
मन्त्रिमण्डल पुनर्गठन, प्रम ओलीको तुर्कमेनिस्तानको भ्रमण, कांग्रेसको बागमती प्रदेशको लफडा, अख्तियारमा प्रमुख प्रेमकुमार राईलाई पद छोड्नुपर्ने दबाब, नाउपबाट रन्जिता श्रेष्ठको निस्काशन, भारतसँग गरिने भनिएको नागरिकता र सुपुर्दगी सन्धि, विद्या भण्डारीलाई भएको ब्याक फायर आदि घटनालाई ओझेलमा पार्दै नवयुवराज हृदयन्द्र वीर विक्रम शाहको जुम्ला भ्लग चर्चामा छ । राजतन्त्र, गणतन्त्रवादी सबैले नवयुवराजको भ्लगलाई सह्राहना गरेका छन् । खासगरी युवा पुस्तामा निकै नै चर्चा पाएको देखिन्छ । त्यसो त, वहाँको बिजुबाजे राजा महेन्द्रले समेत जुम्लाको विकासका लागि कदमहरू उठाइबक्सेको थियो । त्यो क्रमले बिस्तार उहाँका ठूला हजुरूबा, राजा वीरेन्द्रको समयमा पनि निरन्तरता पायो । जेहोस्, नवयुवराज हृदयन्द्रको भ्लग अहिले सामाजिक सञ्जालभरि मन पराइएको छ । र, विकासबारे नवयुराजको धारणा, त्यस क्षेत्रमा वहाँले पर्यटन प्रवद्र्धनका लागि गरिदिनु भएको आह्वान प्रशंसनीय छ । गणतन्त्रे हावा भाषणबाट आजित भएका नागरिकहरू नवयुराजको युवा विचारबाट प्रसन्नचित्त देखिन्छन् । कतिले त बल्ल राजा पाएको भन्नसमेत भ्याएका छन् । आधुनिक विश्वलाई राम्रो बुझेका नवयुवराजमा विकासका बारेमा नयाँ दृष्टिकोण भ्लगका् मन्तव्यबाट बुझिन्छ । विकास भनेको विदेशबाट ऋण ल्याएर, ऋणको बोझ थपेर भ्रष्टाचार गर्नु गलत हो, भइरहेकै सिमित स्रोत र साधनबाट विकास गर्न सकिन्छ, हामीले आँट गर्नुपर्छ भन्ने आशय नवयुराजमा रहेको छ ।
त्यसो त, एकथरि जो विरोधका निम्ति विरोध गरिहन्छन्, तिनले राजावादी नवयुवराजलाई असभ्य गाली गर्नसमेत भ्याएका छन् । तिनलाई के थाहा कि आफ्नो पुर्खाले निर्माण गरेको मुलुकप्रति राजा र राजपरिवारलाई कति मायाँ हुन्छ भनेर । लोकतन्त्र र गणतन्त्रको शिर्षमा यो सुन्दर हिमाली मुलुकलाई रसातलमा पु¥याउने अहिलेका सकृय नेताहरू म्याद नाघेको औषधिसाबित भइसकेका छन् । तिनले दिएका समाजवाद, जनवाद, सर्वहारावाद आदि नाराहरू खोक्र साबित भइसकेका छन् । राजसंस्थावादी आन्दोलन गर्दा राजाका कार्यक्रमबारे प्रश्न गर्ने बुज्रुकहरूलाई नवयुवराजको जुम्ला भ्रमणको भ्लगले राम्रै जवाफ दिएको छ । आर्थिक विकास नै शान्ति हो भन्ने राम्ररी बुझेका नवयुवराजमा राजा महेन्द्रको दूरदर्शिता र राजा वीरेन्द्रको प्रजातन्त्र र विकासप्रतिको अवधारणाको समिश्रण देखिन्छ । हुन पनि पुर्वजहरूझैं जनतामाझ गएर वस्तुस्थिति बुझ्ने प्रयास नवयुवराजले गर्नुभएको छ, त्यो आफैमा बिशिष्ट छ । राजाहरू खोपीमै बसिरहनुपर्छ, आफ्ना आसेपासेले ल्याएको सूचना र विचारमा सिमित रहनुपर्छ भन्ने पुरानो रूढीवादी संस्कारलाई राजा महेन्द्रदेखि तोडिन सुरू भएको हो । वीरेन्द्र र पछिल्लोपल्ट ज्ञानेन्द्रले पनि त्यो पदचापलाई पछ्याएको अनुभूति थियो । संविधानतः अहिले राजसंस्था नरहेता पनि शाहबंशको उत्तराधिकारीहरू संस्कारका कारण आज पनि जिवन्त नै देखिन्छ, भेटिन्छ । भलै यो विदेशीद्वारा लादिएको संविधानले राजालाई नचिनोस् । आमनेपालीको मनमा राजा र राजपरिवार अझै कायम छ भन्ने कतिपय दृष्टान्त, घटनाक्रम, स्वागत र अभिनन्दनले देखाइरहेकै छ । राजपरिवारमा पनि नेपाल र नेपालीप्रति अझै जिम्मेवारीवोध छ भन्ने राजपरिवारका विभिन्न समयका विचार, भेटवार्ता, अन्तरकृया र अनेक परिघटनाले स्पष्ट पारिरहेको छ । पूर्वराजाको पछिल्लो समय आएको स्वदेश फर्क स्वदेश नै स्वर्ग भन्ने अभिव्यक्तिलाई नवयुराज हृदयन्त्रको वर्तमान कृयाकलापले सार्थक बनाउन खोजेको देखिन्छ । बुझिन्छ । अबको समय भ्रष्ट एवम् राष्ट्रघातहरूको होइन, नवयुराज हृदयन्द्रजस्ता उर्जावान, परिवर्तिन विश्वसँग मिलेर अघि बढ्नसक्ने युवाहरूको हो । देशले अगुवा युवा पाएको छ । देशले सुयोग्य युवा पाएको छ । अब बादको आवरणमा भ्रष्टाचार, व्यभिचार, राष्ट्रघातलाई प्रश्रय दिने नेता र तिनका समर्थकहरूको साथ दियौं भने हामीले मौका गुमाउनेछौं । राष्ट्र बचाउन र बनाउन यस्तै युवा सकृयता र सोच चाहिएको छ । समय आयो, अवसर आयो, यस्ता युवाहरूलाई उर्जाशील बनाऔं, साथ दिऔं ।