
काठमाडौं । तिब्बतियन शरणार्थीहरुले ललितपुर जाउलाखेलस्थित तिबेतियन क्याम्पमा नेपालको राष्ट्रिय गान बजाउँदै दलाई लामाको ९० औं जन्मोत्सव भव्यताका साथ मनाएका छन् । कार्यक्रममा दलाई लामाको सन्देश सुनाइएको थियो । सरकारको बक्र दृष्टि नपरोस् भनेर नेपालको राष्ट्रिय गान बजाइएको थियो ।
तिब्बतियन शरणार्थीहरुको ठूलै जनसंख्या ललितपुरमा बस्छन् । पहिले पहिले स्वयम्भु इलाकामा जन्मोत्सव मनाइन्थ्यो । यसपल्ट जावालाखेलमा मनाइयो । फ्रि तिब्बतको नारा लगाइयो, खादा बाँडियो र दलाई लामाको अर्को अवतारको निर्णय दलाई लामाले नै गर्नुपर्छ भनेर ताली पनि बजाइयो । यसपल्ट केही पश्चिमा कूटनीतिज्ञहरुको अर्थपूर्ण सहभागिता पनि देखिएको थियो । हालैका वर्षमा जावलाखेलका ह्याण्डिक्राफ्ट सेन्टर प्रालि नामको कम्पनीबाट दलाई लामाको अनुयायी बनेर कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
नेपालको एक चीन नीति बिस्तारै पातलिदै गएको देखिन्छ ।
अचम्म के देखियो भने दलाई लामाको जन्मोत्सवको यो कार्यक्रममा माओवादी केन्द्रले डेनमार्कका लागि राजदूत बनाएका विजयकान्त कर्ण समेत सहभागी थिए ।
नेपाल एक चीन नीतिअन्तर्गत शरणार्थीका गतिविधि नियन्त्रित मानिने गरेको छ । स्रोतका अनुसार दलाई लामाको तस्वीरका सामु शीर झुकाउन सहभागी भएकाहरु मानवअधिकारकर्मीहरु भवानी खरेल, गोपाल सिवाकोटी चिन्तन, इन्द्र अर्याल, शम्भु लामा पनि देखा परेका थिए ।
कार्यक्रम शरणार्थी क्याम्पका लेखा प्रमुख कर्मा दावाको अध्यक्षतामा भएको थियो । चोभार डोफेलिङ गुम्बाका कुन्से रिन्पोछे प्रमुख अतिथि बनाइएका थिए । स्वयम्भु गुम्बाका प्रमुख झाम्पा लामा, लाओसका कन्सुलर राजु श्रेष्ठ पनि उपस्थित थिए । लाजिम्पाटस्थित तिब्बती शरणार्थी कल्याणकारी कार्यालय र दलाई लामाका प्रतिनिधि सेप्री लोपान टुल्कु ङ्वाङ चोकडुपसँगै विदेशी कूटनीतिज्ञमा नेपालस्थित संयुक्त राष्ट्रसंघीय शरणार्थी आयोगका उच्चायुक्त तथा युरोपेली युनियनकी राजदूत भेरोनिक लोरेनो पनि जन्मोत्सव मनाउन पुगेका थिए ।
अमेरिकी दूतावासका पब्लिक अफेयर्स चिफ माइकल हार्कर, दूतावासकै तिब्बती मामिला संयोजक तथा तिब्बती शरणार्थी पेमा तेन्जिङ, तिब्बती शरणार्थीका निर्वासित संसद सदस्यहरु सेर्ता टासी धुन्दुप र रात्सा सोनाम नोर्बु कार्यक्रममा देखिएको सहभागीले बताएका छन् ।