Advertisement Banner
Advertisement Banner

१३ शुक्रबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान

२३ सोमबार , असार २०८२९ महिना अगाडि

अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान

चितवन, असार २२ । भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका १५ जोडीलाई नगदसहित सम्मान गरेको छ । जातीय विभेद अन्त्यका लागि प्रोत्साहन गर्न महानगरले दलित तथा गैर दलितबीच अन्तरजातीय विवाह गर्ने जोडी एक–एक लाख रुपैयाँले सम्मानित गरेको हो।
अन्तरजातीय जोडीलाई सम्मान गर्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले विगत ५ वर्षदेखि अन्तरजातीय जोडीलाई सम्मान गर्दै आएको बताउनुभयो । हरेक वर्ष सम्मानित हुने अन्तरजातीय जोडीको संख्या बढ्दै गएकोमा उहाँले खुसी व्यक्त गर्दै उहाँले जातीय विभेदलाई न्युनीकरण गर्न यो अभियानले सार्थकता पाएको उल्लेख गर्नुभयो । जातीय विभेदको केही अवशेषहरु अहिले पनि रहेको बताउँदै उहाँले सामुहिक प्रयासबाटै विभेद हटाउनुपर्नेमा जोड दिनुभयो । संविधानले जातीय विभेदलाई अपराधजन्य गतिविधिको रुपमा व्याख्या गरेको र २०६२/६३ सालपछि जातीय विभेद घट्दै क्रममा रहेको बताउनुभयो ।
यस्तै नगर उपप्रमुख चित्रसेन अधिकारीले चुनौती र संघर्षको बाबजुद सामाजिक रुपान्तरणको लागि अन्तरजातीय विवाहले ठुलो भूमिका खेलेको बताउनुभयो । अहिले पनि अन्तरजातीय विवाह गर्नुहुन्न भन्ने सोच पूर्ण रुपमा नहटेको बताउँदै उहाँले यसलाई क्रमशः चिर्दै जानुपर्ने औँल्याउनुभयो ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले २०२१ सालमा पहिलो पटक दलित समुदायलाई भेदभाव गर्ने विषय दण्डनीय भनेर कानुन निर्माण भएपनि ६ दशकसम्म पनि पुर्ण रुपमा नहटेको बताउनुभयो । उहाँले सामाजिक क्रान्तिमा भाग लिने जोडीलाई अप्ठ्यारो परिस्थितीमा पनि एकढिक्का भएर अगाडि बढ्न आग्रह गर्नुभयो ।  
सम्मानित हुनेमा भरतपुर महानगरपालिका–१६ का करण योगी र दिया रामदाम, भरतपुर–२० का अनुप सुनार र सुस्मिता श्रीष, अनिल हरिजन र लक्ष्मी लामिछाने, अशोक परियार र सुमिता रानामगर, भरतपुर–११ का मनोज विश्वकर्मा र जसिका श्रेष्ठ, भरतपुर–६ का सुमन परियार र सिमा लामा परियार, रुपेश भुजेल र अस्मिता विक, भरतपुर–२७ का अशोक परियार र आरती महतो, भरतपुर–२४ का किसान परियार र इन्दिरा तामाङ, भरतपुर–१६ का सरोज सुनार र सोममाया घले सुनार, भरतपुर–१० का विष्णु पौडेल र रोशनी परियार, भरतपुर–२३ का दिपेश सदाशंकर र अन्सु श्रेष्ठ, भरतपुर–१९ का किरण विक र सुनन्दा श्रेष्ठ, भरतपुर–२८ का अविशेक दर्जी र राधा शर्मा र भरतपुर–१२ का मनिष थापा र कुसुम विश्वकर्मा रहेका छन् ।
महानगरले यसअघि आव २०७७/७८ मा तीन जोडी, आव २०७८/७९ मा तीन जोडी, आव २०७९/८० मा सात जोडी र आव २०८०/८१ मा १० जोडीलाई सम्मान गरेको थियो ।