
सन २०१५ मा भारत र चीनले नेपालको लिपुलेकबाट व्यापार गर्न सहमति गरेका थिए, नेपालले असन्तुष्टि जनायो, चीन, भारतले वास्ता गरेनन् ।
सन २०२५ अर्थात भर्खर चीन र भारतका परराष्ट्रमन्त्रीले नेपालको लिपुलेकसहित सिप्क र नाथुला नाकाबाट व्यापार र आवागमन सहज बनाउने सहमति गरेका छन् । नेपालको लिपुलेकका सम्बन्धमा भारतले आफ्नो दावी गरेको छ । नेपालकै हो भनेर नागरिक, संसदमा समेत एकमत देखिएको छ र यो विषयमा नेपाल सरकारले भारत र चीनलाई कूटनीतिक नोट पठाएको छ ।
स्मरणीय छ, यसअघि नेपालले ४ पल्ट कूटनीतिक नोट पठाएको थियोर्, भारतले कुनै जवाफ नै दिएको छैन, यसपल्ट पनि नेपालले विरोध त ग¥यो, भारतले जवाफ दिन्छ भन्न सकिन्न ।
यसको अर्थ एउटै हुन्छ, नेपालको कूटनीतिक क्षमतामा ह्रास आएको छ । नेपालले न त अन्तर्राष्ट्रिय मञ्चहरुमा लविङ गरेर यो मुद्दा उठाउन सक्छ, न त अन्तर्राष्ट्रिय अदालत नै जान सक्छ । लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्र नेपालका हुन्, प्रमाण नेपालसँग छ तर यसको हकभोग भारतले गर्दै आएको छ । नेपाली भूमिमा भारतीय दादागिरी, लूटलाई नेपालले रोक्नसक्ने क्षमता नेपालसँग देखिएको छैन ।
सम्पूर्ण नेपाली एक छन्, राजनीतिक पार्टीहरु पनि एक छन् । संविधानमा ती क्षेत्र समेटिएका छन् । तर हकभोग भारतको छ । नेपालको सार्वभौमिकतामाथिको यो ठाडो हस्तक्षेपलाई रोक्ने कसरी, विशेष प्रस्ताव लगेर संसदमा छलफल गर्नुपर्छ, अस्तित्वरक्षाका लागि सबै एक भएर जुट्नुपर्छ । अन्यथा नेपाल यसैगरी मैनबत्ती पग्लेजसरी समाप्त हुनबेर छैन । सबैमा हेक्का रहोस् ।
अर्को हप्ता चीनको एससीओ बैठकमा नेपालका प्रधानमन्त्री सहभागी हुनेछन् । त्यो बैठकमा भारतका प्रधानमन्त्री र चीनका राष्ट्रपति सी चिनफिङको समेत सहभागिता हुनेछ । त्यो बैठकको साइडलाइनमा नेपालले आफ्नो सीमा मिचिएको र आफ्नो सीमाका विषयमा कुरा उठाउन सक्नेछ । यसका लागि नेपालका राजनीतिक दलहरुले एकताको शक्ति दिएका छन् । लोकतन्त्र आएपछि संसदमा कांग्रेस कम्युनिष्टहरुको हालीमुहाली चल्यो । चलिरहेको छ । तर नेपालको सम्मान, इज्जत खस्कदै गएको छ ।
कांग्रेस, कम्युनिष्ट दुबैथरिले आफ्नै देशका वीरहरु, राष्ट्रनिर्मातालाई शिरमा राख्न सकेनन् । यिनका आदरणीय महात्मा गान्धी, माओ, माक्र्स, लेनिनका फोटोबाट उर्जा हासिल गर्छौं भन्नेहरु पुँजीवादी राजनीतिक अपराधिकरणको तमासा देखाइरहेका छन् । यथार्थमा नेपालमा समाजवादी र सर्वहारावादी नै छैनन्, जो छन् अवसरवादीमात्र छन् भन्ने विश्लेषण पनि भइरहेको छ । तथापि भुइँमान्छे र सर्वहाराको चर्का नारा लगाएर भ्रमित पार्ने र सत्तामा राजकाज चलाइरहने मुखण्डोधारीहरु आफ्नो स्वार्थन्धताको लक्ष्यमा सफल छन् ।
यिनलाई आफ्नो चिन्ता छ, पुस्ताको चिन्ता छैन । यिनलाई स्वार्थको चिन्ता छ, देशको चिन्ता छैन । स्याल आयो, स्याल आयो भनेर चिच्याउने र मौका पाउनासाथ जनताको हक चोर्ने यिनको आदत बनिसकेको छ । मेक्सिम गोर्कीले आमाको महत्व लेखे । नेपाली कांग्रेस र कम्युनिष्टहरुले नेपाल आमालाई बेचिरहेका छन्, अपमानित गरिरहेका छन् । यसकारण, प्रश्न यत्ति छ, यो लोकतन्त्रमा छट्टु चटक, तमासा कहिलेसम्म ?
