Advertisement Banner
Advertisement Banner

३२ शनिबार, श्रावण २०८२16th June 2025, 6:20:04 am

Image

छाडातन्त्र, प्रतिशोधतन्त्र भनेको मृत्यतन्त्र हो

राजन कार्की

१६ बिहिबार , श्रावण २०८२१६ दिन अगाडि

छाडातन्त्र, प्रतिशोधतन्त्र भनेको मृत्यतन्त्र हो

परिवर्तनको १८ वर्षपछि मूल्याङ्कन गर्दा लोकतन्त्रप्रति ठूला दलबाहेक कुनै नागरिक खुश देखिन्नन् । किन ? यसको समीचीन विश्लेषण गर्ने फुर्सद छैन ठूला दल र नागरिक समाजका अगुवाहरूलाई । हुन त राजनीतिमा विवेक चाहिन्छ, विधि र अनुशासनमा चल्नुपर्छ । थिति बसाल्ने नै भँडुवा भए भने विवेक मर्छ, सामाजिक जीवन्तता मर्छ, अन्तत? पद्धति मर्छ र देश मर्छ ।
देश भनेको जनता हो । जनता बाँच्नु भनेको देश बाँच्नु हो । १८ वर्षको परिदृश्यले देश बाँचेको देखिन्न । जो बाँचे, पार्टी, नेता र तिनका कार्यकर्ता बाँचेका छन् । स्वार्थ बाँच्नु भनेको देश बाँच्नु, पद्धति बलियो हुनु होइन ।
राजनीतिमा नीति, नैतिकता, सिद्धान्त र इमानदारिता समाप्त भयो । यस्तो राजनीति राजनीति हुनसक्दैन, यो त व्यापार हुनपुग्यो । व्यापारमा मुनाफा हेरिन्छ, अरू केही हेरिन्न ।
व्यापारीमा पनि कहिले कहिले पाप धर्मको ख्याल गरिन्छ । हाम्रो राजनीतिका खेलाडीहरूका लागि त स्वार्थसिद्ध भन्दा बढी केही पनि बाँकी रहेन ।
नेपालको राजनीति कस्तो छ भन्ने सम्बन्धमा एक बुद्धिजीवीको टिप्पणी यस्तो रहेको छ– लाजलाग्यो भनेर एउटी महिलाले फरिया उचालेर मुख छोपेजस्तो । लोकतन्त्र जता हे¥यो ह्वाङ्गै छ, लज्जा पनि लजाइरहेको छ ।
माओवादीले गरेको वर्ष लामो जनयुद्धलाई हेर्दा सौरभले भनेजस्तो अघि अघि जनयुद्ध, पछि पछि बाइबल आएको रहेछ । त्यो त हिन्दुराष्ट्रलाई इसाईकरण गर्ने मिसन पो रहेछ । धार्मिक स्वतन्त्रताका नाममा धर्मनिरपेक्ष किन बनाइयो, संविधान लेख्नेहरू नै सत्तामा छन्, तिनीहरू जनतालाई निर्णय लाद्छन्, जनउत्सुकता मेटाउन सक्दैनन् । लोकतन्त्र लज्जास्पद भइसक्यो ।
संविधान जारी भएपछि सभाध्यक्ष कूलबहादुर गुरूङले भने गणतन्त्र घोषणा गर्न रोक्नै नसक्ने दबाब थियो । कांग्रेसका अन्य नेताले पनि भनेका छन्, हिन्दुराष्ट्रलाई धर्मनिरपेक्षता कसरी बनाइयो, थाहै भएन । संविधानको यो आश्चर्य पनि एउटा कारण हो, राष्ट्रको सकस बढ्नुमा ।
२०६३ सालको जनआन्दोलन रोक्न भारतले करण सिंहलाई पठाएकै हो । करण सिंहकै साक्षी रोहवरमा मरेको संसदलाई राजाले ब्यूँताइदिएकै हो । त्यही संसदमा जनयुद्धकारीलाई ८३ सांसद बकसमा दिएर प्रधानमन्त्रीले कार्यवाहक राष्ट्रपतिको भूमिका निर्वाह गरे । नेपालको सार्वभौमिकताको विषयमा बेला बेलामा वकालत गरिरहने चीनका राजदूतले छँदाखाँदाको राजालाई बाइपास गरेर प्रधानमन्त्रीलाई ओहदाको प्रमाणपत्र पनि बुझाएकै हुन् । संविधानसभाले गणतन्त्र कार्यान्वयन गर्दासमेत चीन बोलेन । त्यही चीन थियो, जसले एक प्राध्यापकलाई पुस्तक लेख्न लगाएर दरवार हत्याकाण्डमा भारतको हात छ भनेर ठोकुवा नै गरेका थिए । त्यही चीन नेपालमा अब कम्युनिष्ट एकताका लागि विद्या भण्डारीलाई अघि सार्दैछ । चीन निकट भएको आरोप खेपेका केपी ओली भारतको निकट हुनपुगेका छन् ।
