Advertisement Banner
Advertisement Banner

२५ बुधबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

गण नभएको गणतन्त्र दिवस

१७ सोमबार , जेठ २०७३१० बर्ष अगाडि

२०६५ साल जेठ १५ गते संविधानसभाले गणतन्त्र कार्यान्वयन गरेको दिनलाई गणतन्त्र दिवस मनाउने गरिएको ८ वर्ष भइसक्यो। यसपटक पनि शाही सैनिक मञ्चमा गणतन्त्र दिवस मनाइयो। गणतन्त्र दिवसमा सेनाले हेलिकोप्टरबाट फूलवर्षा गर्‍यो, केही कवाज र क्रियाकलाप देखाइदियो, अन्य सुरक्षा निकाय, खेताला कलाकार र स्कूले विद्यार्थीलाई उपस्थित गराइयो र गणतन्त्र दिवसको कर्मकाण्ड सम्पन्न गरियो। सैनिक हेलिकोप्टरले गणतन्त्र दिवस २०७३ को ब्यानर देखायो, मानौं भोटोजात्रा सकियो।
केही गण टुँडिखेलको बार बाहिरबाट तमासा हेरिरहेका थिए। गणले चटक हेरेझैं हेर्नुपर्ने र सत्ताधारीले गणतन्त्रको रमझममा भुल्नुपर्ने कस्तो गणतन्त्र दिवस हो यो? गण नै सहभागी नभएको पनि गणतन्त्र दिवस हुनेरहेछ। यही परम्परा निरन्तर योवर्ष पनि कायम रह्यो। प्रचार देशैभरि गणतन्त्र दिवस मनाइयो भनिए पनि यथार्थमा सरकारी खर्च भयो, सरकारी मान्छे र राजनीतिक बर्गले रमाइलो गरे, गणतन्त्र दिवस सकियो। गणतन्त्र दिवसमा गणले गर्व गर्न सकेको देखिएन। गणतन्त्र दिवसमा गणको प्रचार हुनुपर्ने हो, गणको उज्यालो अनुहार देखिनुपर्ने हो। त्यो देखिएन बरु, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखहरुको उज्यालो अनुहार पो देखियो। यसपटकको गणतन्त्र दिवसमा पूर्व प्रधानमन्त्रीहरु माधव नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराई, कांग्रेसका सभापति शेरबहादुर देउवा समेत समारोहमा अनुपस्थित थिए। प्रधानमन्त्री केपी ओलीले संविधान जारी भएसँगै गणतन्त्र संस्थागत भएको र सबै जातजाति र भाषाभाषी तथा वर्ग र समुदायलाई समान अवसर प्रदान गरेको भनेर फूर्ति लगाए तर जनजाति, मधेसीले पोखराबाट ३ महिने आन्दोलन घोषणा गरिदिए।