
लोकतन्त्रमा लोक चुनावमा मतदान गर्ने मेसिनमात्र हुन् त ?
किनभने जे देखिएको छ, देश लुछ्ने, जनता चुस्ने लोकतन्त्र विश्वमै नेपालमात्र हो । उत्तम व्यवस्थाको यो बेहाल ।
लोक चुनावमा मत दिने मतदान गर्ने मेसिनमात्र भए । मतदानपछि जनताको न मूल्य छ, न मान्यता छ । पार्टीले आफ्ना कार्यकर्ता ठानेका जनता न बोल्छन्, न तिनको बोली बिक्छ । राणा शासनमा प्रजा थिए, ०४६ सालमा नागरिक भएको घोषणा गर्ने यिनै थिए, ३३ वर्षपछि पनि आमजनता नागरिक बन्न सकेका छैनन् । जो आफूलाई नागरिक समाज सम्झन्छन्, ठान्छन्, तिनीहरूसमेत कुनै न कुनै पार्टीको फेर समातेर लोभ, लाभमा बिकिरहेका छन् । यसकारण नागरिक छैनन् । जो छन्, पार्टीका कार्यकर्ता छन् । आफ्ना पार्टीको आरती उतार्छन्, जयजयकार भजन गाउँछन् । भुइँमान्छे हिजो पनि लुटिएका थिए, लोकतन्त्रमा पनि लुटिएका छन् । भुइँमान्छेका लागि न्याय र समानता छैन । जनतामा अन्यायमा परेका छन् ।
परिवर्तन १८ वर्षमा पनि आएन, कहिले आउँछ परिवर्तन भुइँमान्छेलाई ?
नेता अपराधमा फसे । राजनीति समाजमा सुधार ल्याउने, समृद्धि र सम्पन्नता ल्याउने, आवाजविहीनहरूको आवाज बन्ने होइन, राजनीति व्यापार बन्यो, व्यवसाय भयो । मुनाफाका लागि ठेकेदारले जस्तोसुकै कुकर्म गर्छ, राजनीतिले देश र जनताका लागि ठेकेदारले भन्दा ठूलो लुटकर्म, कुकर्म गरिरहेको छ । राजनीतिमा नीति, सिद्धान्त, नैतिकता र धर्म भन्ने सकियो । नीति, सिद्धान्त, नैतिकता, चरित्र, सिद्धान्तसमेत केही पनि बाँकी रहेन ।
भुइँमान्छेका लागि भय जनयुद्धकालमा थियो, भय भूकम्प थियो, त्योभन्दा डरलाग्दो भय कोरोनाले भयो । अब भ्रष्टाचचारले तर्सिन थालेको छ भुइँमान्छे । हुन त भुइँमान्छे हरेक दिन भोकको भयमा छ । के गरौं कसरी बाँचौं, परिवार कसरी पालौं, कसरी जीवन चलाऊँ भन्ने भयमा छ । भय सधैं सोझा र सज्जनका लागि किन आउँछ ? राजनीतिमा नाममा, शासन प्रशासनका नाममा ढुकुटी खोस्रने छुचुन्द्राहरूलाई कहिले भय आएन । कुनै महामारीले तिनलाई छोएन । लोकतन्त्रमा लुट मच्चाउने आँखा चिठ्ठा बनेर आयो, सत्ता राजनीतिले तिनलाई दिन दुगुना, रात चौगुना शुभलाभ बनेर आइरहेको छ । लोकतन्त्रमा जति लुटे पनि दण्ड सजाय नहुने भएपछि राजनीति हरेक दिन राष्ट्रघाती, जनपापीहरूका लागि बालाजुको बाइसधारा बनेको छ । जहाँ नुहायो, पाप मोचन भयो । यिनै भन्छन्, लोकतन्त्रमा प्रतिगामीको खतरा बढ्यो ।
यथार्थमा स्थापित नेता र पार्टीभन्दा प्रतिगामी के हुनसक्छ र ?