कवाडी पसलमा काम गर्न पुगेका मेक्सिम गोर्कीले पढ्न पाएनन् । कवाडीमा बिक्री भएर आएका पुस्तक पढ्थे र ग्राहकसँग पुस्तकका विषयमा सोध्थे । तिनै मेक्सिम गोर्कीले आमा पुस्तक लेखे । जुन पुस्तक १९०६ मा प्रकाशित भएको थियो, आज १ सय १५ वर्षपछि पनि त्यो पुस्तकको गरिमा र महिमा कम भएको छैन । कम्युनिष्टहरु गोर्कीलाई आदर्श मान्छन् । नेपाली कांग्रेस र कम्युनिष्टहरु सत्ता, शक्ति र सम्पत्तिलाई महत्व दिएर झिङ्गा बनिरहेका छन् । लोकतन्त्र कम्युनिष्टको चङ्खपन र समाजवाद भन्नेहरुको त्यही चङ्खपनमा लठ्ठिदा नासवान बन्दैछ ।
समाजवाद, प्रजातन्त्र, सर्वहाराको न्यायका लागि, राष्ट्राधिकारकालागि जनयुद्ध धर्मयुद्ध भनियो । १७ हजारको बली चढाइयो । बरदान लिए प्रचण्ड ग्याङ्ले । लाभ पायो कांग्रेसजनले । प्रचण्ड तेजवान सूर्यजस्ता थिए, १८ वर्ष राजनीतिको किङपिन बने, १२ वर्ष सत्तामा साझेदार भएर अहिले निस्तेज बन्न पुगेका छन् । अहिले भन्न थालेका छन्– राजनीति छोडुँ छोडुँ लाग्छ, छोड्दा सबै सखाप हुने चिन्ता छ । अर्थात् नेपालको लोकतान्त्रिक गणतन्त्रको मूल थाम मै हुँ भन्छन् प्रचण्ड । यो कुरा कसैले पत्याएका छैनन् । विश्लेषक भन्छन्– हुटीट्याउँले आकाश थामेको गफ हो यो ।
परिवर्तनपछि झन झन लुटिएका नागरिक दुखित छन्, मूल्य चुकाइरहेका छन् । देश संकटमा परिसक्यो, देश अतिक्रमणमा परिसक्यो । भूराजनीतिको भूमरीमा यिनैले फसाए, कसरी निस्कने अन्यौलता बढेको छ । कांग्रेस नाममात्रको प्रजातन्त्रवादी, कांगे्रसको प्रजातन्त्रको बिडा उठाएको दावीमा दम देखिन छाडेको छ । एमाले नाममात्रको कम्युनिष्ट, गोलीजस्ता ओली, राष्ट्रवादमा टेकेर निकै अग्लिए । लिपुलेक मिचिएपछि फेरि उनको अग्नि परीक्षा सुरु भएको छ । त्यसो त ओलीप्रति उनकै पार्टीभित्र अपमान भइरहेको छ, सडकमा बिरोध छ । उनलाई प्रतिषोधकारीको दाग लागेको छ । यसकारण सत्तामा बाँचेको एमाले जनताको घृणामा मरिरहेको छ । लोकतन्त्रको गद्दीमा बसेर सनकमा, स्वार्थमा, प्रतिषोधमा चलाएको शासन कति दिन चल्ला ?
