Advertisement Banner
Advertisement Banner

११ बिहिबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

Image

नेताकै मात्र जय हुने भए

बैकुण्ठ भण्डारी

१० बुधबार , बैशाख २०८२एक दिन अगाडि

नेताकै मात्र जय हुने भए

फागुन ७ गतेको सन्देश के आयो, राजाको झाँको झार्न दलहरू कस्सिए ।
नयाँ वर्ष २०८२ को सन्देश के आयो, कसैले परिवर्तनको मार्गचित्र भने, कसैले सहमति, सहकार्य र संवादको आह्वान भने, अर्थ अनेक लगाइयो ।
मोवाइलको जमाना छ, सबैको हात हातमा भएको मोवाइलमा सन्देश होस् कि अरू केही, लाइक र कमेन्ट गर्नेहरू लाखौं देखिन्छन् । सुदूर गाउँमा रहेका रामवीरे साइँला शाही पनि कतारबाट छोराले पठाइदिएको स्मार्टफोनमा शाहको भिडियो सन्देश हेरिरहेका थिए । भिडियो सन्देशमा २०८१ साल घनघोर निराशाजनक भएको र पृथ्वीपथ नै राजनीतिको मूल सार भएको भनेपछि रामवीरे साइँला शाही हेरेको हे¥यै भएछन् । पृथ्वीपथको चर्चा चुलियो ।
स्मार्टफोनलाई यसो चलाउँदै गरेको रामवीरे साइँलाले एकातिर भिडियो सन्देश अर्कोतिर तीनकुनेको दनदनी बलेको घरको भिडियो पनि हेर्न भ्याइहाले । अनि त्यही भिडियोको छेउमा लेखेको अक्षर पनि कनिकुथी पढे । पछिल्लो समय सामाजिक सञ्जालमा पोस्ट्याएका भिडियो त्यसमा लेखिएका कुराले मान्छेलाई मनोरोगी बनाइदिइसकेको छ । जसरी क्यान्सरका रोगीहरू बढ्दै छन् महामारीका रूपमा मनोरोगीहरूको संख्या पनि बढ्दै गइरहेका छन् । 
हिजो पञ्चायती शासन राम्रै भोगेका रामवीरे साइँला आफैं पनि बाइसे चौबिसे राज्य हुँदाका राजखान्दानका भनेर नाक फुलाउँछन् । माइला राजाले पृथ्वीपथ नै राजनीतिको सार हो भन्दा दंग परे । उनले हत्त न पत्त काठमाडौंमा बसेको भतिजलाई फोन गरेर सोधे, ‘होइन हो भतिज यता मोबाइलमा त के–के हुन्छ भन्ने कुरा आयो त, के हो कुरा ?’
ठूलो बाजेको कुरा सुनेर भतिज भन्दै थिए, ‘गरिरहेको छ त, गाउँ सहर घुमेकै छ जयजयकार मनाकै छ । त्याँ भन्दा के चाहियो र ठूलो बाजे ।’ रामवीर साइँलाले बुझेकी बुझेनन्, अँ अँ भने । यताबाट भतिजले उत्तर दियो, ‘सुन्नुस् ठूलो बाजे, पहिले एउटा राजा थिए । तम्रा गाउँमा अहिले कति राजा भए देशभरिमा ? गनतन्त्रले धेरै राजा बनायो । देश सक्कायो रे ? त्यही भएर उ बेलाँ दिएको नासो फेरि जनतासँग फर्काउन सबैको साथ मागेको रे ? जनताले साथ दिनेछन् ।’
रामवीरले फेरि प्रश्न गरे, ‘त्यो होइन हो गाउँमा त कहाँ छन् र नेताहरू सबै सदरमुकामतिरै होलान्, राजधानीमै बैठकाँ आका होलान् नि ? पालिकामा कहिल्यै भेटिन्नन् !’ उही जेठ लागेसी डोजर कुदाउने र ठेकेदारलाई पैसा बाँड्ने बेलामात्र टुप्लिन्छन् ! ‘त्यही भएर नि होला कहिले के सन्देश कहिले के सन्देश लिएर आका । ठूलो बाजे अरू के छ त गाउँतिरको खबर ?,’ भतिजले यताबाट सोध्यो ? 
