Advertisement Banner
Advertisement Banner

१३ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

Image

भैंसीको आहाल बस्ने पोखरीजस्तो लोकतन्त्र

राजन कार्की

०६ शुक्रबार , भाद्र २०८२७ दिन अगाडि

भैंसीको आहाल बस्ने पोखरीजस्तो लोकतन्त्र

लोकतन्त्र लोकतन्त्रजस्तो छैन । लोकतन्त्र भैंसी आहाल बस्ने फोहर पोखरीजस्तो देखियो । यसको चिन्ता र चासो कुनै नेतामा देखिदैन ।
१८ वर्ष भइसक्यो, केही गर्न सकिएन भन्ने चिन्ता पनि कसैमा छैन । हरेकलाई सत्ता चाहिएको छ, सम्पत्ति र शक्तिशाली हुनुछ । आफन्तलाई पोस्नु छ । दण्ड, पुरस्कार, योग्यताका कदर गर्नुपर्छ भन्ने पनि कसैलाई लागेको छैन । राजनीति भनेको सकेको बेलामा आफ्नै, आफन्तका लागि गर्ने हो भन्ने नियति देखियो । यही नियतिका कारण समृद्ध बन्नुपर्ने देश असफल बन्दै गएको छ ।
हो, नेता सफल छन् । चुनाव भएको छ, जनताले मत खसालेका छन् । जित्ने यिनै हुन्, जितिरहेका छन् । चुनाव जित्नुमात्र राजनीति हो त ? चुनाव हुनु र जित्नुमात्र लोकतान्त्रिक गणतन्त्र हो त ? न लोकतन्त्र, न गणतन्त्रमा देखिनुपर्ने कुनै विशेषता देखिन्छ, न लोकलज्जाले कसैलाई छोएको छ ।
यो पद्धति त नाङ्गा नाचे हजार दाउजस्तोमात्र हुनपुगेको छ । 
देशमा समृद्धि र सुशासन, समृद्ध नेपाल सुखी नेपालीजस्ता लोकप्रिय नारा लगाउँदै केपी ओली सरकार शासनमा छ । केपी ओलीको उछित्तो काढ्दै छन् माओवादीसहितको प्रतिपक्षीहरू । कर्मचारीतन्त्र राजनीतिज्ञहरूसँगको मिलेमतोमा भ्रष्टाचारको आशनमा छ । कानुन व्यवस्था लथालिङ्ग छ । प्रधानमन्त्री नै न्यायाधीश भागबण्डामा नियुक्त भएका छन् भनेर अभिव्यक्ति दिन्छन् । राज्यव्यवस्था समितिमा कुन प्रस्ताव पास भयो, प्रस्तावमा के लेखियो ? भन्नेसम्मको हेक्का हुँदैन, संसदमा समेत पारित हुन्छ । यस्तो अचेत, अव्यवस्था पनि संघीय संसद हुन्छ र ? तर नेपालमा यस्तै अचेतहरूको भीड छ संसदमा । त्यसै बृद्ध सांसद चित्रबहादुर केसीले भनेका होइनन्, संसद भेडाहरूको बथान राख्ने भेडीगोठजस्तो भयो ।
यदि त्यो प्रस्तावमा नेपाल अर्कै मुलुकको अधीनमा बस्न तैयार छौं भनेर लेखिएको भए पनि पास हुनेरहेछ । योभन्दा ठूलो राजनीतिक नैतिकताको संकट के हुनसक्छ ? तैपनि शासक, प्रशासक, सांसदहरू लोकतान्त्रिक गणतन्त्र भनेर घोक्रो सुकाई सुकाई कराइरहेछन् । नेपाल, काशी काश्मिर अजब नेपाल भनेको यही हो ।
वास्तवमा नेपाल पशुपतिनाथको कृपाले चलेको छ । यहाँ कुनै पद्धति, कुनै नेता स्थापित छैन । देखाउनलाई टिनको साइनबोर्डमा लोकतान्त्रिक गणतन्त्र लेखेरमात्र के गर्नु ? पद्धतिअनुसारको चरित्र स्यालको सिङ देखिएला बरू देखिदैन ।
लोकतन्त्र चल्ने चरीत्रले हो । लोकतन्त्रमा लोकलज्जा हुनैपर्छ । बेलायतमा संविधान छैन तर नियत, चरीत्र छ र गल्तीको आलोचना हुनेबित्तिकै सुधार हुन्छ । नेताहरू चरीत्रहीन हुने भयले हरदम सतर्क रहने गर्छन् ।
जापान अथवा कोरियामा पनि चरीत्रको महत्व सर्वाधिक छ । यसकारण त आफ्नो भ्रष्टाचारको खुलासा र आलोचना भयो भने समाजको डरले उनीहरू हाराकिरी गर्छन् । तव देश बन्छ । 
