
आज पनि राजधानीका नेवार समुदायमा गुरूमापा आउँछ, गुरूमापाले खान्छ है भनेर उद्दण्ड स्वभावका बालबालिकालाई तर्साएर भनेको मान्ने, ज्ञानी बनाउने प्रयत्न गर्छन् ।
गुरूमापा कथा हो कि साँच्चै हो भन्न सकिन्न । तर गुरूमापाका रूपमा बेला बेलामा आन्दोलन हुन्छ, आन्दोलनलाई हिंसात्मक बनाइन्छ र हिंसा द्वन्द्वमा होनहार युवा मारिने गर्छन् ।
०३६ साल, ०४६ सालमा भन्दा बढी जनयुद्धकाल र त्यसपछिको जनआन्दोलन, मधेश आन्दोलनमा मानिस मारिए । ६ महिनामा संक्रमणकालीन न्याय दिइनेछ भनेर कबुल गरेकाहरूले १७ वर्षमा पनि न्याय सम्पादन गर्न सकेनन् । पीडितहरू न्यायका लागि गुहार गरिरहेकै छन् ।
यो १७ वर्षमा अग्रगमनकारी भनिएकाहरूको अनुहार भ्रष्टाचारले गनाउने नालीजस्तो बनेको छ । सहमति र सहकार्यका लागि अहंकारीहरूले मानेनन्, भ्रष्टाचार बढ्दै गयो ।
अति भयो भनेर नागरिकहरूले लामो समयदेखि आन्दोलन गर्दै आएका थिए । नागरिक अर्को परिवर्तनका लागि बिद्रोह गर्ने झल्को गन फागुन २५ गते दिएका थिए । त्यसपछि चैत १५ गते परिवतर्न खोजिने भन्ने कार्यक्रम थियो । समाजवादी मोर्चा प्रतिकारमा उत्रियो, सरकारको नेतृत्व गरेको एमाले प्रतिकार गर्ने कार्यक्रममा लाग्यो । नागरिकले मागेको सुशासन व्यवहारमा दिन नसक्ने अग्रगमनकारीले अन्ततः नागरिक दमनमा उत्रिन पुगे ।
यसैको परिणाम हो, चैत १५ गतेको हिंसात्मक आन्दोलन । आन्दोलनकारीलाई उक्साउने काम भयो, दमन भयो, निजी घरका कोठा कोठाबाट टियर ग्यास हान्ने काम भयो, नागरिक उदण्ड बने ।
आगजनीका घटना भयो, सुरक्षा निकायले सम्हाल्न सकेन । अन्ततः होनहार पत्रकार मारिए, होनहार युवा मारिए । सरकार वार्ताबाट स्थिति सम्हाल्न भन्दा अहंकारबाट दमन गर्न सैनिक परिचालन गर्न पुग्यो ।
प्रजातन्त्र भनेको न अहंकार हो, न दमन हो, न हिंसा हो ? प्रजातन्त्र संवादबाट निकास खोज्नु हो । कुनै पनि समस्याको समाधान निकाल्नु हो ।
भ्रष्टहरूलाई गुरूमापा बन्न दिइरहने कि थान्को लाग्न सुझाव दिने ? भ्रष्टहरू अहंकार देखाइरहे देशको अस्तित्व सुनिश्चित हुनसक्दैन । यो पक्का छ ।
अग्रगमनको नामधारी भ्रष्टहरूलाई प्रजातन्त्रमा मान्छे खाने गुरूमापाको इटुम्बहाल बन्न दिइरहने कि तिनख्या अर्थात् (टुडिखेल) रूपी जेलको कोठरीमा कुनामा थान्को लगाइदिने ?
