
हुन त ६ दर्जनभन्दा बढी छन् राजतन्त्र र हिन्दुराष्ट्रका नाममा खुलेका पार्टी, संगठनहरू । हरेक पार्टी र संगठनकमा लागेकालाई नेता हुनैपर्ने रोगका कारण कहिले पनि एक हुन सकेनन् । यसैको प्रतिफल हो, ९४ प्रतिशत ॐकार परिवारले राजतन्त्र र सनातन हिन्दुराष्ट्र पुनस्र्थापना हुनुपर्छ भन्छन् तर १७ वर्षदेखि यतिठूलो प्रचण्ड बहुमतले चाहेको पद्धति पाउन सकेनन् ।
यस्तै अहंकारको अँध्यारोमा भड्किएका आत्मा हुन्– केशर बहादुर बिष्ट, राजेन्द्र लिंगदेन, नवराज सुवेदी र कमल थापा । यिनीहरूले बल्ल आएर एक मञ्चमा उभिन पुगे, हातमा हात मिलाए । मुद्धामा मुद्धा मिलाए । मनमा मन मिलाए कि मिलाएनन्, शंकै छ । यिनीहरूमात्र मिले पनि ठूलै आन्दोलन हुनसक्छ । यिनको सिद्धान्त, लक्ष्यका विषयमा गणतन्त्रवादीले खिसिट्यूरी गर्न सक्नेछैनन् । राजतन्त्र र हिन्दुवादी हुँ भन्नेहरू एकता गर्न नसकेकै कारणले गर्दा राजाले सहमति, सहकार्य, संवादका माध्यमबाट अघि बढौं, प्रजातन्त्रको बिकल्प छैन भन्दा समेत राजनीतिक दलहरू वार्ताका लागि अघि सरेनन् । ठूला ३ दल कांग्रेस, एमाले र माओवादीलाई सत्ता, शक्तिकै नशाले च्यापेको छ । सत्तास्वार्थको भाङ्मा लठ्ठिदा देश लथालिङ्ग अवस्थामा पुगिसकेको छ । देशलाई कसरी सम्हाल्ने भन्नेसम्मको बहस गर्दैनन् यिनीहरू ।
ठूला तीन दलवीच सत्ताको तीब्र प्रतिस्पर्धा १७ वर्षदेखि जारी छ । भागबण्डा र लोकतन्त्रलाई लुटतन्त्र बनाउने यिनको एकसूत्रीय एजेण्डा हो । भाषण लोकतन्त्रको गर्ने, लोकलाई विभेद र निषेधको सिकार बनाएर सिंहदरवारमा रजगज गर्ने यिनमा लत बसिसकेको छ । भ्रष्टाचारमा डुब्नाका कारणले गर्दा नेताहरूप्रति जनताको भरविश्वास गुमिसकेको स्थिति छ । तथापि यिनीहरू राज्यसत्ताको दुरूपयोग गरेर प्रतिस्पर्धी, विपक्षीलाई अन्यायपूर्वक ठेगान लगाउने र आफूखुशी ‘इम्परर न्यूक्लोथ’का बादशाह जसरी शासन गर्ने गरेका छन् । जुन शासनलाई जनताले नकारीसकेका छन् ।
तथापि आफ्ना असफलता, अकर्मण्यतालाई राजतन्त्रको कारण देखाएर चोखो हुने गरेका छन् । अहिलेको जनविद्रोह, आन्दोलनमा जे देखियो, त्यसको कारण र परिणाम पनि यिनै हुन् । यसकारण न्यायिक छानबिन गराउने चाहेनन् । राजतन्त्रवादीको एकता सुरू भएको छ, यिनीहरू मिलेर आन्दोलन गरे भने यो भ्रष्टतन्त्रको परिवर्तनको सुनामी नआउला भन्न सकिन्न ।