‘ठिकैछ । अरू के हुनु ! गाउँमा त उही हामी जस्ता बूढाबूढीबाहेक को नै पो छ र ? सबै मुग्लान गाका छन् नि ! यसपालिको दसैंतिहारमा त गाउँ रित्तो भो बाबै । अरू बेला के हुन्छ र !’ ‘के गर्नु हो ठूलो बाजे गाउँमा माटो जोतेर पेट पाल्न पुग्दैन सबैले आफ्नो केही त गर्नै प¥यो । गाउँमा बसेर भइदिएको भए त किन छाड्दो होलान् र गाउँ ?,’
‘हुन त हो क्यार तर पनि यहाँ त मरेको लास बोक्न पनि मान्छे पाउन मुस्किल भो त ! खेतबारी सबै बाँझो भए । खेती हुन छाड्यो, जंगल बाँदर गाउँ पस्न थाले । गाउँमा घर त सबै रित्ता छन् । तिम्रा काइँलाका खलक पनि सदरमुकाम छिरे क्यारे । अब त को नै पो छ र हामी दुई–चार घरकाबाहेक !’ काकाले लामो श्वास फेरे ।
भतिजले भन्यो– ‘हाम्रा पनि धेरै दुःख छन् हो ठूलो बाजे । गाउँमा बरू पैँचो मागेर पनि बाँचिन्थ्यो । सहराँ त काम नगरे भोकै मरिन्छ । गाउँका नेता भए पनि हेर्ने होइनन् । उनकै कार्जेकर्तालाई नै पुग्दैन । आफ्नो छोरानातिका पालासम्म पुग्नेगरी सम्पत्ति जोड्दै राजनीति ग¥या छन्, अनि कसरी होला त ?’
रामवीरले उताबाट भने, ‘ठिकै भनिस्, पहिलेपहिले भए पो सबैको जय होस् । सबैको भलो होस् । कसैले पनि भोकै पर्न नपरोस् भन्ने दिन थिए । अहिले त आफ्ना पेट भर्न पाएसी पुग्छ । त्यसोभए के हुन्छ त अव ?’ जिज्ञासा राखे ।
भतिज भन्दै थियो, ‘केही पनि हुँदैन । जुन जोगी आए पनि कानै चिरेका हुन् ।’ भित्रै मनदेखि नमिठोसँग उसले भन्यो, ‘तिम्रा हाम्रा अवस्था नफेरिएसम्म व्यवस्थामात्र फेरिएर केही हुन्न, नाममात्रको व्यवस्था फेरिने टुप्पीको मान्छेमात्र फेरिएर के काम ? मर्ने र मारिने त उही गरिबकै सन्तान हुन् !’उताबाट बूढाले सान्त्वना दिँदै भने, ‘लौ लौ बचेर हिँडेस् आन्दोलन सान्दोलन भनेर नहिँडेस्, आफ्नो कर्म जे हो त्यही गरेस् । देश लुटिसके । हामीसम्म घिटीघिटी गाउँमै बसौंला । आफ्नो जीउ सुरक्षित राखेस् । विचार पु¥यायस् ।’
उता ठूला बाजेको सन्देशले भतिज खिन्न भयो । ‘हस् बरू त्यतातिर पनि ख्याल गर्नु ।’ दुवैले फोन काटे ।रामवीरे साइँला शाहीको अनुहारमा खुसी थिएन । होस पनि किन राजधानी बसेको भतिजले सुखैको कुरा सुनाउँला भन्ठानेका थिए । दुखकै कुरा सुनेपछि डाँडामाथिको घामजस्तै भएर बसेका उनको मन रूनु त स्वाभाविकै थियो । 
गाउँभरि बाबा आमा छन् । रामवीरे साइँलामात्र होइनन् नि । ७५ नाघेका धेरै बा आमाहरूको अवस्था उस्तै छ । कानले सुन्दैन । मस्तिष्कले बिर्सन थालेको छ । उमेरले नेटो काटिसकेको छ । जन्मेको माटो नै बिरानोजस्तै हुन थालेको छ । राजनीतिमा जिन्दावाद, मूर्दावाद चलिरहेको तिनलाई के अर्थ भो र ?
अघिल्लो वर्ष जे भयो, भयो, नयाँ वर्षमा दे र जनताको जय होस्, यत्ति सुन्न पाइयो भने ठूलो कुरा हुनेछ ।