गणतन्त्र कार्यान्वयन भयो । तर गणतन्त्र सफल हुनसकेन । संविधान असफल भयो । देशले केही पाएन । नेतृत्व गण भन्छन्– संविधान कार्यान्वयन भइसक्यो, गणतन्त्र बलियो भएको छ । लोकतन्त्र जब्बर भइसक्यो । तर आमनागरिक यो गणतन्त्रप्रति असन्तुष्ट भएर सडकमा बिद्रोह बोल्न थालेका छन्, विद्रोह गर्दै अघि बढेका छन् ।
नागरिक उदासीन छन् । गणतन्त्र दिवस वा लोकतन्त्र दिवसमा गण वा लोक सहभागी नै हुँदैनन् । संविधानलाई नेतृत्व गणले कुल्चदैछन्, संविधानले न्याय दिन्छ, विधि बसाल्छ भन्ने विषयमा जनता आश्वस्त छैनन् । नेताले विश्वास गुमाए, संविधानले आस्था गुमायो । अहिलेको नेपालको शासन प्रशासनको यथार्थ यही हो । यसरी भाँडिएको र लथालिङ्ग भएको शासन प्रशासनलाई कसरी ठिकठाक पार्ने भनेर कसैले पनि सुझाव दिएकोजस्तो लाग्दैन । पार्टी पार्टीमा बिधाजित थिङ्क टेङ्, बुद्धिजीवी, नागरिक समाज आआफ्नो स्वार्थका थाङ्नो बनेका छन् । उज्यालो नेपाल, अन्धकार बन्न थालेको छ ।
प्रशासन अनियमितता गरिरहेको छ, यो अनियमिततालाई राजनीतिले संरक्षण दिइरहेको छ । सत्ता राजनीतिमा संविधान होइन, सेटिङ् षडयन्त्र निरन्तर चलिरहेको छ । राजनीति सेवा नभएर व्यवसाय बनेको छ । यसकारण त राजनीति गर्ने नाङ्गाबाबाहरू अर्वपति बनेका छन्, महलमा बस्छन्, सम्भ्रान्त जीवनयावन गरिरहेका छन् । सानालाई ऐन, नेतालाई चैन भइरहेको छ । समाजमा उखानै थियो– नेपालको कानुन दैव जानुन्, कानुनको नौ सिङ् हुन्छ । यतिबेला चरम भ्रष्टाचारको नाली बनेको राजनीति, प्रशासनमा यही उखान लागू हुन्छ । नेपालमा लोकतन्त्रका नाममा, संवैधानिकताको आवरणमा जङ्गलराज बन्यो । जंगलतन्त्र चल्यो ।
न्याय हरायो । कुनै संवैधानिक निकाय स्वच्छ छैनन् । अदालत मन्दिरजस्तो रहेन । बागद्वारजस्तो बन्नुपर्ने संवैधानिकता ढलद्वार बनेको अनुभूति जो कसैले गरिरहेको छ । यस्तो शासन व्यवस्थालाई कानुनी राज भन्नुपर्ने, यस्तो अपराधिक लोकतन्त्रलाई संवैधानिक भनिदिनुपर्ने ? जब संविधानको सीमा र आचरणमा कोही बसेकै छैनन्, कसरी त्यस्ता निकायहरू संवैधानिक हुनसक्छन् र ? लज्जा पनि लजाइरहेको छ । नेतृत्व बर्ग पटक्कै लजाउँदेनन् । लज्जा नभएपछि नागाबाबाजस्ता भए नेताहरू ।
बहुदल, परिवर्तन र लोकतन्त्रप्रति सर्वसाधारणहरू पश्चाताप गर्छन् । प्रायाश्चित्त गर्न‘पर्ने नेतृत्व बर्ग असफलताको शीरमा भ्रमको मयुरपंखे श्रीपेच लगाएर मुस्कुराइरहेका छन् । मानौं, यी मूर्ख बादशाह हुन्, जो नयाँ लुगाका नाममा नाङ्गै छन् । राजनीति र प्रशासनका नयाँ बादशाहहरूलाई हेक्का छैन । जहाँ लोकलज्जा हुँदैन, त्यहाँ केको लोकतन्त्र ? के को गणतन्त्र हुन्छ ?
