Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

छोरीहरुका गोप्य अङ्गमा कुट्नेलाई पनि छुट

०६ सोमबार , असार २०७३१० बर्ष अगाडि

शंखमुलस्थित केएमसी स्कूलका २३ जना छात्रालाई होस्टल वार्डेनमात्र कुट्न लगाउने प्रिन्सिपल र स्कूलमाथि राज्यले कुनै कारवाही गर्न सकेन। महिला हिंसाविरुद्ध चेतना छर्ने अधिकारवादीले समेत यति जघन्य अपराधबारे चुँइक्क बोलेका छैनन्। आखिर किन? परीक्षाको तैयारी कक्षा भनेर होस्टलमा राखिएका छोरीहरु ३ मिनेट ढिला कक्षाकोठामा आएको निहुँमा होस्टेल वार्डेन बसन्त ज्ञवालीले ती छोरीहरुको संवेदनशील अंगहरुमा पाइपले निर्घात पिटेका थिए। १० कक्षा पढ्ने छात्रा ऐश्वर्या शर्मा, सिसम पोखरेल, अप्सना नेपाल, शुभकामना कुशवाह मानसिक र शारीरिक बिरामी नै भए। स्कूलले कसैले भने फेल गरिदिने धम्की दिए र आफैले एन्टीवायोटिक ओखतीसमेत खुवाएको प्रमाणित भइसकेको हो। अभिभावकहरुले भनेका थिए– छोरीहरुलाई यसरी पिटेको देखेर हामी बेहाल भएका छौं।

यो खबर सार्वजनिक भएपछि वार्डेनले प्रिन्सिपलको आदेशमा कडा अनुशासन कायम गराउन विद्यार्थीलाई तह लगाउनै पर्नेथियो, तह लगाउन पिटेको स्वीकार गरेका थिए। आफ्नी आमालाई समेत शौचालयमा लगेर कुटेको घाउ देखाउनु पर्ने स्थिति भनेपछि कसरी कुटेका रहेछन्?

अभिभावकहरु अझै पनि मानसिक यातनामा छन् र आफू आफूमा भनिरहेका छन्– दश कक्षा पढ्ने छोरीहरुलाई गोरु चुटेजसरी चुट्ने के अपराध गरेछन्? स्कूलले पनि कुनै अपराध गरेको प्रमाण दिन सकेको छैन। भीम धिताललगायतका शिक्षकहरुले पनि केटीहरुलाई पिट्ने र आनन्द लिने गरेको विद्यार्थीहरु नै बताउन्छन्।

जेठ १५ को यो घटनामा स्कूलका माष्टरहरुले पटक पटक अभिभावकहरुसँग माफी मागेर आइन्दा यस्तो हुन नदिने बताइरहदा प्रिन्सिपलले चुँइक्क बोलेका छैनन्। प्रिन्सिपल आफूलाई सत्तारुढ दलको ठूला नेतालाई भनेर कुनै कारवाही हुन नदिने राजनीतिक दबाब र प्रभाव सिर्जना गरिरहेकाले पनि शिक्षामन्त्री गिरिराजमणि पोखरेल, सिडियोले कुनै कारवाही गर्न नसकेका हुन्। साथै प्रिन्सिपलले सिडियोलाई नै सरुवा गराइदिन्छु भनेको पनि सुनियो। राजधानीमै स्कूलहरुमा बालबालिका सुरक्षित छैनन्, शिक्षाका नाममा आतंकित पार्ने गरिएको छ। अधिकारकर्मीले समेत बोल्दैनन् भने महिलाहिंसा बढ्नु स्वभाविक होइन र?