Advertisement Banner
Advertisement Banner

०३ मंगलबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

प्रम ओलीले निरीक्षणले तस्करी बढायो

१४ मंगलबार , असार २०७३९ बर्ष अगाडि

प्रधानमन्त्री केपी ओली एक्कासी एयरपोर्टको छड्के जाँचमा पुगे। सबै व्यवस्था तन्दुरुस्त देखेपछि यात्रुको सुविधामा ध्यान दिन कमीकमजोरीमा तत्काल सुधार गर्न निर्देशन दिंदै, स्क्यानिड्ड मिशिन थप गर्न, ठीकठाक राख्न, सरसफाई र सुरक्षामा विशेष निगरानी राख्ने निर्देशन दिएर फर्किए। एयरपोर्टको ढोकादेखि लवि, सुरक्षा जाँच, भिसा काउण्टरहरुमा लथालिङ्ग चालामाला देखेका प्रधानमन्त्री यथार्थमा निर्देशन दिएजस्तो गर्न गएका हुन्। भित्री कुरो एमाले समर्थित ठेकेदारहरुलाई थप कमाउने हौसला दिन गएका थिए।
धेरैजसो पसल सञ्चालक, कर्मचारीबर्ग, बैंक, एयरलाइन्सका कर्मचारी, ट्वाइलेटदेखि सरसफाइ ठेकेदार एमाल समर्थित छन् र उनीहरु मालामाल कमाइरहेका छन्। मन्त्री आनन्दप्रसाद पोखरेल र राज्यमन्त्री बलबहादुर महत पनि प्रधानमन्त्री पछिपछि पुगेका थिए। त्रिभुवन विमानस्थलमा जडित सीसी टीभीले समेत काम नगरेको देखेर प्रधानमन्त्रीले एयरपोर्ट व्यवस्थापनलाई ठिक राख्न निर्देशन त गरे, अझैसम्म हालत उस्तै छ। कारण विमानस्थल भित्रबाहिर गरिरहने विभिन्न थरिका पसले, कर्मचारीहरुले इधरका माल उधर, उधरका माल इधर गरेर एयरपोर्टलाई वीरगञ्ज नाकामा हुने पोके तस्करीधन्दा बनाइसकेका छन्। अद्यापि त्यो एयरपोर्टमा चलिरहेको छ।
एयरलाइन्सका कर्मचारीसमेत गुणस्तरहीन सीसी टिभीका कारण र अनावश्यक व्यक्तिलाई समेत भित्रबाहिर गर्ने विशेष पास दिएर एयरपोर्ट व्यवस्थापन हाकिमले तस्करी सेटिङ मिलाएर भित्री कमाई गरिरहेका छन्। कतिपय सुरक्षा निकाय, भन्सारका हाकिमहरुसमेत तस्करले दिन्छन् र मुख मिठ्याउन पाइन्छ भनेर प्रतिक्षामा बस्ने गरेका देखिन्छन्। एयरपोर्टको सुरक्षा व्यवस्था कतिसम्म कमजोर छ भने गत जेठ २६ गते राष्ट्रिय वाणिज्य बैंकभित्र चोर पस्दासमेत सीसी टीभीले देखाउन सकेन। पछि लाख प्रयत्न गरेपछि रुपस श्रेष्ठ र तेजबहादुर श्रेष्ठलाई पक्राउ गरिएको थियो। त्यसै बिकिनी किलर चार्ल्स शोभराजले नेपालको एयरपोर्टबाट हात्ती पनि छिराउन सकिन्छ भनेका होइन रहेछन्।
एयरपोर्टको सुरक्षा कमजोर पारेर तस्करहरुले भित्रभित्रै सुन, कम्युटरका सामान, अन्य बहुमूल्य चिजहरु चोरबाटोबाट बाहिर ल्याइरहेका छन्। सरकारलाई घाटा र कर्मचारीलाई फाइदा गराउने काम सुरक्षा कमजोर पारेर भइरहेको छ। प्रधानमन्त्रीको छड्के जाँचले तिनै तस्करलार्ई र भ्रष्ट हाकिमहरुलाई थप कमाउने अवसर मिलाइदिएको छ। एयरपोर्टभित्र जानाजानी फोहर गर्ने, ट्वाइलेट जाम पारिदिने काम पनि भइरहन्छ। ठेकामा लगाएका कामहरु दुरुस्त रुपमा हुने गर्दैन। किनभने सफा गर्ने नाममा आवतजावत बढाउन र त्यही अवसरमा तस्करको काम गरिदिएर शुभलाभ लिन पाइन्छ। वर्षौंदेखि एउटै ठेकेदारले ठेक्का पाउनु र कमाइरहनुले पनि दालमे कुछ काला देखिन्छ।
ट्रली र यात्रुका सामान ओसारपसार गर्न एयरपोर्टमै कार्यरत अमर रायमाझीको आजाद निर्माण सेवाले सधैं ठेक्का पाउँछ। यिनका १ सय ५० भन्दा बढी लोडर सक्रिय देखिन्छन्। यी लोडरहरुको काम मात्र मालपानी झार्नु हो। यिनको छातीमा देखिने गरी लोडर पास नदेखिनुले पनि यिनीहरु मौका हेर्ने र मौका पाउनासाथ इधरउधर गरिहाल्छन्। यी लोडरहरु ठेकेदारका विश्वासपात्र छन्। जसले ठेकेदारको इसारमा काम गरिरहेका हुन्छन्। गजब त के छ भने जो पर्यटन मन्त्री बन्छन्, उसले ती कर्मचारीको चाकरी गर्छन्। यी तिनै कर्मचारी हुन्, जसले मन्त्री, सचिव र बडे हाकिमहरुलाई भनेजस्तो, चाहेजस्तो सेवा पुर्‍याउने गरेका छन्। \u000aयिनै लोडरहरुले यात्रुका ब्यागेजहरु काट्ने, बहुमूल्य सामान सफाचट पार्नेदेखि अनेक धन्दा चलाइरहेका छन्। गत जेठ २९ गते सिल्क एयरबाट आएका एकजना यात्रुको ब्याग फोरेर लोडर राम बिनायकले आइफोन नै झिकेको प्रमाणित भएपछि लोडरहरुको नैतिकता र ठेकेदारको नीति स्पष्ट बुझ्न सकिन्छ।
यति हुँदा पनि ठेकेदारमाथि कुनै कारवाही नगर्नु र निरन्तर ठेक्का उसैलाई दिनुले एयरपोर्टभित्र कतिसम्म धाँधली हुनेरहेछ अनुमान गर्न सकिन्छ। सीसी टीभी बिगारेर एयरपोर्टभित्र भ्रष्टाचार र अनियमितताको रण्डखाल कहिलेसम्म चलिरहने हो कुन्नी?