परिवर्तन भएको १८ वर्षपछि फर्केर हेर्दा जनताको त्यो हौसला मरिसकेको छ । बसन्त परिवर्तन, कोतपर्वभन्दा भिन्न रहेन । लोकतन्त्र छाडा शासनजस्तो छ । लोकतन्त्रप्रति गौरव पार्टीहरूलाई मात्र छ । लोकतन्त्र लोकका लागि हुनुपर्ने, दलका लागि हुनपुग्यो ।
पञ्चायत निरंकूश थियो, लोकतन्त्र झन निरंकूश भयो । व्यापारीको देश हुन्न, त्यस्तै देखियो । यिनमा जे छ स्वार्थपूर्तिमात्र छ । यिनले देश सिध्याउने भए । अस्तित्व सिध्याउने भए ।
सुशासनको लागि संविधान हो, लक्ष्मणेखा हो संविधान । नेतृत्व बर्ग त संविधानभन्दा भन्ठान्छन् । जर्ज अरवेलले भनेका थिए– एनीमल आर इक्वेल, सम एनीमल आर मोर इक्वेल ।  विवेकहीन यिनलाई राष्ट्रप्रति गौरव छैन । माटोप्रति ममता छैन । जनताप्रति जिम्मेवारी छैन, संविधानप्रति आस्था छैन । कर्तव्यप्रति उत्तरदायित्व छैन । राज्यका सबै सञ्जाल, अदालत समेत सर्वदलीय देखियो ? किन अदालतले राजनीतिक दबाब र प्रभावमा कुनै मुद्दा आजको भोलि फैसला गर्छन् ? आमनागरिकका मुद्दा ४० वर्षसम्म पनि तारिखमा झुण्ड्याएर राख्छन् ? प्रतिषोध पूरा गर्न कसैलाई जेलमै सडाइदिन्छन् ? अदालत संसदको अधिकार खोस्छ, सरकार संवैधानिक निकायलाई बशमा राख्छ । शासन हो कि बाहुबलीतन्त्र चलेको ? लोकतन्त्र भ्रष्ट कालो छायाँ भयो । लोक आकांक्षा, अपेक्षा, आवाज हरेक क्षण प्रताडित गर्नु लोकतान्त्रिक हुन्छ र ?
लोक पनि उस्तै । लोक कहिले चेतेनन् । बदमास भन्ने थाहा पाए पनि तिनैलाई चुनाव जिताउँछन् । हतारमा गल्ती गरेर चुनावपछि पछुताउने जात बन्यो जनता । चुनावका बेलामा पुज्ने, चुनाव सकिएपछि घृणा गरेर के अर्थ ? यसकारण लोकतन्त्र लुटतन्त्र बन्नपुग्यो ।
लोकतन्त्र मीठो व्यवस्था बन्नुपर्ने थियो, क्यान्सर रोग साबित भयो ।
त्यसैले लोकनेताहरू ख्यातीको शिखरबाट घृणाको खाडलमा खस्दैछन् । जनताको भरविश्वास कसैमाथि छैन । ठूला ठूला सपना देखाउने, दयनीय शासन चलाउने र जे जंग चल्छ त्यही निर्णय गर्ने जंगेशैली बढेको छ । अविवेकी व्यवहार देखाउँदै सन्की निर्णयहरू गरेर अधिनायकी राजनीतिक पात्रका रूपमा नेतृत्वबर्ग स्थापित हुनपुगेका छन् । कस्तो अचम्म, स्थानीय स्तरमा समेत गठबन्धन गरेर चुनाव लड्ने, आलोपालो सत्तामा जाने भनेर केन्द्रस्तरमै गठबन्धन मिलाउने, नीति–सिद्धान्त केही पनि नहेर्ने, स्वार्थ सिद्ध हुन्छ भने नैतिकताको तिलाञ्जली दिन पनि पछि नपर्ने ? राजनीति द्वन्द्व बढाउने चरित्रले राष्ट्र दुर्घटनाउन्मुख बनेको छ । कुनै पनि बेला बंगलादेश वा श्रीलंकामा आएकोजस्तो लोकविद्रोहको सुनामी नआउला भन्न सकिदैन ।
पार्टीहरूमा बुद्धिजीवी छन्, विवेकशील पनि छन् । तिनीहरू किन पार्टी र निजी स्वार्थमा अन्ध बनेका हुन्, किन देशका बारेमा विवेक बोल्दैनन् ? राष्ट्र कमजोर पार्ने काम गर्ने नेताहरूले लोकतन्त्र ल्यायौं भनेर गर्व गर्नु उदेगलाग्दो विषय बन्नपुगेको छ ।
