Advertisement Banner
Advertisement Banner

०९ मंगलबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

कानुन किन यति कमजोर छ ?

०२ मंगलबार , बैशाख २०८२७ दिन अगाडि

कानुन किन यति कमजोर छ ?

नेपालको कानुन दैव जानुन्, यसै भनिन्छ । यस्तै प्रभाव छ नागरिकमा ।  सेतै कपाल फुलेका मुक्ति काका शंखपार्कमा रहेको शिवमन्दिर नजिकै फलामे कुर्सीमा बसेर भन्दै थिए । तुवाँलोझैं वायुप्रदूषणले काठमाडौंको वातावरण निकै नै प्रदूषित थियो । त्यही प्रदूषित वातावरणको बीचमा पनि केही ज्येष्ठ नागरिक पार्कमा टहलिन पुगेका थिए । सधैंझैं ज्येष्ठ नागरिकहरू शिवमन्दिरको छेउमा बसेर आ–आफ्ना तीता मिठा अनुभव सुनाउने गर्दथे ।  मुक्ति काकाको यस्ता कुरा सुनेपछि दाहाल मामाले भने– ‘मुक्ति भाञ्जा आज निकै चिन्तित देख्छु के भो र ?’
भान्जाले जवाफ फर्काए, ‘के हुनु र मामा सुन्नुभएन समाचार ? त्यो रविलाई फेरि जेल हाले छन् !’ कहिले यता कहिले उता कहिले यो आरोप कहिले त्यो आरोप गर्न पनि कति सकेका हुन् क्या ! दाहाल मामाले कति बुझेका थिए वा थिएनन् प्याच्चै भनिदिए । ‘सहकारी ठगेपछि त जेल हाल्नैप¥यो नि । जनताले एक–एक रूपैयाँ गरेर कमाएर बचत गरेको पैसा ठगले उडाइदिए । यसरी मनलाग्दी गर्न पाइन्छ ?’
मुक्ति काकालाई, अलि झर्केजस्तै गरी भने, ‘मामाले खासै कुरा बुझ्नुभएको रहेन छ । यो त सबै त्यो रविलाई फसाउने खेलमात्र हो ।’ ‘ल भन्नुस् त साँच्चै नै ठगलाई नै समाउने हो भने त सहकारीको अध्यक्ष जिबी राईलाई समाउनुपर्छ । जसले जनताबाट बर्षौंदेखि पैसा असुलेर बसेको थियो उसलाईचाहिँ बेपत्ता भन्दै नखोज्ने ? अनि विचरा दुई–चार महिना सहकारीसँग जोडिएको मान्छेचाहिँ कसरी अपराधी हुन्छ के ? तपाईं त उही कानुनमै जिन्दगी बिताउनुभाको मान्छे , ल भन्नुस् त हो कि होइन ? यही को कानुन ?’
‘के हो, के हो । यसो हेर्दा चेक चलाएकाले रवि दोषी, नभए र कसरी दोषीजस्तो पनि लाग्छ हो मुक्ति भाञ्जा !’ बल्ल भान्जाको अनुहारमा खुसी देखियो । ‘हो, मैले भनेको पनि त्यही हो मामा । रविलाई जुनसुकै हालतमा पनि जेल कोच्न पाए हुन्छ भन्ने सोचले गर्दा यस्तो भएको हो,बुझ्नु भो ?,’ मुक्तिले भने ।
‘त्यस्तो त हुन्न । कागज प्रमाणले गर्दा दोषी करार गर्ने हो के भाञ्जा । आरोप लगाउँदैमा कहाँ हुन्छ र ?’ 
‘कानुनको नौ सिङ हुन्छ भन्छन्, नेपालमा जे पनि हुन्छ । यो नेपाल हो । यहाँ शक्ति हुनेले जे पनि गर्न पाउँछ । बरू भन्नुस् त मामा, त्यो कानुन किन्न कति पैसा लाग्छ हो ? म पनि रविका लागि किनिदिन्छु ?’
‘ह्या मुक्ति भाञ्जा, कानुन पनि किन्ने भन्ने कुरा हुन्छ ? न्याय सबैको पहुँचमा हुनुपर्छ । सबैले न्याय पाउनुपर्छ । राज्यले कसैलाई पनि अन्यायका दृष्टिकोणले हेर्नु हुँदैन ।’
