Advertisement Banner
Advertisement Banner

११ शनिबार, श्रावण २०८२16th June 2025, 6:20:04 am

Image

दोषी राजसंस्थावादीहरु पनि हुन्

शाश्वत शर्मा

०७ मंगलबार , श्रावण २०८२४ दिन अगाडि

दोषी राजसंस्थावादीहरु पनि हुन्

कहाँ पुग्यो राजसंस्था पुनस्र्थापनाको मुद्दा ? सामाजिक सञ्जाल हेर्दा आन्दोलन जारी देखिन्छ, आजभोलि नै राजसंस्था पुनस्र्थापना हुन्छजस्तो लाग्छ । दृश्यमा आन्दोलन कहीँ देखिदैन । गृहमन्त्री रमेश लेखकले भनेझैं राजसंस्थावादीहरु शिथिल भइसके । अझ कमाण्डर तोकिएका नवराज सुवेदी त राप्रपामा रहिरहनका लागि निर्वाचन आयोग धाएको देख्दा उनका लागि आन्दोलनको कुनै चासो छैन । घोषणा गर्दा राजसंस्था पुनस्र्थापना नभएसम्म पार्टीको कुनै पदमा नबस्ने र विश्राम समेत नलिने भन्ने सुवेदी राप्रपाको पदका लागि दौडधूप गरिरहेका छन् । पञ्चे चरित्र पदलोलुप चरित्र हो, यस्तै हो । यस्तालाई विश्वास गर्नु हुँदैनथ्यो, विश्वास गर्दा धोका हुनगयो । अर्का एक वकिल छन्, जो यो पद्धति र सत्ताधारी सबै अवैध हुन् भनेर शाब्दिक रुपमा प्रमाणित गर्न खोज्छन् । यिनको पनि नतिजा शून्य । अर्काथरि बरिष्ठ अधिबक्ताहरु छन्, जो छलफल गरिरहेको बताउँछन् । भविष्यको अभियान चलाउने, पार्टी नै खोलेर राजसंस्था पुनस्र्थापना गराइछाड्ने हुँकार गर्छन् । अर्का एक पत्रकार छन्, जो चार दशकदेखि विश्लेषण गरिरहेको र विदेश मामिलाको जानकार हुँ भन्छन् । तिनले भारत, चीन, रुस, अमेरिका सबै राजस)स्थाको पक्षमा आइसकेको दावी गर्छन् । ज्योतिषहरु पनि त्यस्तै छन् । समय सारेको सा¥यै छन् । अरु राजावादी नेताहरुको हविगत पनि यस्तै छ । मुख्य प्रश्न छ– आमनागरिक कतातिर छन् त ?
नागरिक अघि अघि प्रदर्शन, बिरोधसभा भइरहदा सहभागी भएका थिए । आजकल राजीनामा दिएका मन्त्री राजकुमार गुप्ता, एमालेको राजनीतिमा फर्केकी विद्या भण्डारी, बरिष्ठ उपाध्यक्षबाट खगारिएका ईश्वर पोखरेलको कुरा सुन्नतिर लागेका छन् । प्रम ओली, विद्या भण्डारीमध्ये कसले एमाले हाँकला ? मन्त्रिमण्डल पुनर्गठनमा को हट्ला, को आउला ? विद्या भण्डारी, प्रचण्ड र शेखर कोइरालाको कानेखुशी के हो ? २५ लाख हस्ताक्षरले रवि लामिछाने छुट्लान कि नछुट्लान ? भ्रष्टाचारको आरोप प्रत्यारोप के हो ? नागरिकमा यताको चासो बढेको छ । राजसंस्था पुनस्र्थापनाको आन्दोलन प्रहसन हुनथाल्यो । राजतन्त्रवादी भनाउँदाहरुले पूर्वराजालाई नै विवादमा पारिदिए । राजाको बढ्दो क्रेजमा धक्का लगाइदिए । राजाको जन्मोत्सवमा भीड लाग्यो । जयजयकार भयो । त्यो जनआकर्षणको उपयोग गर्न नजानेपछि हलो काट्यो मुङ्ग्रोबाहेक केही भएन ।