परिवर्तन देशका लागि फाप भयो । पार्टी र नेता तत्कालको स्वार्थबाट निर्देशित हुँदा राजनेताको अभाव खट्किन पुग्यो । राजनेता थिए भने ती देशको बृहत्तर स्वार्थबाट प्रेरित भएको देखिनुपथ्र्यो । पटक्कै देखिएन । राजनीतिक मैदानमा जो छन्, ती गल्लीका सान्चा पहलमानभन्दा भिन्न छैनन् । जसले सर्वसाधारणलाई भयको नागपासले बेरेर, फुटाउ र राज गरको नीतिअनुसार चलायमान राखेका छन् । सत्तालाई सेटिङको विषय बनाएर देश र जनताको हक र हित लुटिरहेका छन् ।
म¥यो, वीपी र मदन भण्डारीको दर्शन । माओको नामसमेत बदनाम भयो । नेताको मुटुभित्र नेपालीत्व समेत मरेका अनेक घटनाक्रम भए । नेपाली हित र हकका लागि, सार्वभौमिकता र स्वतन्त्रताका लागि नेतृत्व उभिनै सकेन । राष्ट्रका लागि अहं भूमिका खेल्ने बेलामा विदेशीको परिक्रमा गर्ने, विदेशी प्रभाव र दबाबमा चल्ने, निर्णय गर्ने प्रवृत्ति आत्मघातसरह हुनपुग्यो । यस्तो परालखुट्टे, पराधीन नेतृत्वले सुखी नेपाली, समृद्ध नेपालको बैतर्णी तार्दैनन् । सत्य यही हो । यो सत्य सबैले आत्मसात गर्न जरूरी छ, जबसम्म सत्य बुझिन्न, नेपालको स्वार्थी राजनीति बुझ्न सकिन्न ।
गणतन्त्रमा गण छैनन्, जता पनि नेता र तिनको सेटिङ्मा हुने गरेको व्यभिचारमात्र देखिन्छ । लोकतन्त्र गाईजात्रा बन्यो । नेतृत्व विदेशी ताकतले उभ्याएको बुख्याँचाभन्दा भिन्न रूपमा देख्न छाडियो । राजनीति र कूटनीतिभित्रको राजनीति र कूटनीति बुझ्नेहरू यस्तै विश्लेषण गर्छन् ।
देशमा स्वतन्त्र चिन्तक छन्, विचारक छन् भने तिनको भूमिका के हो ? तिनले तमासा हेरेर बस्नु भनेको विवेकहीन हुनु होइन र ? विवेकहीनहरूले देशलाई भड्खालोमा हाल्दैछन् ।
जे पनि भारतको नक्कल गर्ने नक्कलीहरूले सुभाषचन्द्र  बोसलाई पढ्नु उचित हुनेछ । त्यतिबेला भारतमा अंग्रेजको शासनकाल थियो । सुभाषचन्द्र बोसले विवाह नगरेपछि उनका सहयोगीहरूले सामुहिक रूपमा यो कुरा उठाए– नेताजी तपाई विवाह गर्नुहुन्न ? सुभाषचन्द्र बोसले भने– विवाह त म अहिले नै गर्छु, तर मलाई दाइजो चाहिन्छ, दाइजो दिने कसले ?
सहयोगीहरूले भने– तपाईलाई छोरी र दाइजो दिन धेरै तैयार छन्, भन्नोस् तपाईलाई के कति दाइजो चाहियो ?
बोसले भने– मलाई दाइजोमा मेरो देशको स्वतन्त्रता, स्वराज चाहियो । कसैले दिनसक्छ मलाई स्वतन्त्रता ? 
भारत स्वतन्त्र भयो । सुभाषचन्द्र बोसको त्यही भारत अंग्रेजको अवतार बनेर आज नेपाललाई सताइरहेको छ ।
सुभाषचन्द्र बोसलाई चाहिएजस्तै नेपालीलाई नेपालको स्वाधिनता, सार्वभौमिकता र स्वतन्त्रता चाहिएको छ । भारत हस्तक्षेप बढाउँदैछ ।
हरेक नेता भारतका सामु लम्सार परेका छन्, कहिल्यै परतन्त्रमा नपरेको नेपाल यतिबेला भारतको माकुरी जालमा फस्न पुगेको छ । फसाउने हाम्रै नेता हुन् । यसकारण नेपालीत्व खतरामा छ ।