०६५ सालमा जनआन्दोलनका सामु राजा झुके । यसलाई वसन्त परिवर्तन भनियो । रहरलाग्दो जनआन्दोलनको जाँगर र जनताको जित भएको ईष्र्यालाग्दो परिवर्तन थियो त्यो । त्यसपछिका १८ वर्षको प्रतिफल हेरौं, परिवर्तन त नेता र तिनका आसेपासेलाई ठूलो मान्छे बनाउने, नवधनाध्ये बनाउने साजिस पो रहेछ । एउटा राजा फालेर हजारौं राजा बनाउने खेलो रहेछ । सिंहदरवार, राजदरवार, शितल निवासको शक्ति दिल्ली पु¥याउन रहेछ । त्यसका अनेक पराकम्पनहरू हरेक दिन हामी भोगिरहेका छौं । सत्ताधारी सिद्धान्तहीन, अपवित्र र चरित्रहीन गठबन्धनेहरू भन्छन्– संविधानको कार्यान्वयनका लागि अग्रसर छौं । जो संविधानको लगौंटी खोलिरहेको छ, तिनका यस्ता भाषण समेत भुइँमान्छेले सुनिरहनु पर्ने । अब भुइँमान्छे जागेनन् भने यिनका लागि मृत्युमात्र बाँकी रहनेछ ।
उद्योग बेचे, ठूला ठूला काण्ड मच्चाए, भूकम्प, बाढीपहिरो र कोरोनाको महाविपत्मा मान्छे हारिरहँदा, मरिरहँदा नालीको किरालेझैं दाँत गाडेर कमिशन खाइरहेको थिए, अब सत्तामा बसेर भुइँमान्छले तिरेका करको राजस्व घिचिरहेका छन् ।
राष्ट्र एकीकरणको ठूलो उपलब्धि हासिल भएपछि बडामहाराजाधिराज पृथ्वीनारायण शाहका भाइले आफ्नो भाग राज्य माँगेको प्रसङ्ग नेपालको इतिहासमा छ । पृथ्वीनारायण शाहले राज्य अभिभाज्य हुन्छ, राज्य अंशभाग लगाउने बस्तु होइन । जसले राज्य टुक्य्राउन खोज्छ, उसको गर्धन छिनाल्छु भन्ने कडीकडाउ जवाफ दिएपछि यो विवादको अन्त्य भएको थियो । लोकतन्त्रे नेताहरू यही राष्ट्रलाई लुटको अखडा बनाइरहेका छन् ।
लोकतन्त्रे राजनीतिमा हरेक दललाई सत्ताको भाग चाहिएको छ । लोकतन्त्र भाग शान्ति जय नेपाल नीतिमा चल्न थालेको छ । जता पनि भ्रष्टाचार ।
स्पेनबाट सानो भूभाग क्याट्लोनिया टुक्य्राउन खोज्दा प्रधानमन्त्री म्यारिआनोले भाषा, भेष, जात वा भेगका आधारमा राज्य टुक्य्राउन खोज्ने राष्ट्रघाती हुन्छ, उसले क्षमा पाउँदैन भन्ने घोषणा गरेका थिए । नेपालमा बहुल राष्ट्रवादको मुद्दा आज पनि कायमै छ । नेपाल एक देश रहनै सक्दैन भन्नेहरू संवैधानिक शक्ति बनेर संसद, सरकारमा छन् । भ्रष्टाचारको भाङ्मा लठ्ठिएकाहरू लोभ र लाभका लागि यस्ता विवाद झिक्छन् । सत्ता पाए संविधान जिन्दावाद, सत्ता नपाए सडक गान चलिरहेकै छ । न्याय, विधिको शासन, सुशासन भन्ने सवाल स्यालको सिङ् हराएजस्तो हरायो । जंगल भयो देश । मत्स्य न्याय चलिरहेछ ।