चरीत्र सुध्रिन नसकेर विवेकहीन बन्दै गएका नेता, नागरिक समाज, बौद्धिक बर्ग, शासक र प्रशासकका कारण यो सरकार विधिबिहीन, अपराधमुखी र भ्रष्टाचारको फोहर पोखरीमा आहाल बस्ने भैंसी संस्कृतिको विकास भएको छ ।
यस्तो पनि लोकतान्त्रिक गणतन्त्र हुन्छ ? जुन तन्त्रमा न लोक छन्, न गण । जे छ, भ्रष्टाचार, अनैतिकता, अनियमितता, सिद्धान्तहीनतामात्र छ ।
यथार्थमा राज्यकोषमा ब्रम्हलूट चलेको छ । लूटको धन फुपुको श्राद्ध भइरहेको छ ।  यसकारण भन्न सकिन्छ, एच जी वेल्सले लेखेको द वल्र्ड सेट फ्री नामक पुस्तकमा परमाणु बमको नाम उल्लेख गरेका थिए, त्यही नामबाटपछि खतरनाक परमाणु बम निर्माण गरियो । नेपालका सन्दर्भमा लोकतान्त्रिक गणतन्त्र नेपाल सिध्याउने बमतन्त्र हो । 
नेपालमा बहुदल, लोकतन्त्र नामक ऐतिहासिक आन्दोलन भए, तर आन्दोलनबाट प्राप्त परिवर्तनलाई नेताहरूले यतिबिघ्न घृणायोग्य बनाइदिए कि नेपाल असफल मुलुक हुने खतरा उत्पन्न भएको छ । यही गति रहने हो भने नेपालमा धार्मिक बिद्रोह, राजनीतिक अराजकता, विद्रोह र बिध्वंशको डढेलो नलाग्ला भन्न सकिन्न ।
धर्मनिरपेक्ष भन्छन्, नेताहरू इसुको झोल पिउन प्रतिस्पर्धा गर्छन् । धार्मिक कार्यक्रममा पुगेर धर्मको प्रवचन दिन्छन् । यिनै नेता सत्ता, शक्ति, प्रभावको दुरूपयोग गरेर राजनीतिक धर्म नष्ट गर्न पछि पर्दैनन् । देशलाई यसरी झुकाउने, बर्बाद गर्ने अधिकार यी नेताकणलाई कति जनबल, जनमतले दिएको छ र ? तर यिनीहरू निर्णायक मै हुँ भनेर उफ्रिरहेकै छन् । जनअधिकार, मानवाधिकार, नैतिकलाई कुल्चिरहेकै छन् । आफूलाई परिवर्तनका बाहकहरू सम्झनेहरू आफै भ्रष्टाचार र देशघातक हतियार प्रमाणित हुनपुगेका छन् ।
फिजीले गर्न नदिएको इसाईको धर्मप्रचार कार्यक्रम नेपालमा हुनु र कार्यक्रमको आयोजक नेपाल सरकार रहनुले नै ओली इसाईकरणका पक्षधर हुन् भन्ने प्रष्ट हुन्छ । सिक्किमभन्दा तल झरेर देशघात गरिरहेको देख्दा यिनीहरू लेण्डुपजस्ता हुन् भन्ने लाग्छ । यिनले पटक पटक अवसर पाए, जनविश्वास गुमाए । जनविश्वास गुमेपछि कसरी नेपाल समृद्ध बन्छ ? अधिनायकवादी बनेपछि कसरी नेपाल सुशासनयुक्त हुन्छ ? नेताप्रति जनताको घृणा बढ्दो छ । जनघृणाबाट कुनै नेता डराउँदैनन् । यसकारण देशमा चरम कुशासन छ ।
यो शासनशैली भन्दा श्री ३ को शासन गतिलो होलाजस्ता भान हुन्छ । विचारमा, सिद्धान्तमा, योजनामा, करनी र कथनी सबैतिर यिनीहरू प्रष्ट छैनन् । स्वार्थ पूरा हुने भयो कि यिनीहरू लत्रिन तैयार छन् । लोकतन्त्र नेतातन्त्रको अन्यौलमा फसेको छ । अर्थतन्त्र कमिशनमुखी छ, जसका कारण उत्पादन शून्यतातिर झर्दो छ । पुरानोभन्दा पनि गैबार ढर्रा ढाँचाले मुलुक बन्दैन, बिग्रन्छ मात्र । दिनदिनै बिग्रिरहेको छ । आधा भाँडो पानी बढी छचल्किन्छ भन्ने उखान र यो पद्धतिका अगुवा उस्तै छन् ।