हो, नागरिकले परिवर्तन खोजेकै हुन् । नागरिकको चाहनालाई परिणाममुखी बनाउने हुती कसैमा देखिएन । राजाका सचिवलाई श्री ५ किन लेखेको भनेर प्रहरी लगाएर भ्रष्ट सरकारले केरकार ग¥यो, कागज गरायो, राजतन्त्रवादीले कोठे बिरोध र कागजको बक्तव्य निकाले मात्र । कडिकडाउ बिरोध जनाउन सकेनन् । सरकारले नाडी छाम्यो, राजतन्त्रवादीको ह्याउ छैन भन्ने थाहा पायो । राजतन्त्रवादी भनेका अवसरवादी, पानीमरुवा हुन् भनेर भ्रष्टहरुले नै भनेको पनि सुनियो । हिजोसम्म श्री ५ पूर्व हुँदैन भनेर तर्क गर्नेहरुले समेत एकशब्द बोलेनन् । आश्चर्य ।
योभन्दा राजतन्त्रवादीका लागि लाजमर्दो घटना के हुन्छ ? प्रष्ट छ, राजतन्त्रवादी नेताहरु निरीह छन् । फागुन २५ को राजाको स्वागतमा जुटेको भीड देखाएर त्यसको ब्याज खान पल्केकाहरु स्वाद लिनमै ब्यस्त छन् । राजतन्त्रवादीहरु उकअर्कासँग मिल्न नसक्ने, पैसा बाँडफाँडको रडाको, भोलिपदमा को पुग्ने ? यतिमा नै सकियो राजसंस्थावादी आन्दोलन । राजाको बेइजत भयो, आमदेशभक्तहरुको आशामाथि तुषारापात भयो । यिनै निर्लज्जहरु टीभी, यूट्यूव, फेसबुक, ट्विटरहरुमार्फत ठूला ठूला हुँकार गर्नु ब्यस्त छन् । बुझौं, अब यस्तो एजेण्डाका आन्दोलन हुन गाह्रो छ । यस्ताको नेतृत्वमा परिवर्तन हुन्छ भनेर नागरिकमा विश्वास मरेको छ । नेपाल र नेपालीको नियति यिनै भ्रष्टलाई झेल्नु लेखेको रहेछ । केही समयपछि चुनावले छोप्छ, ०८४ को आवधिक निर्वाचन लाग्न सुरु हुनेछ । स्थानीय, प्रादेशिक, संघीय संसदको चुनाव लागि नै हाल्छ । यिनै भ्रष्टहरु रक्सी, मासुभात लिएर जनताको आँखामा छारो हाल्न र चकमा दिन आउनेछन् । पहिले पहिलेको चुनावमा झैं अनेक झुक्यानमा नागरिक पर्नेछन् र चुनावपछि यसैगरी पछुताउने स्थितिमा पुग्नेछन् । नयाँ पार्टीमात्र होइन, पुराना पार्टीका दागी नेताहरुले पनि अनेक तुरुप फ्याक्ने
छन् । अब त सुध्रेलान कि भनेर एक मौका दिउँ भन्ने कमलो मन बन्नेछ नागरिकको । यसैगरी राष्ट्र झन झन रसातलमा भासिदै जानेछ । यसैगरी मैनबत्ती पग्लिएजसरी देश सकिदैजानेछ । असफल हुनेछ । अन्तमा भन्नु पर्दा, जति यी भ्रष्ट गणतन्त्रवादीहरु दोषी छन्, त्यति नै दोषी परिवर्तनकारी भनिएका राजसंस्थावादीहरु पनि दोषी छन् । दोषीमा दरिनेछन् । त्यतिबेला झुक्यानमा परेका नेपालीहरुले थकथकी मान्नु बाहेक अर्को केही विकल्प हुनेछैन । नागरिकमा चेतना रहोस् ।