उपेन्द्र प्रेमी- शक्ति सञ्चिति र शक्तिको ज्यादति राजनीति होइन भनेर रणनिितक, सशस्त्र एवम् बहादुरको राजनीति गर्नेहरु अन्ततः एक दशकाव्दिकै चरणमा नांगेझार भएका छन्। न बहुदलले विवेक गर्यो, न संसदले सही गर्यो, न त प्रजातान्त्रिक प्रणाली नै प्रभावकारी सिद्ध भयो भनेर त्यसको विकल्पको बहानाबाजी गर्दै क्रान्तिकारी, समाजवादी, जनवादी, लोकतान्त्रिक वा गणतान्त्रिक राज्यव्यवस्था हेतु राजनीति भनेर अघि सरेकाहरु तथा तिनीहरुकै हाइ हुर्रेमा हुर्रिएर त्यसैमा हाँ मा हाँ मिलाएकाहरु सबै सबै नै अहिले स्वयं बिलखबन्दमा छन्।
अहिले न कांग्रेस, कांग्रेेसको ठाउँमा छ, न त एमाले आफ्नो अभीष्ट उपर अडीग छ। अहिले माओवादीहरु भाँडामा छन्, न भुइँमा। अनि अहिले पूर्वपञ्चहरुको दल आफ्नो स्वत्वमा छ, न त मधेसकेन्द्रित दलहरु नै आफ्नो अस्तित्वमा। हिजोका राजा आज छैनन्। हिजोका राजावादीहरु अहिले कुनै ठर ठेगानमा छैनन् अनि संघीय संरचना, निरपेक्ष धर्म, एकात्मक बंशीय राज्य प्रणाली विरुद्धको पक्षमा तमाम पक्षधरहरु पनि अहिले आफ्नो त्यो प्राक्आदर्शबाट च्यूत हुँदै भात खाउँ कि थाल खाउँको मनस्थितिमा अन्यमनस्क छन्।
राजनीतिको पाटोमा मात्र हैन, राष्ट्र राज्य समाज र त्यसभित्रका सबै अंग प्रत्यंग पनि अहिले आफ्नो आंगिक आदर्शभित्र एवं स्वच्छ निश्पक्ष आचारणभित्र छैनन्। शिक्षा, सेना, न्याय, स्वास्थ्य, प्रशासन, प्रहरीदेखि यावत् विधि प्रविधिसम्मका सबै क्षेत्र अहिले समयावधिक आशक्ति छुट्टाछुट्टै खालको विश्रृंखलित बृत्ति र आफुखुसी मनलाग्दीको स्थितिमा छन्। कतै कुनै श्रृंखला, निरन्तरता, मान्यता र स्वच्छ शिष्ट एवं सारपूर्ण शास्वतता छैन। राजनीतिको भाँडभैलोसँगै सवैतिर बिटुलिएको बिग्रिएका र बाउँडिएको अवस्था विद्यमान छ अहिले।
बिगार्नु सजिलो छ बिनष्ट पार्नु गाह्रो छैन तर जे बदलेर जे जे बनाउँछु भनिएको हो, त्यसको परिपञ्च मिलाउनु गाह्रो हुन्छ। अहिले टड्कारो त्यही कुरा यत्रतत्र सर्वत्र देखिएको छ। बदलका लागि बदलियो, बिगार्नका निम्ति बिकार बिग्रह र बेकार व्यर्थका कुरा धेरै गरियो तर विनाशपछि उत्पादन गर्ने र विध्वंसपछि सृजना गर्ने कुरामा सबैतिर अर्थहीन अभ्यास, अनिष्ट, अन्योल र अडङ्ग मौलायो, न त्यो रह्यो, न त्यो भयो। के भयो भयो, अनर्थ अस्पष्ट अमूर्त अनौठो अनौठो विरुप परिदृश्य पो देखिदै गयो। अव के गर्ने? यता छोप्ने कि उता टाल्ने, यता सिउने कि उता स्यूरने? सबैतिर अहिले मारामार, माचामाचको अवस्था छ। यता टाल्यो उता उध्रन्छ, उता छोप्यो यता उघ्रन्छ। जनमुखी सर्वहारावादी श्रम सिर्जनाशील र जनगण मुताविक शासन विधिका नारा भाका र वाचा जब एक एक गर्दै फिका फिका तथा पानीका फोका फोका हुँदै गए, तव गणतान्त्रिक संघीय नवनेपालका नायकहरु पनि एकपछि अर्को गर्दै नक्कली नापतौलमा झल्किदै गए।
