
रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ताकाे आह्वान गरेको छ । आयोगले यही साउन २१ देखि २७ गतेसम्म आयोगका केन्द्रीय कार्यालयमा दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको हाे ।
आयोगले उपनिर्वाचनका लागि दल दर्ता गर्न आज एक सूचना जारी गर्दै सबै राजनीतिक दललाई आह्वान गरेको हाे । यसअघि उपनिर्वाचनका लागि निर्वाचन कार्यतालिका स्वीकृत गरिसकेको छ भने आगामी असोज २१ गते बिहान १० देखि ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने र सोही दिन साँझ उम्मेदवारको सूची प्रकाशन गरिने बताइएकाे छ ।
त्यसैगरि असोज २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने र कात्तिक १७ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने आयोगले जनाएकाे छ ।
आयोगका अनुसार उक्त उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उम्मेदवार हुन पाउने छैनन् ।