उपेन्द्र प्रेमी-
ज्ञानेन्द्र शाहलाई संस्थागत शाह राजवंशका 'पछिल्ला राजा' भनिन्छ। प्रचलनको नूतन कालखण्डमा उनलाई 'पूर्वराजा' भन्नेशव्दले पनि संवोधन गरिन्छ। विक्रमको २००४ असारमा जन्मेका ज्ञानेन्द्रले नेपालको भंगीत र खण्डि कालखण्डमा दुईपटक नेपाली राजमुकुट पहिरे। कति तेस्रो आँखाले हेर्न खोज्नेहरु ज्ञानेन्द्रको हकमा श्रीपेच धारणको त्यस्तो ग्रहगोचर तेस्रोपटक पनि हुनसक्ने भएको दृष्टिवोध गर्दछन्। जेहास्, 'राजा, पूर्वराजा' अद्यावधिक अस्तित्का आस्था तथा भविष्यका दर्शिता जे माने पनि, जे भने पनि ज्ञानेन्द्र शाह नेपालको भूधरातलीय जनमान्यताभित्र देखिन्छन्।
हरेक व्यक्ति श्वास प्रश्वासको अन्तिम शेषसम्म कुनै न कुनैप्रकारको अस्तित्व, व्यक्तित्व र भौतिक तत्वका रुपमा रहन्छ, रहिरहन्छ। तर पूर्वराजा ज्ञानेन्द्र शाहको व्यक्तित्व अहिले जुन तत्वमा छ, त्यो व्यक्ति व्यक्तिको आ–आफ्नो सजीव व्यक्तिव भन्दा अझ माथि उठेर निकै व्याप्तिमा समष्टिमा र विशाल दायरामा लहराइरहेको प्रतीत हुन्छ। सत्तरी वर्षका पूर्वराजा ज्ञानेन्द्रको अहिले कुनै वैधानिक कानुनी र औपचारिक आदर्श केही छैन, उती यतिखेर कुनै संस्था समूह र संग्रहमा पनि छैनन्। तथापि जनव्यवहारमा, विधि व्यवस्थामा तथा नेतादेखि साधारण जनतासम्ममा उनी किन निरन्तर चियोचर्चो, तीतोमीठो, सोधनी खोजनी र चासोपासोको रुपमा छन्– त्यो निश्चय पनि खोजबीनकै विषय हो।
मान्छेको वय र समय सदा एक समान हुँदैन, उतारचढाव भइरहन्छ, कालबेलाले, उमेरले, लहरले वा रहर कहरले व्यक्ति व्यक्तित्व पात्र पात्रत्व र संस्था संयन्त्रमा बदलाव ल्याउँछ। त्यो परिस्थितिजन्य स्वभावक विषय विशेष नै हो। तर लौ गरी खाओ र शेष विशेष केही गरी देखाओ भनेर स्वयं आफ्नो पुर्ख्यौली मुकुट बिसाएर किनार लागेका राजा नेपालमा किन यतिविधि भावना, भरोसा, सोधखोज, रापतापमा छन्? विश्व राजवंशीय इतिहासकै निम्ति समेत 'शोध' को विषय बन्दै गएको देखिन्छ। राजपाटबाट निबृत्त विश्वका कैयन राजाहरु कति पलायन छन्, कति निन्दित दण्डित, अपभ्रंशित र गुमनाम छन् तर अपवादमा नेपालका पूर्वराजा ज्ञानेन्द्र किन अझै पनि अपेक्षा अनपेक्षाको भावभंगीमा भावातीत छन् र किन चिन्ता चर्चा नसनाताको उल्टोपाल्टो पाटोभित्र प्रदर्शित भइराखेका छन्– अन्वेषण अनुसन्धान र चिन्तन मननकै विषय परिवेश बनदै गएको छ।