प्रश्न गम्भीर छ, सामयिक छ ।
एकोहोरो शङ्ख मन पर्ने, मृत्युधुन मीठो मान्ने र मान्छे पोलेको दृश्य खुशी भएर हेर्नेहरू विषालु हुन्छन् । मान्छे त मान्छे नै हुन्, मान्छेलाई प्रदूषित अनुभूतिले पनि विषालु बनाउँछ । अतिउत्तम प्रजातान्त्रिक देशबारीमा नैतिकहीन, चरित्रहीन, भ्रष्टाचारको विष रोपेकोले विषालु फल फलेका छन् । खाए विषले मरिन्छ, नखाए भोकले मरिन्छ । आक्रोसित हुँदा राज्यदमनबाट मरिन्छ । हाम्रो पवित्र प्रजातन्त्र नामधारी विषालु परिवेश यही हो । बाध्यता र भयले घाँटी थिच्दोछ । न गरिखान दिए, न स्वभाविक मरिजान दिए ।
जीवन बाँचेको जस्तो छैन, देशैभरि भ्रष्टाचार र सिद्धान्तहीनताका एकोहोरो शङ्ख बजेको सुनिन्छ ।
मान्छेको काम बाँच्नु र बचाउनु हो । यहाँ त मान्छे मार्नु र पोल्नु, निचोर्नु र छाला टाङ्नुलाई लोकतन्त्र भनेर ढाँटिदै छ । एउटै शङ्ख महामृत्युञ्जय, त्यही शङ्ख मत्यु बाजा । हामी सत्तालाई चिहान बनाएर अगुवाहरूले बजाएको अनैतिक मृत्युधुन सुनिरहेछौं ।
पद्धति राष्ट्रको मार्ग हो, हामीले हिँडेको राष्ट्रमार्ग अदूरदर्शी भ्रष्टाचारको काँडेघारी हुनथाल्यो । साहित्यकार वीपी कोइरालाले राजनीतिभन्दा माथि उठेर लेखेका छन्– मानिस न पशु हो, न ईश्वर । मानिस केवल मानिस हो, पशुभन्दा माथि, ईश्वरदेखि तल ।
वीपीको लेखाइ र हाम्रो भोगाइ, कुन तहमा होला ? लोकतन्त्र लोकजीवन हो, लोकबाजा हो । कसरी पाखण्ड भयो ? लोकतन्त्रमा कृष्ण होइन, गुरूमापा पो जन्म्यो । मान्छे खाइरहेछ ।
जसरी इटुम्बहालका नागरिकले गुरूमापालाई टुँडिखेलको पूर्व–दक्षिण कुनामा थान्को लगाए, वर्षेनी खान्की स्वरूप भोज खुवाउने प्रचलन बसाले, राजनीतिका गुरूमापा जो जनता र देश खाइरहेका छन्, तिनले खानुसम्म देश र जनता खाइसके, एउटा थान्कोमा नराख्ने हो भने राष्ट्र निलिदिन सक्छन् । राजनीति र सत्ता गुरूमापाको मैदान हो, गुरूमापा बनेका नेताहरूले देशलाई भान्छा बनाए । कुनै कालखण्डमा एउटा गुरूमापा थिए, गणतन्त्रमा थुप्रै छन्, देशखाने गुरूमापाहरूबाट सावधान ।
सवाल के छ भने बिरालाको घाँटीमा घण्टी झुन्ड्याउने कसले ? जिम्मेवारी जनताको हो, जनता निस्कनासाथ दमन हुन्छ, उक्साइन्छ, अनेकतत्वले हिंसा फैलाउँछ र नागरिकको ज्यान जान्छ । पत्रकार मारिन्छ । असफल संविधान मर्छ । भ्रष्टाचारी भाइरस टपक्क टिपेर फाल्छु भन्नेहरूलाई भ्रष्टाचारीहरूले आत्मघाती दमन गर्छन् । नेतृत्व सफल र सवल भइदिएको भए, नागरिकको आवाज तिनले सुनिदिएको भए नागरिक मृत्यु, हिंसा देख्नै पर्ने थिएन ।
नागरिकको आवाज सुन्नुपर्ने, बोल्नुपर्नेहरू भ्रष्ट नेताको हनुमान चालिसा पाठ गरेर बसेका छन् । नागरिक शासनको सुरक्षाअधिकारी कोही छैन । फर्सी कुहिएझैं कुहिएकाहरूले पद्धतिलाई कुहाइसके । कुहिएको बोक्नु, मृत्यु बोक्नु हो । आफूलाई अब्बल देखाउन असफल हुनेको बुई चढेर जँघार तरिन्न । जो असक्षम छन्, उनीहरूसँग बाँकी रहेको पाखण्डमात्र हो । पाखण्डको एकोहोरो शङ्ख सुनेर पुगिने चिहानमात्र हो । चैत १५ गते फेरि नागरिकको रूपमा, पत्रकारको रूपमा यो पद्धति मृत्यु भयो ।