लोकतन्त्रको यस्तो मृत्युमा कांग्रेस मलामी गइरहेको छ । सवाल नयाँ नेपाल बनाउँछु भन्ने कांग्रेस, कम्युनिष्टको छ, जसले देश र जनतालाई धोका दिए । जनयुद्ध र जनआन्दोलन छलकारा थियो, प्रचण्ड, ओलीहरु त हलकारामात्र रहेछन् । जतिसुकै सर्वहाराको भाषण गरे पनि, बोल्सेविक क्रान्तिको डिङ हाँके पनि २०६३, २०६५ को जनआन्दोलन र गणतन्त्र घोषणा धर्मयुद्ध थिएन । १९०३ को कोतपर्व र यो परिवर्तनमा कुनै भिन्नता थिएन । यी आफै श्री ६ बने, मनपर्दी शासन चलाए । २०६३ को परिवर्तन र २०६५ को गणतन्त्र पनि देश र जनताका लागि होइन रहेछ भन्ने प्रमाणित भइसक्यो । कांग्रेस भ्रष्टाचारमा डुब्दा, नीति, विधि र चरित्रहीन बन्दा लोकतन्त्र सराप बन्नपुगेको छ ।
समाज बदल्ने धर्मयुद्ध लड्न अर्कै आँट, अर्कै हौसला, माटोप्रतिको मायाँ र देशप्रतिको गौरव चाहिन्छ । ठूलै छाती, ठूलै त्याग, बलिदान हुने जोश र तातो मुटु चाहिन्छ । आजका हाम्रा नेताहरुमा स्वार्थमात्र छ । स्वार्थीहरु कायर हुन्छन्, कायरहरु पल पल मर्छन् र मरेपछि कलंक बन्छन् । जनयुद्ध र जनआन्दोलनको आगोमा खारिएर निस्केका नेताहरु त देशका, जनताका गहना हुनुपर्ने हो, फलामको सुइरो बनेर घोचिरहेका छन् । जसले हरेक क्षण देश र जनताको घाँटी रेटिरहेको छ । धर्म राजनीतिमा पनि हुन्छ । प्रतिबद्धता र सिद्धान्त हुन्छ, सिद्धान्तप्रति निष्ठा हुन्छ । हाम्रा नेता त राजनीतिलाई व्यापार बनाएर पार्टीको हाटबजारको पसल बनाइरहेका छन् । यसैले त राजनीतिमा लाग्नेहरु दिनदिनै धनी भइरहेका छन्, सर्वहारा र गरीवहरु झन झन पीडावोध गरिरहेका छन् । देश लुटिने क्रम तीब्र छ ।
इतिहासका अनुसार राष्ट्रिय स्वाभिमानका लागि केजर बिलियम्सको जस्तो धर्मयुद्ध लड्ने ताकत चटके र उखानेहरुमा हुन्न, नेपाली राजनीति यही महारोगबाट ग्रस्त छ । कूशासनको पहिलो कारण निष्ठा र नैतिकहीनता हो । इमान नभएकाले भ्रष्टाचार बढेर गएको छ । भ्रष्टाचार भनेको मृत्यु हो, समृद्ध नेपाल र सुखी नेपालीको रामनाम जपेर मृत्युबाट पार पाउन सकिन्न । ओखती इमान हो, इमानको खोज भएन । परिवर्तनकारी नेतृत्व हरेक दिन राजनीतिक मृत्यु मरिरहेको छ । वर्तमान नेपाल लोकतन्त्र नामको मृत्यु मरिरहेको छ ।
राजनीतिकै कारण चोरलाई चौतारो, साधुलाई सुली भइरहेछ । लोकतन्त्रमा देखिएको दृश्य, भोगिएको भोगाइ हो । कानुन छ काम गर्दैन्, संविधान छ समाधान छैन । शासन छ शास्ती छ, प्रशासन छ अनियमितताको दलदलमा फसेको छ । राजनीति छ व्यापार गरिरहेछ । नीति छ नैतिकता छैन । नेपाली हुँ भन्ने गौरव कुनै नेतामा देखिन्न । लोकतन्त्रमा नेतातन्त्र चलिरहेको छ ।