१८ वर्षे लोकतन्त्रे शासनकाल भनेको भ्रष्टाचार, कमिशन, अनियमितता, ढिलासुस्ती, पार्टीकरण, आफन्तबादको ज्वलन्त नमूना बनेको छ । अपराधीलाई संरक्षण दिन यो सरकार सधैं तमतैयार रहनु र जातीय तथा धार्मिक बिभेद र हिंसा भड्काउने काममा लाग्नुले यिनीहरू सम्भावित रक्तपातको सिर्जनाकार हुन थालेको संशय बढेको छ ।
आइएनजीओ सिंहदरवार, शितलनिवास, सर्वोच्च अदालतसम्म घुस्यो । प्रदेश सरकारको रखवाली नै आइएनजीओले गरिरहेको छ । संघीयता चलाउन र राजनीतिक कार्यकर्तारूपी पसले पाल्न जनता करमाथि थप कर तिर्न बाध्य छन् । कर देश विकासका लागि तिर्न‘पर्ने हो, नेता विकासको मलका रूपमा करको प्रयोग भइरहेको छ । संविधान भद्रगोलको भूमरीमा देशलाई फनफनी घुमाउने यन्त्र बन्न पुगेको छ । हामी संवैधानिक शासन खोजिरहदा संविधानले संवोधन गर्न सकेन । नेताको नैतिकता, सक्षमता, सिद्धान्त र इमान केहीले काम गरेको छैन । जता हेरे पनि बेइमानीमात्र देखिन्छ । कानुन मिच्नु यिनको विशेषता हो, जसले गर्दा देश बनेन, नागरिक दुःखित पीडित हुन बाध्य छन् । देश प्रताडित अवस्थामा छ । विधिको शासनको चीरहरण भएको छ ।
अधिकार खोज्ने धेरै छन्, धेरैेको अधिकार हडप्ने थोरै छन् । जिम्मेवारी निर्वाह गर्न‘पर्छ भनेर कर्तव्य पूरा गर्ने झन थोरै । म¥यो, विवेक म¥यो । देश जिवन्त हुनसकेन । पद्धति छ, देखाउनका लागि, व्यवहारमा मनलागीतन्त्र छ ।
१९०३ सालमा कोतपर्वमा तरवार चलाएरै श्री ३ को दरवारिया इतिहास १ सय ४ वर्ष चल्यो । हतियारको बलबाट जनमतको राजनीति सुरू भएकोमात्र थियो, राष्ट्रवाद र प्रजातन्त्रवादवीच यसरी मतभिन्नता बढ्यो कि राजा महेन्द्रले २०१७ साल पुस १ गते पञ्चायत व्यवस्थाको जग हालिदिए । त्यो जगको ढुंगा नेपाली भए पनि जोडन दिल्ली र बेइजिङ्कको जब्बर समर्थन थियो । नेहरू र माओले महेन्द्रलाई किन यसरी समर्थन गरे होलान् ? त्यसको सही जवाफ न समाजवादीसँग छ, न जनवादीसँग ? ती दिन र घटनाको विश्लेषण गर्नुपर्ने समय आएको छ । चेत नखुल्ने हो भने अर्को राजनीतिक दुर्घटनाको सम्मुख पुगिसकेको छ देश । बिद्रोहका झिल्काहरू निस्कन थालेको धेरै भयो, झिल्को दावानल बन्न कत्ति बेर लाग्दैन । आगोको काम खरानी बनाउनु हो । आगोको कुनै मित्र वा शत्रु हुँदैन । सत्य यही हो ।
कम्तिमा घरमा आगो लगाएर खरानी बेचेर मुनाफा कमाउनेहरूले बुझ्नै पनि यथार्थ हो यो । समयमा नबुझ्ने, आँखा चिम्लेर निदाएको बहाना गर्नेहरूले समय घर्केपछि पुर्पुरोमा हात राखेर पछुताउनुको बिकल्प हुनेछैन ।
यसकारण लोकतान्त्रिक गणतन्त्र चल्न चलाउन नसकेको कुरा स्वीकार गरौं । सहमति, संवाद र सहकार्यमा विश्वास गरौं । निषेध, विभेदले पुग्ने असफलतामै रहेछ भन्ने बुझौं । जसका पछाडि जनता छन्, तिनलाई राजनीतिक शक्ति मानौं, राजनीतिक बनौं । यही मार्ग लोकतन्त्र हो, यहीमार्ग सफल राजनीति पनि हो । अहंकारले राजनीतिलाई निम्छरो पार्ने रहेछ, अहंकार भनेको रूखमा लागेको ऐंजेरू हो भन्ने बुझ्ने सफल हुन्छन् । सम्मानित हुन्छन् । नबुझ्ने असफल । सम्मानित हुन र आउने पुस्तालाई सफल राजनीति, उन्नत देश सुम्पन बर्तमान राजनीतिक बर्ग नचुक्नु नै उज्यालो इतिहास निर्माण हुनेछ । यो शिक्षा विवेकशीलहरूले दिनैपर्छ ।