भारतका शासक प्रशासक बनेका प्रणव मुखर्जी र श्याम शरणले नेपालको परिवर्तन हामीले ल्याइदिएका ह्वौं, माओवादीलाई हामीले पालेका हांै भनेर दावी गरेका थिए । अहिले पनि एसडी मुनिजस्ता नेपालविद्हरू माओवादीलाई यहाँसम्म पु¥याएको हामीले हो भन्छन् र नेपालको परिवर्तनको स्टेक होल्डर भारत पनि हो भनिरहेका छन् । एसडी मुनि र पूर्व रअ प्रमुख र अमर भुषणले त इनसाइड नेपाल, इन्स्पायर्ड बाई अ ट्रिउ स्टोरी पुस्तक नै लेखेर नेपालको परिवर्तनमा भारत निर्णायक थियो भन्ने प्रमाणित गरिसकेका छन् । अरूले भिराइदिएको गणतन्त्र र संघीयता बोक्ने भरियाहरू नागरिक आन्दोलनको प्रतिकारमा उत्रनु र दमन गर्नु दुर्भाग्य हो । लोकतन्त्र हाँक्ने सैद्धान्तिक, नैतिक आधार, धरातलको विकास भएको भए यस प्रकारको रक्तपात हुनेथिएन ।
भारतले ल्याइदिएको परिवर्तनलाई हामीले ऐतिहासिक मान्ने ? अपनत्व ग्रहण गर्ने ? भारतले हिन्दुराष्ट्र र राजतन्त्रको अन्त्य गरेर गणतन्त्र उपहार दिएको रहेछ, होइन भन्ने प्रमाण छ कुनै नेतामा ? ठूलो उपलब्धि भनेको लोकतन्त्र भारतको बक्सिस् रहेछ । लोकतन्त्र भ्रष्टतन्त्र, नेतातन्त्र बन्न पुग्यो । चाकरी गरेबापत पाउने बक्सिस हो । चाकरमा स्वाभिमान हुँदैन । भागवत गीतामा लेखिएको छ– मानिस आफैभित्र आफ्नो बन्धु, शत्रु दुबै हो ।
हामीले बन्धुलाई शत्रु र शत्रुलाई बन्धु बनाएको फल भोगिरहेका छौं । आफ्नो किस्मतमात्र मीठो हुन्छ, लोकतन्त्र अर्काको उत्पादन रहेछ, त्यसैले तीतो भयो । नागरिकले भ्रष्टतन्त्र पचाउन सकेनन् । नेतृत्वले सुशासन कायम गर्न सकेनन् । यथार्थ यही हो । यो सत्य उत्खनन् नगर्ने हो भने नेपाल बंगलादेश बन्नसक्छ । भो त्यो घटना अपेक्षा नगरौ ।
यथार्थ यही हो कि पाखण्डमा पौरख हुँदैन । हाम्रा नेता स्वतन्त्र भइदिएको भए यिनमा आँट र आत्मबल हुन्थ्यो । सिद्धान्त, नैतिक बल र स्पष्ट लक्ष्य हुन्थ्यो । चरित्र हुन्थ्यो । लोकतान्त्रिक गुण हुन्थ्यो । सुशासन र समृद्धिको उचाइ उचाल्ने अबधारणा हुन्थ्यो । स्थिरता स्थापित गर्ने ल्याकत हुन्थ्यो । अराकता रोक्ने अक्किल हुन्थ्यो । नागरिकले खोजेको र चाहिने विधि थियो, यिनीबाट फैलियो विधिहीनता । हुनुपर्ने सफाइ र निर्माण, भयो फोहर र नैतिक विध्वंश । यतिबेला जता हेरे पनि असन्तुष्टि छ, चिसो बतास, डरलाग्दो अतासमात्र देखिन्छ । उपलव्धि बचाउनुपर्छ भन्नेहरू लोकको रगत–पसिनाको सर्वत पिइरहेछन् ।
आमनेपाली वाल्मीकि खोजिरहेका छन्, रत्नाकरहरू वाल्मीकि बन्न सकेनन् । अग्रगमन, परिवर्तनको पण्डित्याइँ गर्ने महापण्डितहरू दुःख, असन्तुष्टि र पीडा बोकेर बाँच्नेहरूलाई स्वर्गको सुखानुभूतिको चमक देखाएरै, रफु गफ चुटेरै शोषण र भ्रष्टाचारको दहमा पौडी खेलिरहेछन् । न्याय खोजिरहेका नागरिकमाथि नेतातन्त्रे सुकुलगुण्डाको गुण्डागर्दी । संविधानको विशेषता भ्रष्टाचार गर्ने लाइसेन्स बन्यो ।
