Advertisement Banner
Advertisement Banner

०३ मंगलबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

२ लाखको सर्त राखेर शेर गर्जियो

१३ सोमबार , असार २०७३९ बर्ष अगाडि

भूकम्प गएको १३ महिनासम्म जनता कसरी बाँचे होलान्? राज्यले पीडितलाई बेवास्ता गरेको बल्ल कांग्रेसले थाहा पायो र तत्काल २ लाख देउ भन्ने सर्त राखेर संसदमा शेर बहादुर देउवा गर्जिएका छन्। यही गर्जनका साथ ठूलो पार्टी नेपाली कांग्रेस निद्राबाट ब्यूँझिएको सबैले देखे।
सरकार छ भन्ने जनताले अनुभूति गरेका छैनन्। सरकार पुरानै अपराध गरिरहेको छ, गल्ती र कमजोरीमै अल्भि्करहेको छ। भूकम्पपीडित यस्तो सरकारले सहयोग गर्दैन भन्ने मनस्थितिमा पुगिसके। पीडित आक्रोसमा छन्, भूकम्पले घर भत्कायो, जनआक्रोसले लोकतन्त्र नै क्षतविक्षत पारिसकेको छ। बल्ल कांग्रेसले जनताप्रति अन्याय भएकै हो भन्ने ठहर गरेर जनताको पक्षमा संसद अवरुद्ध पारेर उभिएको छ।
नेपाल हाइटीकै बाटोमा भ्रष्टाचारमय भइसकेको छ। हाइटीका नेता र पहुँचवालाले जसरी जनताको हकाधिकार लुटिरहेका छन्, नेपालमा त्यही गतिमति देखिरहेको छ। पार्टीवाला, कर्मचारीतन्त्र, मन्त्री, प्रधानमन्त्री नयाँ सामन्त बनेका छन्। पीडित आफैले जोहो गरेर घर बनाइरहदा पनि सरकार, सरकारले नियुक्त गरेका पुनर्निर्माण प्राधिकरणले माखो मारेन। उल्टो कर्मचारीसँग मिलोमतो गरेर भ्रष्टाचार बढाउने काम भइरह्यो, भइरहेको  छ। कांग्रेसले एकमुष्ठ २ लाख देउ भनेर सर्त राखे पनि र सरकारले दिए पनि त्यो पैसा पीडितसम्म पुग्न अर्को २ वर्ष लाग्ने देखिन्छ। कांग्रेस सर्तमा सफल भए पनि यो राजनीतिमात्र हुनजानेछ। राज्यलाई जिम्मेवार बनाउन स्थानीय निकायमा जनप्रतिनिधि हुनैपर्छ। चुनाव हुने कुनै लक्ष्यण छैन। संविधान असरल्ल भइरहदा राजनीतिक पद्धति जोखिममा पर्न थालिसक्यो, दुर्घटना निकट देखिदैछ।
राज्यको कार्यशैली बदल्ने, पुनर्निर्माण प्राधिकरणको सक्रियता, बढाउने कर्मचारीतन्त्रमा शुद्धता र सेवाभाव विकास गर्ने विकल्प कांग्रेससँग के छ? पीडितको घर भत्क्यो, मन पनि भत्किसकेको छ, त्यो बनाउने कसरी? २ लाख दिन सरकार तैयार भएर भत्केको बन्छ? ठूलो कुरा नेताप्रति जनताको विश्वास भत्किएको छ, त्यो जोडिन्छ? शेर त गर्जियो, कांग्रेस त देखियो। ठूलो पार्टीले निभाउने ठूलो जिम्मेवारी गर्जदैमा पूरा हुनसक्दैन। ऊसँग जिम्मेवारी निभाउने स्पष्ट खाका हुनुपर्छ। त्यो देखिदैन। शेर गर्जनु भनेको विरोधका लागि विरोधमात्र भइरहेको छ।