भान्जा रन्किए– ‘यी सब त भन्ने कुरामात्र हुन् मामा । राज्यले अन्याय भएका मानिसलाई न्याय दिन नै सकेको छैन । त्यसकारण पनि न्यायका लागि बहस गर्नुपर्ने अवस्था आएको छ । न्याय पाउने भए मध्यरातमा त्यो रविको घरमा गएर जबर्जस्ती गर्न पाइन्छ ? छैन मामा छैन, न्याय भन्ने जिनिश छैन !’
काका न्यायका लागि जसरी पनि लड्नुपर्छ भन्नेमा लागेका छन् । तर लडिदिने कसले ? बोलिदिने कसले ? लेखिदिने कसले ? सबका सब द्रव्य पिचास बनेका छन् । पैसाका लागि यिनीहरूले जे पनि गर्न सक्छन् ! दाहाल मामा मुक्ति भाञ्जाको कुरा सुनेर दंग पर्छन् । नपरून् पनि किन, ५८ वर्ष न्याय सेवामा बसेर काम गर्दा कहिल्यै वास्तविक पीडितले न्याय पाएको उनले देखेनन् । बरू अहिले पो प्रविधिको जमाना छ । हल्लाखल्ला भइहाल्छ । नत्र ठूला सञ्चारले जे लेखिदियो वा देखाइदियो त्यसैमा विश्वास गर्नुपर्ने थियो । त्यतिमात्र हो । 
‘न्यायालय आदेश दिन्छ । उहाँका कारिन्दाहरूले मिलाइ मिलाइ द्रव्यमा आँखा गाड्नुहुन्छ । विनाद्रव्य कमैले मात्र न्याय पाउँछन् । किनकि श्रीमान् (न्यायाधीश) बन्नका लागि पनि त ठूलो लगानी पो गरेको हुन्छ ।
न्यायालयमा राजनीति जो भएको छ । अति राजनीति भएको छ । अनि कसरी न्याय स्वच्छ हुनसक्छ ?
‘कुरा त ठीकै हो मुक्ति भाञ्जा तर अहिलेसम्म नै त्यसरी चलिरहेको छ । तिमी हामीले यो उमेरसम्म सरकारी पदमा बस्दा देश बिग्रिन लाग्यो भनेर कहिल्यै भनेनौं क्यार ! अब पेन्सन खाइरहेको बेलामा किन टेन्सन लिने ? क्या !,’
भाञ्जा अझै उत्तिजित भए– हामीले टेन्सन नलिए कसले लिन्छ ? यो देश हाम्रो पनि हो पुर्खाले जस्तो छाडेर गएका थिए भावी पुस्तालाई त्यस्तै छाडेर जानु छ । त्यसैले टेन्सन लिएको हुँ क्या !’ 
भाञ्जाको उत्तर मामासँगै छैन । भाञ्जा अझै भन्छन्– मामा भन्नुस् न के कानुन किनौं । कति रूकम पर्दो रहेछ त्यो पनि बुझौं । आखिर मुद्दा, मामिला वा छोडपत्र होस् कि मेलमिलाप कतै नै कतै उही द्रव्य नै जोडिएकाले कानुन किनिराखौं । भाञ्जाले पेल्न थालेपछि दाहाल मामा पनि चुप ! ५८ वर्ष न्याय सेवामा काम गरेको पनि बालुवा पानीबराबर नै भयो । न्यायमा आर्थिक अनियमितता पक्कै हुनेगर्छ । 
शायद यह िकारण मुक्ति भाञ्जाको एउटै रटान छ– जसरी हुन्छ कानुन किन्ने हो । जति परोस् किन्ने हो । मध्यरातमा रविलाई समातेर लग्यो कानुनकै खेल हो । शक्ति र सत्तामा रहेका र तिनका आसेपासेलाई नलाग्ने अरू सबैलाई लाग्ने कस्तो कानुन हो यो ? हे नेपालको कानुन, तँ कतिमा बिक्री हुन्छस् ? तेरो मूल्य कति हो ? जति भन्छस् त्यत्तिमा नै किन्न सक्छु । त्यसैले दाहाल मामा भनिदिनुस् न प्लिज... कानुन कति पैसामा किन्न पाइन्छ ?’ मुक्ति अड्डी कसेको कस्यै छन् । मुक्तिको अड्डीले मामा मौन बस्छन् । भान्जाको कुरा कसले काट्ने ?
कानुन किन यति कमजोर छ ?