रत्नाकर ब्राह्मणकुलका दीपक थिए । उनको सङ्गत खराव व्यक्तिहरूसँग भयो । सङ्गत गुनाको फल भनौं, रत्नाकर ज्यानमार्ने, ठग्ने, लुट्ने, कुट्ने, मार्ने, सोझासिधालाई दुःख दिने लतका आदि बन्न पुगे । हिंसा र व्यभिचार नै उसको दिनचर्या बन्नपुग्यो । एक दिन रत्नाकरले दैनिकी स्वभावअनुसार लुट्न खोजेकाहरू सप्त ऋषिहरू परेछन् । शान्त स्वभाव र ज्ञानी ऋषिहरूले रत्नाकरलाई अर्ती दिए– दुष्कर्म पाप हो, दुष्कर्म गर्दा आफैमाथि आइलाग्छ । ऋषिहरूको प्रतापले रत्नाकर बिस्तारै ज्ञानमार्गतिर आकर्षित हुन थाल्यो । ऋषिहरूले दिएको मन्त्रको जप, तप गर्न थाल्यो । रत्नाकर ईश्वरप्रति यसरी लीन हुनपुग्यो कि ऊभित्र ज्ञानमार्ग, मोक्षमार्गको विकास भइसकेछ । त्यसपछि रत्नाकर आदिकवि भएर निस्किए । डाँका रत्नाकर ‘बाल्मीकि’ अर्थात््् धमिराकोे ढिस्कोबाट आत्मज्ञानी बनेकाले उनको नाम बाल्मीकि भयो । यिनै बाल्मीकिले रामायण लेखे ।
हाम्रो राजनीतिक वर्णपटका राजनीतिक रत्नाकरहरूले जनयुद्ध, जनआन्दोलन गरे, संविधान लेखे, तर रामायणजस्तो पवित्र हुन सकेन । रामायणमा मर्यादा पुरूषोत्तमको गाथा छ, संविधानले पापकर्म बढाउने काम ग¥यो । रामायण धर्मको उज्यालो अध्याय हो, २०७२ को संविधान लोकमय बन्न नसकेको अपराधको अध्याय भयो । यो अध्यायमा यिनको चरीत्र माकुराको जुनीजस्तो छ । जसले आफ्नै आमाबाबु खाएर सिध्याउँछ । हाम्रो राष्ट्रिय सङ्कट भनेकै बिधिमा चल्न, नचलाउनु हो ।
०४६ साल टर्निङ प्वाइन्ट थियो, कुशासन आयो । ०६३ साल अर्को टर्निङ प्वाइन्ट थियो, अनैतिकताको सुनामी भएर उर्लियो । २०७२ साल नीति, नैतिकता, सिद्धान्त, चरित्र, इमानको इतिश्री हुने टर्निङ प्वाइन्ट बन्नपुग्यो, जुन हामी भोगिरहेका छौं । राजनीतिक रत्नाकरहरू वाल्मीकि बन्नसकेनन् ।
लोकतान्त्रिक गणतन्त्र वाल्मीकि बन्न नसकेका रत्नाकरहरूको कहर बोकिरहेछ, देश पीडामा छटपटाइरहेछ ।
सडकदेखि संसदसम्म, सिंहदरवारदेखि शीतल निवाससम्म रत्नाकरमात्र छन्, त्यसैले त सुख्खाग्रस्त, बञ्जरभूमिजस्तो भयोे राष्ट्रिय जीवन । जता पनि हिंसा र अराजकता । कतै शोषण, कतै रक्तपात । असुरपन भएका रत्नाकरभित्र देव अंश हालिदिने कसले ? अतिरोग, कोरोना सर्छ, देवांश सर्दैन किन ? मान्छे मर्छ, सुकर्म मर्दैन, इतिहास बनाऔं भनेर बुझाइदिने कसले ? अबुझहरू महमा झिंगाझैं सत्तामा, शक्तिमा, सम्पत्तिमा भुनभुनिरहेका छन् । जितेको सत्ताबाट यिनीहरू पारिजातले लेखेझैं ‘हारेर फर्कनु मृत्यु’ जस्ता भएका छन् । हरूवाहरू, अमानवीय मार्गमा विजयी भयौं भनेर उफ्रिरहेका छन् । यस्तैलाई भनिन्छ, कुवाका जन्मेर कुवामै मर्ने ब्याङ्गहरू । अधर्म धर्म हुनसक्दैन ।
जनयुद्ध र जनआन्दोलनको मोर्चामा जो जो अग्रपङ्क्तिमा थिए, ती आफ्नै कुकर्मका कारण सत्ता राजनीतिमा आफै चिप्लिएर लडिरहेका छन् । जो सर्वहारावाद, समाजवाद र राष्ट्रवाद भन्थे, ती पनि ढलेको रूखझैं भएका छन् । यिनले बाँचेको गणतन्त्र घाटाको राजनीति र नाफाको जीवनमात्र हो । अनीति, अत्याचारको घोट्टा पिएर लठ्ठिएकालाई चेतमा ल्याउन चिच्याएर हुन्न । मलम घसेर पिलो निको हुन्न । चिनैपर्छ, खिल निकाल्नैपर्छ । राजनीतिक डाक्टर लोक हुन् । ओखतीमूलो लोकले गर्नुपर्छ । देश गुरूमापाको इटुम्बहाल बन्न सक्दैन । कुनै पनि रूपको गुुरूमापालाई नियन्त्रणको कुनामा थान्को लगाउनैपर्छ । होइन भने राजनीतिक गुरुमापाले बिध्वंश गर्नसक्छ ।