
अदालतले ५ दिन थुनामा राख्न आदेश दिएपछि आजसम्मका लागि राप्रपाका सांसद धवलशमशेर र उपाध्यक्ष रवीन्द्र मिश्र थुनामा छन् । यी दुवैको रिहाईको माग गर्दै राप्रपाले राजधानीमा राँके जुलुस र राजधानीबाहिर वीरगञ्ज, जनकपुर, बुटवल, भैरहवालगायतका क्षेत्रमा जुलुस निकालेको छ ।
सरकारले यी दुबैलाई राज्यविरूद्धको कसुरमा मुद्दा चलाउने तैयारी थालेको बताइन्छ । राप्रपाका उपाध्यक्ष मिश्र र महामन्त्री तथा सांसद धवलशमशेरलाई रिहाईको माग गर्दै राप्रपाले कार्यकर्ता परिचालन गरेर आन्दोलन चर्काएको छ । संसदमै अध्यक्ष लिङ्देनले छाती ठोकेर म राजतन्त्रवादी भन्दै राजालाई थुनेर देखाउन चुनौति दिएका छन् । कमल थापाले पनि राजतन्त्रको वकालत गरेका छन् । ३१ लाई उपद्रव गरेको र मिश्र र राणा सहितका ११ जनालाई राज्यविरूद्धको कसुरमा अनुसन्धान गरिरहेको प्रहरीको दावी छ ।
सांसद धवल शमशेरले थुनाबाटै भनेका छन्– आन्दोलनको गन्तव्य नजिक छ, सबैलाई भन्दिनु भन्ने सन्देश दिएका छन् । उनकै भाषामा– ‘नआत्तिनुस् गन्तव्य नजिक छ, म ठीक छु, सबैलाई भन्दिनु’ भन्दै सांसद धवलशमशेर राणाले काठमाडौँ जिल्ला अदालत परिसरबाटै राप्रपा तथा सहयोगी सबैलाई उत्साहित पार्नेखालको अभिव्यक्ति प्रचारप्रसार गरेका छन् ।