Advertisement Banner
Advertisement Banner

०१ बुधबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

Image

फेरि उचाइ लिदैछ आन्दोलनले

शाश्वत शर्मा

२३ मंगलबार , बैशाख २०८२८ दिन अगाडि

फेरि उचाइ लिदैछ आन्दोलनले

भारूराम भनेर चिनिने डा.बाबुराम भट्टराईको भारत भ्रमण र भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेको नेपाल भ्रमणपछि गणतन्त्रवादीहरू औधी खुशी भएका छन् । यिनीहरू दिल्लीको स्पष्ट संकेत भन्दै नेपालमा राजनीतिक व्यवस्था परिवर्तन गर्न चाहेको छैन भन्ने दिल्लीको सन्देश बगारी रहेका छन् । यिनीहरू खुशी हुनुको अर्को कारण राजतन्त्रवादी र हिन्दुवादीहरूको आन्दोलन शिथिल भएको आँकलन गरेर । हो, यतिबेला राजसंस्थावादीहरूको आन्दोलन केही शिथिल भएको छ । तीनकुने आन्दोलनमा राज्य र प्रतिपक्षीको षडयन्त्रका कारण राजसंस्थावादीहरूलाई डाम्ने र प्रहरी, अदालतको झण्झट दिने काम भएको छ । राजसंस्थावादीहरू पूजाआजा, कोठे बैठक र राप्रपाको आमसभामा सिमित छ राजसंस्थावादीको आन्दोलन । आउँदो जेठ १५ गते राजा ज्ञानेन्द्रलाई गद्दीमा राख्ने साइत छ भनेर डा.जगमान गुरूङले भविष्यवाणी गरेका छन् । यो भविष्यवाणीमा धेरैले शंका गरेका छन् । किनकि राजाको सहमति, सहकार्य र संवादका लागि पटक पटक गरेको आग्रहलाई बेवास्ता गर्नेले यति सजिलै सत्ता छाड्लान्, गणतन्त्र नै समाप्त पार्ने तमासा हेर्लान भन्न सकिन्न ।
त्यसो त भारतको ध्यान काश्मिरमा भएको आतंककारी घटनातिर मोडिएको छ । पाकिस्तानसँग युद्ध हुनसक्ने स्तरमा तनाव बढिरहेको देखिन्छ । विजय चौथाइवालेको नेपाल भ्रमण आतंकका विरूद्ध नेपालमो साथ र सहयोग खोज्न आएको बताइन्छ । त्यसो त राजाले पनि काश्मिरमा भएको आतंककारी हमलाको निन्दा गरिसकेको स्थिति छ । यसैवीच विश्लेषकहरू चाँडै नै राजा ज्ञानेन्द्रको भारत भ्रमण हुनसक्ने बताउन थालेका छन् । लाख प्रयत्न गर्दा पनि भारतले प्रम ओलीलाई भ्रमणको निम्तो नदिएको सन्दर्भमा राजाको भ्रमण गणतन्त्रवादीलाई ब्लो हुनसक्नेछ ।
घटनाक्रम हेर्दा लाग्छ, परिवर्तनको आन्दोलन रोकिएको छैन । यो शान्ति, आँधी अघिको सन्नाटामात्र हो । पक्राउ परेका राजावादीको रिहाइका लागि रिले अनसन, मन्दिरमा पूजाआजा र तान्त्रिक विधि समेत अपनाइएको देखिन्छ । अर्थात् राजतन्त्रवादीको आन्दोलन निभेको छैन । मधुरो भएकोमात्र हो । चानचुने बिद्रोहबाट परिवर्तन असम्भव छ भन्ने बुझेका राजतन्त्र र हिन्दुवादीहरू सबल रणनीति बनाउन जुटेको देखिन्छ । सूचनाअनुसार शिथिल भएजस्तो आन्दोलन छिटै उग्र भएर आउने अनुमान गर्न सकिन्छ । डा.बाबुराम र चौथाइवालेको सांकेतिक कुरामा निराश हुनुपर्ने अवस्था छैन । माओवादी र दलहरूलाई मिलाएर राजतन्त्र फाल्नु गल्ती भएको भारतले अनुभूति गरेको देखिन्छ । भारतले अतिशयोक्ति प्रस्ताव ल्याएको र संस्थापनले नमानेकै कारण बहुदल आयो, बहुदल गएर लोकतन्त्र आयो, राजा फालिएका थिए । अब गणतन्त्रवादीलाई अलोकप्रिया पारिसकेको सन्दर्भ र भारतको नयाँ छिमेकनीतिका कारण बुढोपुस्तालाई किनारा लगाउने र हिन्दुराष्ट्रसहितको बहुदलीय प्रजातन्त्रका लागि भारत अग्रसर भएको भनिन्छ । यसेका लागि संविधान संशोधनको मुद्दा समेत बहसमा आयो तर गणतन्त्रवादी निर्णयमा पुग्न सकेनन् ।
केशर बिष्ट,कमल थापा, राजेन्द्र लिंगदेन, नवराज सुवेदीहरूले हात मिलाए, गला मिलाए, एकतावद्ध भएर अगाडि बढ्ने बताए । सत्तारूढ एमाले कांग्रेसका केही नेताको जनता उक्साउने र भाषण र तल्लो स्तरको अभिव्यक्ति तथा संसदमै सरकारको नीति कार्यक्रममा राष्ट्रपतिको मुखैबाट प्रतिगामीलाई दबाउने आशय आएपछि  सत्ताको मति बुझ्न कठिन छैन । राजावादी असफल भए, हामी सफल भयौं भन्ने सत्ताको अहंकारले जनतालाई असन्तुष्ट पार्दै अराजकता फैलाएको छ । एक नायिकाले नवयुवराज हृदयेन्द्रलाई तुच्छ टिप्पणी गरेको र त्यसपछि नवयुवराजले दिएको शालिन जवाफले हृदयेन्द्रको परिपक्वता देखिन्छ । देशका प्रम ओलीले राजा हुने सपना नदेख्नु, बरू सिनेमामा आउनु भनेर अर्ति दिएपछि ओली कुन स्तरका रहेछन् भन्ने थप खुलासा हुनपुगेको छ । समाजमा बढ्दो असुन्तुष्टिले नेपाल पद्धति परिवर्तनको दोबाटोमा पुगिसकेको छ । जनता परिवर्तनको पक्षमा भए पनि अगुवाहरूको कछुवा चालले भ्रमित पारेको छ । अन्यौल बढेको छ । आशा गरौं भविष्यमा परिवर्तनको आन्दोलन फेरि एकपल्ट आँधी बनेर सडकमा देखिनेछ र त्यो आँधीलाई राज्यसत्ताले दमन गर्नसक्नेछैन । यसैवीच चर्चा छ, राजा स्वयम् सडकमा निस्कने योजनामा छन् । मन्दिरमै जान निस्के भने जनताले यो सत्तालाई समाप्त पारिदिनेछ ।