने जेनजी किन सहिद भए ? तिनको सराप नलाग्ला ? डढेका सम्पदा राष्ट्रका सम्पत्तिको भार नलाग्ला ?
हो, २०८२ भदौ २३ र २४ को जेनजी आन्दोलनले सत्ता संवैधानिक सत्ता पल्टाएकै हो । संविधान पल्टायो । राष्ट्रपतिदेखि प्रत्येक राजनीतिक नेताहरुको भागाभाग भयो । इतिहासमै नभएको ठूलो, पुरानो र प्रजातान्त्रिक भनिएका कांग्रेस सभापति शेरबहादुर देउवा दम्पत्ति रगतपच्छे भएर कुटिए । सिंहदरवार, सर्वोच्च अदालत, संसद, राष्ट्रपति भवन, प्रधानमन्त्री निवास जलाइयो । लोकतान्त्रिक गणतन्त्रको जरोबुटो केही बाँकी रहेन । आगो, धुवाँ, धुलोमा परिणत भयो ।
जेनजीले जिते । जेनजी विजयी भयो । अब भने नेपालबाट नेपोटिजम, नेपोबेबीइजम, भ्रष्टाचार, अपराधिकरण केही बाँकी रहनेछैन । सुशासनको सुरुआत हुनेछ । समानता र योग्यताको कदर हुनेछ भन्ने आशा पलायो । जब भदौ २७ गते जेनजीले ७३ वर्षकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाए, प्रधानमन्त्रीले मरिसकेको संविधानअनुसार सपथ खाइन्, त्यतिबेलै जेनजी आन्दोलनमा घूसपैठ भएको र जेनजी पुस्तालाई उपयोग गरियो भन्ने आशंका भइसकेको थियो । जब अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिमण्डलमा एकजना पनि जेनजीपुस्तालाई समेटिनन्, राष्ट्रका नाममा संवोधन गर्दा जेनजीले भदौ २३ गते उठाएका सबै माग बिपरित यो सरकारको काम फागुन २१ गते चुनाव गराउने मात्र हो भनिन्, त्यसपछि सबैले विश्वास गरे कि जेनजी पुस्ता सत्ता परिवर्तनको हतियारका रुपमा मात्र प्रयोग भए ।
यो एक महिनाको समयमा जेनजी पुस्ता संगठित हुनसकेनन्, जेनजीहरुलाई धेरै टुक्रामा बिभाजित पारिएको छ । एकथरि जेनजीहरु लोकतन्त्र भनिरहेका छन्, अर्काथरि अभिभावकका रुपमा राजतन्त्र चाहिने रहेछ भन्छन्, सुदन गुरुङ संविधान त चाहिने रहेछ, संविधान फाल्न सकिएन, फाल्दा विदेशीले हस्तक्षेप गर्ने खतरा थियो भनेर हल्का टिप्पणी गर्दै टकटकिन पुगेका छन् । अर्काथरि जेनजी पनि छन्, असोज २३ अर्थात अक्टोबर ९ का दिन अर्को जेनजी आन्दोलन हुनेछ भनिरहेका छन् । अर्का थरि जेनजी पनि छन्, जो भदौ २३ मा कुनै पनि आन्दोलनका कार्यक्रम छैन भनेर प्रष्टिकरण दिइरहेका छन् ।
साह्रै घतलाग्दा, आशलाग्दा जेनजी पुस्ताले अझे आफ्नो विचार, संगठन, सिद्धान्त, लक्ष्य, योजना प्रष्ट पार्न सकेका छैनन् । जेनजीले किन आन्दोलन गरेका थिए, जेनजी पुस्ताको माग के के हुन् ? तिनले आफ्ना माग कसरी पूरा गर्ने चाहना राखेका छन् ? स्वेतपत्र जारी गरेका छैनन् । लाग्छ जेनजी पुस्ता बुढोपुस्तालाई परास्त गरेको महिनादिनमा पनि अन्यौलमै छन् । नयाँ पुस्ता अन्यौलमा हुनु, पुरानो पुस्ता र पुरानै ढर्राले शासनसत्ता चल्नु र भदौ २३, २४ को आगजनी, हिंसाको जिम्मेवार जेनजी पुस्ता नै हो भनेर धमाधम पक्राउ गरेर यातना दिन थाल्नुले जेनजी पुस्तालाई षडयन्त्रकारीहरुले उपयोग गर्ने दुस्साहस गरे भन्ने प्रष्ट छ ।
यतिबेला चर्चा छ, बारबरा फाउण्डेशन, समता फाउण्डेसन, मेयर बालेन साहहरुको । यिनीहरुले जेनजी पुस्तालाई उपयोग गरेको भनिदैछ । के हो वास्तविकता ? जेनजी पुस्ता भनेको देशको भविष्य हो । भविष्य अन्धकार हुनुहुन्न, जेनजी पुस्ता बोल्नैपर्छ, जेनजी पुस्ताले केपी ओली फरियो, शासन सत्ताको ढर्रा फेरिएन किन ? भन्ने कुराको प्रष्टिकरण दिनैपर्छ । ७६ भन्दा बढी नवयुवाको हत्या, सयौंको अंगभंग, घायल अवस्थाप्रति न्याय गर्नैपर्छ । अन्याय भयो भनेर जेनजी पुस्ता उठेका हुन्, आमनागरिकले जेनजी पुस्तालाई साथ र सहयोग दिएकै हुन्, जेनजी पुस्ताले हाइज्याक भएको सत्ता खोसेर युवा सक्षम छन् भनी देखाउनै पर्ने बाध्यकारी स्थिति छ । दुर्गा प्रसाईदेखि राप्रपासम्म, प्रभु साहदेखि पुराना पार्टीहरुले पनि छठपछि आन्दोलन गर्ने भनिसकेका छन् । अर्थात् अराजकता बढ्दो छ । चुनाव हुनसकेन भने के हुन्छ ? यही अन्तरिम सरकारको निरन्तरता हुनछ कि संसद पुनस्र्थापना हुन्छ ? सेनाले सबै पृतनापतिसँग छलफल गरिसकेको छ कि स्थिति बिग्रन सक्छ । सेनाको सचेतनाले पनि प्रष्ट पार्छ कि अराजकता बढ्न सक्छ । अहिले नै देशका विभिन्न भागमा लुटमार चलिसकेको छ । आन्दोलनले छरपस्ट बनेको कानुनव्यवस्था स्थिर हुनसकेको छैन, अर्थात् चुनाव हुन सकेन भने इमरजेन्सी लाग्नसक्छ । जेनजी पुस्ता विवेकशील छ । राजनीतिमा दख्खल नहुँदा आफूले हाँक्नुपर्ने सत्तामा पुनः षडयन्त्रकारीहरुले हस्तक्षेप गर्न पुगे । यसरी जेनजीपुस्ताले देशलाई खरानी बनेको हेरेर बस्ने होइन, सत्ता र प्रशासन हातमा लिएर पुननिर्माण गर्न सक्छौं भन्ने सन्देश दिन अबेर गर्नुहुन्न ।