
दैनिक ५० लाख गृहमन्त्रीलाई बुझाएको एयरपोर्ट घूस काण्ड अब आतंककारीलाई समेत सेटिङमा उडाएको हुनसक्ने शंकातिर पनि मोडिएको छ ।
यसकारण पनि न्यायिक छानबिन हुनपर्ने माग जायज लाग्छ । कांग्रेस र एमालेको सत्तागठबन्धनले अन्तर्राष्ट्रिय सुरक्षालाई नै अविश्वसनीय बनाउने खतरा बढेर गएको गम्भीर विषयको उठान भएको छ, निदान जरुरी देखिदैछ ।
भिजिट भिसा काण्डले संसद तातेको छ, न्यायिक आयोग गठन गर्नुपर्ने विपक्षी माग र नैतिकता देखाउन नसकेका गृहमन्त्रीका कारण कांग्रेस र एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको आलोचना भइरहेको छ । यति नै बेला सेटिङमा देशीविदेशी मान्छे उडाउने र घूस खाने डरलाग्दा तथ्य र तथ्याङ्कहरु सार्वजनिक भइरहेका छन् ।
यसैवीच भिजिट भिसा प्रकरणः काठमाडौंबाट चार महिनामा २०० भारतीयको शंकास्पद शिख, बंगलादेशी र अन्यलाई समेत तेस्रो मुलुक उडेको खबरले अन्तर्राष्ट्रिय क्षेत्रसमेत सशंकित हुनपुगेको छ । अख्तियारले अध्यागमन एयरपोर्टमा कार्यरत सहसचिव तीर्थराज भट्टराईको कार्यकालमै ती शिखहरुलाई उडाएको कारण एयरलाइन्स, सुरक्षा निकाय, अध्यागमनलगायतका कर्मचारी शंकाको घेरामा आएका छन् ।
कुनै बेला बिकिनी किलरले चाल्र्स शोभराजले नेपालको एयरपोर्टबाट हात्ती पनि छिराउन सकिन्छ भनेका थिए । दलालले ट्राभल एजेन्सी, अध्यागमन, सुरक्षा निकायसबैतिर सेटिङ मिलाएर शंकास्पद विदेशीहरुलाई विदेश उडाएको अनुसन्धानमा संलग्न एक अधिकारीले नै पुष्टि गरेका छन् ।
२०७६ सालदेखि आवतजावत गर्ने यात्रुहरुको विवरण राख्नका लागि ‘नेपाली पोर्ट’ नामक सफ्टवेयर प्रयोग हुँदै आएको छ । त्यसमा नेपाल प्रवेश गर्ने र बाहिरिने सबै विदेशीको बायो–मेट्रिक विवरण, फिंगरप्रिन्ट राखिन्छ र विदेश जानेको राहदानी, श्रम स्वीकृति, शिक्षा मन्त्रालयले दिने एनओसी र इन्टरपोलका सूची समेत हेर्न मिल्ने व्यवस्था छ । तर यो व्यवस्थालाई बाइपास गरेर केही नहेरी विदेशीलाई पठाउँदा आतंककारीसमेत नेपालबाट उडाइएको त होइन ? भन्ने अनेक प्रश्न उठेको छ । अख्तियारले सहसचिव र अन्य कर्मचारीको निजी नम्बरबाट समेत दलालसँग सम्पर्क रोखेको भेटेको थियो । यसबारण पनि एयरपोर्टको विषय न्यायिक छानबिनकै विषय बन्न गएकोमा आमधारणा बलियो बनिरहेको छ ।
मुख्य सवाल बिबादित सहसचिव भट्टराईलाई २३ असोज २०८१ मा कांग्रेसका सांसद गृहमन्त्री रमेश लेखकले विमानस्थल अध्यागमनको नेतृत्व दिएका थिए । उनलाई अध्यागमन पठाउन सहसचिव सुरेश पन्थीलाई चार महिनामै हटाइएको किन ? भन्ने प्रश्न पनि छ ।
गृहकै संरक्षणमा हुन्थ्यो विमानस्थलमा सामूहिक असुली भन्ने विषय अब लुकाउनु पर्ने देखिन्न । अनुसन्धानमा संलग्नका अनुसार बसमा भारत, बंगलादेशबाट नेपाल भित्रिने र एयरपोर्टबाट तेस्रो मुलुकमा जानेको सूची लामै हुनसक्ने देखिन्छ । यो विषयलाई भारतले समेत चासोमा राखेको छ । अमेरिका र युरोपियन मुलुकले पनि खोजखबर गर्न थालेको सुनिन्छ । खासगरी भारतका आतंककारी, गुण्डा लरेन्स विश्नोई समूहका सदस्य समेत नेपालको एयरपोटृबाट उडेको खबरले मलेसिया र कतारमा पनि । यसैवीच भारतको प्रहरी टोली काठमाडौं आएपछि एयरपोर्ट विषय झन पेचिलो बनेको छ ।
विमानस्थलमा सुरक्षा व्यवस्थापन फितलो भएको दावी गर्ने भारतले हस्तक्षेप गर्ने स्थिति समेत छ । अब पनि न्यायिक छानबिनमा सत्ताधारी पछि हटे भने यसको दूरगामी असर पर्ने देखिन्छ ।