नेपालका पूर्वराजा ज्ञानेन्द्र– किन आफ्नै जन्मभूमिमा आशक्त छन्, किन उनी आफ्नै मूल्यमहत्वको धर्मकर्ममा प्रवृत्त छन् र किन उनी आफ्नै देशको भूभाग र आफ्नै देशका बासिन्दाहरुसँगको सान्निध्यमा छन्? त्यो पनि खोतल खातल गर्नुपर्ने उत्तिकै मौलिक विषय विशेष बनेको छ। कतिले जोगी हुनकै लागि राजपाट छोडेका छन्– राज्यश्रीबाट कति राजर्षि, कति राजकीय रागबाट बैरागी बनेका छन् तर पूर्वराजा ज्ञानेन्द्र किन राजा नरहेर पनि रोजा छन्, परित्यागमा पनि पर्याप्त छन् र निवृत्तमा पनि अपरिहार्य झैं र अपूर्णताको परिपूर्ण झैं पाइन्छन्– त्यो संसारभरिका सबैथरिका निम्ति बहस विश्लेषणको एक कथा कथ्यौरी पनि हुँदै गएको छ।
पूर्वराजा ज्ञानेन्द्रले दरवार, तरवार र राजकीय शानमान तथा भाइ भारदार छाडेको पनि एक दशक पुग्न लाग्यो तर उनले आफ्नो घरवार र दुनियाँदार छाडेका छैनन् र दुनियादारका नजरले उनलाई कतै कुनै अंगार वा कसिंगर देखेका पनि छैनन्। सत्तरी वर्षका पूर्वराजा मुलुकका जुनकुनै गाउँ बस्तीमा पुग्दा पनि किन सबैका साझा र समग्र राष्ट्रका आशाको आशयमा हेरिन्छ र बुझिन्छ अनि उनको यात्रा आशक्ति आस्था तथा अभिलाषालाई लिएर किन अनेक कथा कथिन्छ, व्यथा बोकिन्छ? त्यो पनि ठण्डा दिमाग खियाएर निकै समय घोत्लिनुपर्ने रोचक घोचक सन्दर्भ कै रुपमा सोचिन्छ।
जरा व्याधि, दोष दुश्मनी, ज्यादती ज्यास्ति आदि इत्यादि लोभानी पापानीको स्थितिमा कोही कसैप्रति अनाशक्ति बिरक्ति र आम विरोधको स्थिति हुनु स्वभाविक हुन्छ। तर संस्थागत राष्ट्रगत गणगत र लोकसम्मत आदर्शको आडमा अडेका नेपालको राजसंस्थाको सङ्लो श्रृंखलामा पूर्वराजा ज्ञानेन्द्र किन अनाशक्त अनपेक्ष र निरपेक्ष भइरहका छैनन्? यो प्रश्नले पनि राजतन्त्रको इतिश्रीको इतिवृत्तिलाई फेरि बेली बृतान्त गर्नुपर्ने स्थिति देखिन्छ।
जीवनको साठी वर्षताका नै लट्टीपट्टी भएका र स्वयं राजपाट छोडेर उछिट्टिएका राजा– सत्तरी वर्षकै वय विशेषमा पुग्दा त्यो वा यो को यस्तो दशकोत्तरी एवम् बढोत्तरीको स्थितिमा देखा पर्नु घटनाको अन्यथा हो वा दर्शनका मिथ्या हो? त्यो पनि मन्थनकै कुरोकन्थो बनेको छ।
जनता डाक्छन्, नेता डुक्रन्छन् पूर्वराजा ज्ञानेन्द्र जहाँ जान्छन्, जहाँ घुम्छन्, जहाँ जुन मठमन्दिरको पूजा परिक्रमामा हुन्छन्, त्यहाँ जनता किन झुम्छन्? प्रश्न पेचिलो छ। जनताको हित भएन, राष्ट्रको श्रीसमृद्धि बढेन भन्नेमा चिन्ताभाव राख्दै, पूर्वराजा किन बारबार राष्ट्र स्वस्थसमृद्ध बन्नुपर्छ र राष्ट्रवासी सुखी, सन्तोषी हुनुपर्दछ भनेर भन्दै हिड्छन्, यो पनि निकैगहिरो गुणकारी कुरा छ। दश पन्द्र वर्ष यता रैथाने रथमा रहेर वा रन्थनिएर थन्केका नयाँ नौला खालका नानाथरिका नेताहरुले भने गरेका कुरा जब बांगाटिंगा अपुग्दा अमिल्दा हुँदै गए र जब तिनका आनीबानी कथनी करनी उल्टापाल्टा बन्दै गए, अनि राजाको ओहोर दोहोर जाऊ आऊ जहाँ जता हुँदा पनि जनताको अन्तर्मन उद्वेलित भएर बोल्न थाल्छ– राजा आउ यो राज्यबाट कतै नजाउ। पूर्वराजाको यो बढ्दो जनप्रियता राजाप्रतिको यस्तो सदाशयता र आस्था अहिले धेरै नेताहरुका निम्ति अत्यन्तै बोझिलो र बिझाउँदो विषय बन्न पुगेको छ। त्यसैको झोकमा ती नेताहरु परस्परको रोकतोकको राजनीतिक पारामा डुक्रदै दुत्कार्दै, बेलीबिस्तार गर्दै हिडेको पनि सुनिन्छ। यस्तै हो भने देश गम्भीर दुर्घटनामा जानेछ, हामीमाथि अरुको रजाइँ हुनेछ र देश पछाडि फर्कनेछ...