
नेकपा एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ नेपालको नेतृत्व छनौटका लागि मतदान सुरु भएको छ । आज बिहान १० बजेदेखि पोखरा सभागृहमा मतदान सुरु गरिएको हो ।
भावी नेतृत्व छनौटका लागि सहमतिको लामो रस्साकस्सी भएपनि अन्ततः नेतृत्व छनौटका लागि मतदान नै हुने भएको हो । अहिले अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीले आ-आफ्नो प्यानल खडा गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।
निर्वाचनका लागि ४२ इलेक्ट्रिक मेसिन राखेर प्रदेश पिच्छे फरक फरक मतदान बुथ राखिएको छ । थेबे प्यानलबाट उपाध्यक्षमा क्रमशः महाराज गुरुङ र विनय शाह तथा महासचिवमा महेश चौलागाई उम्मेदवार रहेका छन भने पुरी प्यानलबाट उपाध्यक्षमा प्रकाश गौतम र पर्वत भण्डारीसहित महासचिवमा कुबेर अधिकारी चुनावी मैदानमा उत्रिएका छन् ।
जेठ ९ गते शुक्रबारदेखि सुरु भएको युवा संघ नेपालको १० औँ महाधिवेशनबाट अध्यक्ष बन्न क्षितिज थेबे र सुमन पुरी प्रतिस्पर्धामा छन् भने उक्त कार्यक्रमको उदघाटन एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।