Advertisement Banner
Advertisement Banner

०९ मंगलबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

Image

यता पनि ध्यान दिने कि ?

शाश्वत शर्मा

०९ मंगलबार , बैशाख २०८२८ घण्टा अगाडि

यता पनि ध्यान दिने कि ?

सामाजिक सञ्जालमा पढियो– भ्रष्टाचारको खुलासा नभएको दिनलाई राष्ट्रिय दिवस घोषणा गर्नुपर्छ ।
हुन पनि भ्रष्टाचार नेपालको दिनचर्या हो । भर्खरै समाचार आयो, चीनको एक्जिम बैंकबाट ऋण लिएर बनाइएको पोखरा अन्तर्राष्ट्रिय विमान स्थलमा १४ अर्ब घोटाला भएको छ । २५ अर्ब ऋणमा १४ अर्ब भ्रष्टाचार । एकातिर विमानस्थल चल्न सकेको छैन, अर्कोतिर सावाँ ब्याज तिर्न नसकेर चीनलाई ऋण माफीगरिदिन पत्र नै लेखिएको छ । यो पोखरा विमानस्थल हो कि पोखरा बेइमानस्थल ?
घोटालाको रिपोर्ट संसदीय छानबिन समितिले निकालेको हो । महालेखाको रिपोर्टमा पनि घोटालाको तथ्याङ्क छ । घोटाला अर्थात् शासक र प्रशासकले भ्रष्टाचार गर्ने, ऋणचाहिं नेपाली जनताले बोकिदिनुपर्ने । यता गभर्नर नियुक्तीमा अर्वको लेनदेनको कुरा बाहिर आएको छ । सत्तारूढ दलको भागबण्डामा गभर्नर नियुक्त हुने कुरा लाजमर्दो नै हो । काविललाई पन्छाएर घुस ख्वाउनेलाई नियुक्ती, अचम्म छ यो देशको शासन प्रशासन ? सत्तारूढ दलकै नेता भन्छन्– दलालहरू प्रधानमन्त्रीको बेडरूमसम्मै पुग्ने गरेका छन् । गणतन्त्र भ्रष्टाचारमय भयो ।
राष्ट्रले ऋण लिन्छ, लिनुपर्छ । ऋणको सदुपयोग हुनुपर्छ । ऋण लिने, भ्रष्टाचार गर्ने, शासक र प्रशासक मोटाउने ? यो त राष्ट्रिय अपराध हो । जनता पनि भ्रष्टाचार, घूस नखाई त नेता प्रशासक चलमल नै नगर्ने । भ्रष्टाचारमय बनेको गणतन्त्र सुन्निएर मोटाएको छ । यसैले त जनता बिद्रोह बोल्दैछन् । धेरै खाले आन्दोलन सडकभरि देखिन्छन् । एकढिक्का, एकस्वर, एकमत भएर आन्दोलन गर्न जरूरी छ । तबमात्र यी भ्रष्टहरूको सातो जानेछ । असन्तुष्टि पार्टीभित्र पनि छ, पार्टीका कार्यकर्तामा पनि छ । ती सबै असन्तुष्टि बिस्तारै सडकमा देखिदैछन् । जब सबैखाले असन्तुष्टहरू, राजतन्त्र र हिन्दुवादीहरू एकजुट हुनेछन्, त्यो दिन यी भ्रष्टहरूको समय सकिनेछ । भ्रष्टहरू पुच्छर ठाडो पारेर भाग्नेछन् ।
भ्रष्टाचारका फाइल खोल्नैपर्छ । वाइडबडी, ओम्नी, सुन, ललित निवास, गिरिबन्धु, जग्गा र भुटानी शरणार्थी काण्डदेखि सबै फाइल खोलिनुपर्छ । ०४६ सालदेखि गुम्सिएर बसेका ती फाइलहरू खोलेका दिन भ्रष्टहरू ठेगानमा आउनेछन् । भ्रष्टहरूलार्य शासनसत्तामा होइन, जेलहरूमा खोज्नुपर्नेछ । यो समय देशको चिन्ताको हो । इमानदार चिन्ता गर्ने हो भने भ्रष्टहरूको भागम्भाग हुनेछ । रसातलमा पुगिसकेको देशको हालतमा सुधार हुनेछ । देशका प्रधानमन्त्री राजा फालिएको दिन वैशाख ११ लाई पर्वका रूपमा मनाउने भनेर अझै पनि निषेध, विभेदको कुरा गर्दैछन् । एकलाख युवालाई राजधानीमा उतार्ने उद्घोष गर्दैछन् । भ्रष्टाचारीले राजाको विरोध गर्नु भनेको आफूमाथिका भ्रष्टाचारको आरोपलाई विषयान्तर गर्नु हो । भ्रष्टाचार गरेको पैसाले मासुभात, खर्च बाँडेर चुनाव जितेका र सत्तामा पुगेकाहरूको बुद्धि नै पैसा बाँडेर आफू चोखो हुन सकिन्छ भन्ने भ्रम हो । यथार्थमा यो आत्महत्याभन्दा कम होइन, किनकि देशका प्रत्येक नागरिकलाई थाहा छ, यिनीहरू भ्रष्ट हुन् ।
नेता र पार्टीहरूले आमनागरिक नआउने भएपछि भेला, जुलसमा ठेक्का दिएर मानिस उतार्ने हो । उतार्लान्, तर नेताहरूको भाषणबाजी सुन्न आमनागरिक तैयार छैनन् । यिनको विश्वसनीयता यसरी घटेको छ कि जनआस्था यिनीहरूमाथि पटक्कै बाँकी छैन । नेताहरूले सत्ताको आडमा भाषणबाजी गर्ने हो । बिना सुरक्षा कुनै पनि नेता वा मन्त्री जनताका सामुन्ने उभिन पनि सक्दैनन् । धेरै ठाउँमा भुइँमान्छेले नेताहरूलाई जुत्ताले हानेका घटना देखिएकै हुन् । यसकारण पनि सत्तासीन नेताहरूले आफूलाई राज्यसुरक्षामा सुरक्षित ठान्ने गरेका छन् । तर कति दिन ?
देश र जनतामाथि अत्याचार धेरै नै भयो । यसबा निजात पाउन सबैलाई समेट्न जरूरी छ । एकथुकी सुकी भएकै छ, सबै मिलेर थुकी समुद्र बन्नेछ । अर्थाभावमा पिसिएकाले नेताजीहरूको भ्रष्टाचारको पैसा खाँदा लिदा फरक पर्दैन तर आवाज चाहिं देश र राजतन्त्रकै पक्षमा उठाउनुपर्छ । हिजोका भ्रष्टाचारले आजको महाभ्रष्टाचार जन्माएको छ । अब पनि हामीले यिनै भ्रष्टहरूलाई साथ दिने हो भने भावी पुस्ताका लागि अन्याय हुनेछ । यस्तो भ्रष्टाचारको नाली बनिसकेको परिदृश्य भोलिभोलि हेर्न नपरोस्, यसका लागि पनि आमनागरिकले एकतामा, बिद्रोहमा मतैक्य जनाउनुपर्छ । तबमात्र भ्रष्टहरूको पसिना निस्कनेछ ।