०६३ देखि ०७३ सम्मको विगत एक दशक बेकारमा वित्यो। यो कुरा स्वीकार गरेर पनि व्यतित यो उप्रान्तको दशकलाई कति अझै उपलव्धिमूलक भनी दावा गर्दछन्। तिनका दृष्टिको त्यो उपलव्धि नाम रुप आकारमा मात्र केन्द्रित छ। राजाका ठाउँमा राष्ट्रपति, नेपालका ठाउँमा नयाँ नेपाल, क्षेत्रका स्थानमा प्रदेश, गाविसलाई गापा र जिल्लालाई अर्को कुनै किल्लामा राख्नु नै आखिर हो के उपलव्धि? उपलव्धि त सारमा सुरमा प्राप्ति र परिणतिमा तथा आम समुन्नति एवम् सन्तुष्टिमा पो झल्किनुपर्ने। त्यसैले जता जाउँ, जता जे जे बुझौं देखौं हेरौं सबैतिर अहिले सुनिने आम आवाजै हो– जुन जोगी आए पनि कानै चिरेका।
राजनीति सेवाको साधन, सानको माध्यम र उत्थानको आधार हो भन्नेहरु जब त्यसमा स्थिर रहेनन् तव यो प्रकारको बेभरको अवस्था आयो। नवागत् राजनीतिक लहर जब पुरानो भन्दा फरक कुनै नवप्रहर हुनसकेन तव राजनीति गर्नेहरु अव के गरी नयाँ हुने र कसरी नवनीत तानाबानामा तन्किने भन्ने तालसुरमा देखिन्छन् अहिले। तर जति नै तारतन्तु जोडेर जति नै वायुपंखी र मयुरपंखी हुन खोजे पनि नेपाली जनताले छर्लङ्ग बुझिसके– सबै सबैको राजनीति अन्ततः शक्तिको आशक्ति नै रहेछ।
शक्तिमा स्वयं आउने, स्वयम् शक्तिशाली बन्ने र सबैलाई आफ्नो भक्ति भावमा भावातीत बनाएर खेल नै जब राजनीति र राज्यशक्ति हुन्छ तव त्यहाँ निष्ठा निरन्तरता सेवा सहृदयता तथा आम मान्यताको लोकतान्त्रिकता, गणवादिता तथा संंघीयता एवं संस्थागत सुव्यवस्था कसरी कायम हुनसक्दछ? आदत बानी, बन्दोवस्त र वृत्ति जब पुरानै आशक्तितर्फ प्रवृत्त छ, तव त्यसबाट नयाँ प्रकारको प्रवन्ध प्राप्ति र परिपूर्ति कसरी सम्भव हुन्छ? शक्तिको आशक्ति लिएर राजनीति गर्ने अनि राज्यशक्तिको प्राप्तिपछि केवल आफु र आफ्नाहरुको हित साध्य गतिविधि मात्र गर्ने प्रवृत्तिले जनतालाई आखिर कतिञ्जेल छलछाम गर्ने? सनातनको राजनिित र राज्यशक्ति अँगाल्ने अनि त्यसका आडमा आवरणमा मात्र लोकहितकारी तन्त्र र समुहको शासन विधान भनी टोपल्ने यो खालको टालटुले टलकबाजी आखिर कतिञ्जेल अटल भएर रहिरहन सक्छ? विद्यमान राजनीति र राज्य स्थितिको शक्ति आशक्तिको यो स्थितिले यिनै यस्तै सोचनीय विषय अघि सार्दै ल्याएको छ। त्यसैले सनातनी राजसंस्था, सनातनी हिन्दुत्व, सनातनी स्वत्व अस्तित्व र स्वार्थगत आशक्तिरहित जनकेन्द्रित विधि व्यवस्थातर्फ नेपाली मन मथिंगल पुनः प्रवृत्त हुँदै गएको छ र त्यसको पुनप्राप्ति र त्यहीशक्ति सञ्चिति तर्फ नयाँ गति फेरि अघि बढ्न लागेको अनुभुति भएको छ। यस्तै यस्तै जनअनुभूतिलाई बहन गर्ने, केही टाठाबाठा नेताहरु तथापि जनतालाई अझै केही समय झुक्याएराख्न नयाँ शक्तिको राजनीति संस्थागत गणतान्त्रिक स्थिति र उत्कृष्ट संविधानको उच्चतम कार्यान्वितिको नयाँ नारा, नयाँ नेतृत्व र नयाँ बन्दोवस्तको चारा जनता जनार्दनका अघिल्तिर छर्न थालेका छन् तर शक्तिको आशक्तिमा उत्पन्न त्यस्तो मूल मान्य आस्थ्ाा बिनाको असंस्थागत संस्थापनले के नै लछारपाटो लगाउला? यता उता जहाँ तहाँ प्रश्नै प्रश्न छ– कतै कुनै आशा भरोसा र विश्वासको दृश्य देखिन्न।


