मधेसी मोर्चासहितको संघीय गठबन्धनका नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी ओलीलाई बहुला कुकुर हुन्, जतिखेर पनि टोक्नसक्छ भनेर अराजनीतिक र असभ्य भाषा प्रयोग गरेर गाली गरे। राजनीतिमा यस्तो चल्छ, प्रचण्डले ओलीलाई मानसिक सन्तुलन हराएको भनेका थिए तर आज तिनै प्रचण्ड ओलीका सत्तासाझेदार बनेका छन्। जनतामा नेताहरुप्रति राम्रो भावनाको विकास गर्दैन। केपी ओलीले पनि मधेसी मोर्चालाई भारतीय भनेर गाली गरेकै हुन्। यस्ता भाषाहरुले नेपाली राजनीतिक स्तरको मापन गर्छ। मधेस र पहाडीयावीचको दूरी झन बढेर गएको उदाहरण हुन् यी। मधेस नेपाल हो, नेपाली एकताका लागि मधेसलाई मूलधारमा समेट्नैपर्छ। यो यथार्थवोध अझैसम्म प्रधानमन्त्री केपी ओलीलाई भएको देखिदैन। ओली जसरी पनि मधेसीमोर्चासहितका गठवन्धनलाई गलाएर थचार्न चाहन्छन्। जुन द्वन्द्व विकास हुँदै गएको छ, यो जारी संविधान र सहकार्यका लागि दुर्भाग्यपूर्ण छ।
यहीकारण संसद असरल्ल छ। कार्यविधि समेत पारित हुनसकेको छैन। नियुक्तिका लागि सिफारिस भएका प्रधानन्यायाधीश, न्यायाधीश, राजदूतहरुसमेतको सुनवाई हुननसक्दा संसदको दायित्वसमेत अप्ठेरोमा परिरहेको देखिन्छ। \u000a संघीय गठबन्धनको आन्दोलन जारी छ, प्रधानमन्त्री ओलीले पुनः वार्ताका लागि आह्वान गरेका छन्। गठबन्धनले नतिजामुखी नहुने र गैरजिम्मेवार प्रधानमन्त्रीले आह्वान गरेको वार्तामा नबस्ने भनिसकेका छन्। संघीय गठबन्धनले प्रचण्ड, ओली, देउवाका साथ वार्ता हुनुपर्छ भन्ने माग राखेका छन्। सरकारी वार्ता समितिका संयोजक परराष्ट्रसहितका उपप्रधानमन्त्री कमल थापा इजरायल र भारतयात्रामा निस्केका छन्। प्रमले आह्वान गरेको वार्ता कोसँग गर्ने? सरकार वार्ता गर्न होइन, देखाउनका लागि वार्ता भनिरहेको छ।
प्रधानमन्त्री ओलीले माग पूरा गर्छन् भन्ने विषयमा संघीय गठबन्धनले विश्वास नै गरेको छैन। उनीहरु भनिरहेका छन्– आन्दोलनका क्रममा घाइतेको उपचार, मृतकले पाउनुपर्ने क्षतिपूर्ति र सहिद घोषणा, झूठा मुद्दा खारेजी गरेर वार्ताको वातावरण बनाएको खोई? आन्दोलनकारी भन्छन्– मधेस आन्दोलनलाई सिंहदरवार, वालुवाटार घेर्यौं। ओलीले टोक्ने डरले आन्दोलनलाई कोणसभामा परिणत गरेका छौं। आन्दोलन फेरि नाकामा पुग्न पनि सक्छ। हाम्रा माग छिटो पूरा नगरे मुलुक ठूलो दुर्घटनामा फस्न सक्छ। अवको आन्दोलन चर्कियो भने ओलीले थेग्न सक्दैनन्।