जनजीवनमा लोकतन्त्र छैन । लोकमा लोकतन्त्र जिन्दावाद छैन । लोक नदेखिने लोकतन्त्र लखनौंको भुलभुलैयाजस्तो बनेको छ । देश दुःखेको, जनता बेसहारा भएको, अभिभावकहीनताप्रति चिन्ता छ । चिन्ता गर्नेहरु सडकमा छन् । बिद्रोह भइरहेको छ । लुटेराहरु बिद्रोहीमाथि राज्यशक्तिले दमन गरिरहेको छ । दमनतन्त्र चर्केको छ ।
राष्ट्रनिर्माताका सन्तान भन्छन्– ‘सिंगो नेपाल राष्ट्रका निर्माणकर्ता बडामहाराजाधिराज पृथ्वीनारायण शाहको वंशवृक्ष, प्रजातन्त्रदाता श्री ५ त्रिभुवनको पौत्र र नेपाली राष्ट्रवादका पृष्ठपोषक राजा महेन्द्रको मध्यम पुत्र एवं विकास चिन्तक राजा वीरेन्द्रका भ्राताका रुपमा हाम्रो मातृभूमि नेपालमा म पैदा भएँ । सदा शान्त, सौम्य, सुन्दर यो गौरवशाली स्वाधीन नेपाल राष्ट्रमा जन्मन पाएको, यहाँकै माटोमा हुर्कन पाएको र यहीँको धर्तीको सेवामा जुट्न रम्न पाएकोमा म आफूलाई भाग्यशाली ठान्दछु । म नेपालको भक्त हुँ । देशभक्ति मेरो रक्त कण कणमा प्रवाहित छ । ...भूकम्प...बाढी पैह्रोको प्रकोपले धेरै जनधनको क्षति भएकोमा मलाई दुःखी तुल्याएको छ ।’ देशको चिन्ता गर्ने राजालाई जेल हाल्नुपर्छ भन्ने कुरा गर्छन् । देश लथालिङ्ग हुँदै गएको र जनता बिल्लिबाठमा परेको बेलामा केही गर्न नसक्ने, प्रतिषोधको बोली बोल्दा अस्थिरता झन बढेर जाँदो छ । राजनीतिक स्थिरता, शान्ति र समृद्धि सपना बन्यो ।
जनताले तिरेको करको दुरुपयोग भइरहेको छ । जनताको काँधमा ७ सय ६१ सरकार चलाउने र तिनका कार्यकर्ता पाल्नुपर्ने जिम्मेवारी छ । राष्ट्रको जिम्मेवारी बोकेका राजनीतिक बर्गहरु कर्तव्यच्यूत भइरहेका छन् । राष्ट्रको भण्डारे बनेका राजनीति र प्रशासनका नाइकेहरु सेटिङ गर्दै राष्ट्रिय ढुकुटी लुटिरहेका छन् । जनताप्रतिको सामान्य कर्तव्यसमेत यिनले पालना गरिरहेका छैनन् । जनताको आक्राश व्यवस्था बदलिने, अवस्था नबदलिने किन ? यसको जवाफ नेतृत्व दिनसक्दैन । गफ हाँकेर लोकतन्त्रे नामधारी नेताहरु लोकलाई डसिरहेका छन् ।
यसकारण लोकतान्त्रिक गणतन्त्रमा नेपाल झन बिकराल समस्याले जेलिन थालेको छ । राष्ट्रको अस्तित्वको संकटमा फस्न पुगेको छ ।
राजा जनता बने, नेताहरु बादशाह । राजा जनतामा अनुवाद भए, जो परिवर्तन लिएर आए, उनीहरु परिवर्तित हुनसकेनन् । राजनीति र राजनीतिक नेताले विवेक गुमाए । विवेक हराएपछि कूशासनमात्र हुन्छ । मुलुकी बन्दोबस्त बिग्रेको छ । बिगार्ने नेताहरु लोकतन्त्रको डम्फु बजाइरहेछन् ।
लोकतान्त्रिक गणतन्त्र नेताहरुका लागि नङ्गा नाचे हजार दाउ बन्यो ।