
राजतन्त्रवादी आन्दोलन तुहिएकै हो त ? विज्ञप्तिमा आन्दोलन जारी छ । राजधानीका सडक शान्त भइसक्यो । विज्ञप्तिका अनुसार जिल्लाहरुमा आन्दोलन केन्द्रित गर्ने, टोलटोलबाट आन्दोलन छेड्ने दावी गरिएको छ । समीक्षा बैठकमा मारामार भएपछि पूर्वपश्चिम लागेका राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय शक्ति लगायतका संस्थाहरु अपन डा.जगमान गुरुको पैजापाठको आन्दोलन पनि सेलाएको देखिन्छ । राजदरवारस्थिति नारायण मन्दिरमा राजालाई दर्शन गराएर चर्चामा आएका गुरुङ अब कालभैरव पूजातिर लागेको देखिन्छ । राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय शक्तिहरु पनि कुहिराका काग बनेका छन् । उता केशर विष्ट मौन छन् । थुप्रै अन्य संस्थाहरु रानु बिनाको माउरी बनेका छन् । यसैवीच बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने पञ्चायतदेखि अहिलेसम्म कुनै पनि पद नलिएकालाई संगठित गराएर आन्दोलन गर्ने भन्दैछन् । न्यूनसंख्याका राष्ट्रभक्ता युवाहरु सिंहदरवार वरिपरि नारा लगाउँछन् र सुस्ताउँछन् ।
जेठ १५ देखिको केही दिनको आन्दोलनलाई बिश्राम दिएर आन्दोलनकारी राजतन्त्रवादीले राजा ज्ञानेन्द्रलाई अझ बदनाम गराएको विश्लेषण भइरहेको छ । फागुन ७ को राजाको आह्वानको जगहँसाई गरिदिएका छन् । केही हजार मानिस जम्मा पारेर राजधानीमा नारा जुलुस लगाएर सकिएको आन्दोलनले नतिजा दिनसक्ने कुरै थिएन । गणतन्त्रवादीसँग राजतन्त्र मागेर पाउने कुरा थिएन । यो आन्दोलन त चुनाव प्रचारको शैलीमो सुरु गरियो र अन्त पनि त्यसैगरी हुनपुग्यो । भ्रष्ट सरकारले तोकेको ठाउँ, समयमा गरिने बिद्रोह पनि बिद्रोह हो र , जेठ १५ देखिको आन्दोलनमा ठूलै उत्साह प्रसार भएको थियो । उत्साहमा आयोजकले नै पानी खन्याइदिए । सतहमा उद्देश्य राष्ट्रवादी देखिए पनि भित्री रुपमा अदृश्य मालिकको अपवित्र आदेशको पालना त गरिरहेका थिएनन् यिनले ? आन्दोलन नाटक मञ्चनजस्तोमा भयो । गणतन्त्रवादीले जे चाहेका थिए, त्यही भयो ।
फेरि पनि जनमानसमा प्रश्न छ– यही भ्रष्ट शासन रहिरहने भयो त ? भुङ्गोमा परेको माछा छटपटिएझैं छटपटिएका जनताले त्रास नपाउने नै भए त ? एकथरि विश्लेषकहरु आन्दोलनको स्वरुप परिवर्तन भएको मात्र हो भन्छन् । राजधानीमा उत्रिसकेको जनमानसलाई जिल्ला केन्द्रित गरेर अर्को कोणबाट गणतन्त्रमाथि कसरी दनक देलान् यिनले ? यो भ्रष्टपद्धति समाप्त पार्न यिनलाई नै लिएर नयाँ आन्दोलन भइरहेको दावी गर्नेहरु पनि छन् । तिनीहरु भन्छन्– माधवकुमार नेपाल पतञ्जली जग्गा प्रकरणमा फसे । मोहम्मद अफताव आलमलाई सफाई दिलाएर कांग्रेस अलोकप्रिय बन्न पुगेको छ । टेरामक्स काण्डमा मोहन बस्नेत फसेका छन् भने अब गिरिबन्धु, भुटानी शरणार्थी, टीकापुर जग्गा प्रकरण, सतुङ्गल जग्गा प्रकरणलगायतका सबै काण्डका फाइल खोलिदैछन् । यी फाइलहरु खुल्न थालेपछि भ्रष्टहरु कि त भाग्छन्, कि त मुद्दा खेपेर जेल पर्छन् । अबको रणनीति यही हो त ?
जसरी यदुवंशीहरु मापसमै झगडा गरेर सखाप भए, त्यही हुनेखालका परिदृश्य विकसित हुँदैछन् । राजेन्द्र लिङदेन, कमल थापा, केश विष्ट आदिहरु वारपार नपाउने देखेपछि एकदोस्रालाई खुइल्याउने जोडतोडका कारण विकसित घटनाक्रमबाट लाभ लिने मूडमा देखिन पुगेका छन् । केर्दैजाउँ क्यान्टोनमेन्ट, एनसेल, ओम्नी, वाइडबडी खरिद, बुढी गण्डकीका फाइल पनि खुलन सक्छन् । जुनसुकै कारणले फाइल खुले पनि अन्ततोगत्वा यसबाट घाटा गणतन्त्रवादीलाई नै लाग्नेछ । स्पष्ट छ, असली गणतन्त्रको भ्रष्टाचारी मुखुण्डो खुल्दै जानेछ ।
राजतन्त्रवादीको आन्दोलन तुहिएको लगत्तै माधव नेपाललाई डामियो । न्यायालयलाई नङ्ग्याइयो गणतन्त्र दिवसको अघिल्लो दिन आलमलाई सफाइ दिएर । कांग्रेस सांसद चन्द्र भण्डारीले त ठूला ठूला जेल बनाउनुपर्ने माग गरिसकेका छन् । भ्रष्टाचारी, राष्ट्रघाती, जनघातीको संख्या यतिबिघ्न धेरै छ कि अहिलेको जेल अपुग हुने जिकीर भण्डारीको छ । पञ्चहरुलाई जनताले साथ दिएनन्, पञ्चायत सकियो । बहुदल कालारात्रि बन्यो, बहुदल पनि सकियो । लोकतान्त्रिक गणतन्त्र भ्रष्टाचारको नाली नै बनेकाले जनताले साथ दिने अवस्था छैन, भ्रष्टहरु थर्कमान छन् । फाइल खोल्ने कार्यको सुरुआत भएको छ । यसरी फाइल खोल्न थालियो भने भ्रष्टहरुको भागम्भाग हुने पक्का छ । यी यदुवंशी नै सावित हुनेछन् । अति भएपछि यिनको नियति यही नै हुनुपथ्यो, यही नै हुनेछ । संवैधानिक निकायहरु सकृय भइदिए भने असफल संविधान, असफल संसद, सरकार र जनप्रतिनिधि सबैको दोहोलो काढिनेछ । आन्दोलन, बिद्रोह भन्दा पनि हरेक नागरिक, पदासीनले पुस्ताको भविष्य हेरे भने राजतन्त्र ल्याउँछौं भन्नेहरुले झुक्याइरहनै पर्दैन । चुनावमा सबै दण्डित हुनेछन् ।