आदि इत्यादि आक्रोश अहिले परिवर्तनका संवाहक भनिने नायक मण्डलीमा पाइन्छ। मयूरपंखका नक्कली यी काक नायकहरुको यसखालको त्रासदी, आपत्ति र नालायकी जति बढ्दो, सत्तरी पार हुँदै गरेको पूर्वराजाको बढोत्तरी, झनै बढ्दो छ।
नेता डुक्रदै जाने र जनता डाक्दै जाने यो स्थितिले छाडी गएका राजा र छुटाइएका राजाको देश दृश्य एवम् दिशादृष्टि के हुँदै जाने हो, यो पेचिलो प्रश्न छ। अनि डाक्नेहरुको ताँतीमा डुक्रनेहरुको पंक्ति भाव भंगीत, स्थिति र परावर्तित प्रवृत्ति के कुन रुपमा के कति चेतन गतितर्फ चल्तीफिर्ती हुँदै जाने हो, त्यो पनि हेरिदै जानुपर्ने हेरिने विषयविधि बनेको छ। बिना संस्थाको संस्थागत व्यथा
मुलुकको मुलुकी शासन प्रवन्ध, गणतन्त्र र राज्यको पुनर्संरचनागत व्यवस्थालाई संस्थागत गर्नुपर्ने नयाँ रुपमा आफ्नो तर आम अनुमोदनमा नपुगेको संविधानलाई क्रमागत रुपमा कार्यान्वित गर्दै जानुपर्ने कुरा पनि अहिले चुरोको रुपमा नेताहरु निकै चर्कौ रुपमा बक्ने गर्दछन्। राष्ट्रको राज्यव्यवस्था र त्यसको प्रवन्ध परिपाटी संस्थागत रुपमा अघि बढ्नुपर्दछ। त्यसमा दल व्यक्ति समूह र फरक फरक संगठन विशेषको एकाकी वा मनलाग्दी मनोमानी हुनु हुँदैन। प्रवेश प्रमोद निषेध र आवेग उद्वेगको संस्थाहीन विभेदपूर्ण व्यवस्थाबाट समग्र राष्ट्रिय आकांक्षा शिद्ध हुनसक्दैन। त्यस्तो व्यथाको अवस्थाले छिन्नभिन्न दुरुस्त नाजुक परिस्थिति पैदा गर्दछ। तर व्यक्ति दल समूह जातीय क्षेत्रीय झुण्डलाई झुण्ड्याएर के कुनै संस्थागत सुप्रवन्धको परिपूर्णता प्राप्त हुनसक्दछ? भन्ने प्रश्न यहाँनेरा जटील छ। पूर्णताका हेतु जो जुन विविध व्यवस्था वा संस्था स्वयं परिपूर्ण छ, त्यसमा मात्रै 'पूणत पूर्णमिदम्' भन्न सकिन्छ। अन्यथाव्यक्ति दल समूह र खण्ड खण्डको झुण्ड वा कुण्डबाट कुनै मुण्ड वा गण गुणको अपेक्षा राख्न सकिदैन। संस्थापन्न र कार्यान्वयनको यो सन्दर्भले पनि निवृत्त राजतन्त्र र त्यसपछिको उत्पन्न आसन्न अवस्था विशेष अझ सोचनीय हुन आउँछ। सबैकोसाझा, सर्वस्वीकार्य र समग्रताको एउटै सिंगो मालालेमात्र हाम्रो संस्थागत र लोकतान्त्रिक विधि व्यवस्थालाई बाँध्न सक्दछ, व्यथा दूर गर्न सक्छ।
अन्यथा... नेता, जनता र सिंगो राष्ट्रको अवस्था, व्यथा, बाधा एवम् अव्यवस्थाभित्र भ्रमित बन्दै जानसक्छ। बेलैमा बुझ्नु बढिया...।