नेताहरूले भुलेको सत्य के हो भने माओले त्यसै महेन्द्रलाई विश्वास गरेका थिएनन् । म के कम्युनिष्ट, कम्युनिष्ट त महेन्द्र हुन् भनेर ख्यालठट्टा गरेका थिएनन् । विश्वले नेपालको असंलग्नताको हावामा सह्राहना गरेको थिएन । आज नेपालको व्यक्तित्व झारपातको स्तरमा झरिसक्यो, अमेरिकाले इण्डो प्यासिफिक रणनीतिमा सही गर्न भन्दा खुरूक्क सही गरेर आउनेहरू यिनै हुन् । अमेरिकी राजदूतले नढाँटी एमसीसी इण्डो प्यासिफिक रणनीतिकै हिस्सा भनेर नेपालको विकासमा सघाउन इच्छा व्यक्त गरेर टीभी र सामाजिक सञ्जालबाट पढाएको पनि देखियो । यस्तै अध्यापन चिनियाँ र भारतीय राजदूतले ‘सियानलियाओ’ र ‘मनकी बात’ भनेर सुरू गरे भने नेपालको हालत कहाँ पुग्ला ? हिजो नेपालले के भन्छ भनेर विश्वले कान ठाडो पारेर सुन्थ्यो, आज नेपालको हैसियत साँघुरिएर विश्वशक्तिको खेल अखडा बनिसक्यो ।
कुटनीति र राजनीतिलाई हेक्का छैन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालमा ठगैठग छन्, सहयोगको नाममा ठगी भइरहेको आरोप लगाएर सहयोग रोक्का गरिदिंदा पनि चेत फिरेको छैन । आउने दिन सहज देखिदैन ।
यो कस्तो लोकतन्त्र हो, जसले देशको सीमा कति हो भनेर भन्न सक्दैन । नेपाली भूभागको रक्षा, सुरक्षा गर्ने सोच राख्दैन । लुट्नुलाई लोकतन्त्रको परिभाषा बनाउनेहरू लज्जावोधसमेत गर्दैनन् । संविधानले कुनै सीमा कोर्न सकेन, अपराधीलाई दण्ड दिन सकेन । परराष्ट्र छ, कूटनीतिक मर्यादा छैन । हाम्रो क्षमता नुन बोक्ने हटारूले पाले सरह विदेशीले पालेको च्याङ्ग्राको स्तरमा झरिसक्यो । राजनीतिलाई व्यवसाय बनाउने नेतालाई किन यो यथार्थ बिझ्दैन, दुख्दैन ?
कार्लमाक्र्सले किन भीमसेन थापाको नाम लिएका थिए ? यसको साक्षी डा.केशरजंग रायमाझीको ‘म किन कम्युनिष्ट रहिन’ पुस्तक हो । पृथ्वीनारायण शाहको विदेशनीति, आन्तरिक नीति र स्वाभिमानी नीतिबारे माक्र्सको अर्थशास्त्रमा भरिभराउ देख्नेहरू कति छन् कति ? समाजवाद अथवा जनवादको सिद्धान्त मान्छु भन्नेहरूले माक्र्स पढे, बुझेनन् र सालिक फोडेर क्रान्तिकारी बनेका छन् । यो दृश्य बिरालोले खाँबो चिथोरेको हो ।
समदूरी जरूरी छ । नेपालको प्राथमिकतामा सधैँ उत्तर दक्षिणका मुलुक हुन् । ठूला मुलुकका बीचमा तरूलजस्तो नेपालको भूराजनीतिबारे नेपाली राजनीति सुशिक्षित छैन वा थाहा पाएर पनि सचेत रहेन । यसकारण त उत्तर दक्षिणमात्र होइन, विश्वशक्ति नेपालमा पारदर्शी रूपमा प्रवेश गरिसकेको छ । खोई संचेतना ? समन्वयको खुबी । पटक पटक जनतालाई झुक्याउनकै लागि नेपाललाई सिंगापुर बनाउने, नेपालको सूर्य पश्चिमबाट उदाउने सपना देखाइयो । सपना देखाउनेहरूले राजनीतिलाई चटक बनाए । चटक चटकमात्र हुन्छ, साकार हुँदैन । आज पनि लोकतन्त्र पृथ्वीबाट हेर्ने आकाशको तारामण्डल मात्र हो । राजनीतिको यस्तै ठगतन्त्र रहिरहने हो भने नेपालको लोकतन्त्र साकार नहुने सपना मात्र हो । भुइँमान्छे सपना देखेर जन्मन्छ र सपनामै मरिरहन्छन् । भुइँमान्छेका सामु जिवन्त हुनका लागि विद्रोहको विकल्प देखिन्न ।
महाभारतका अनुसार जब जब असत्य बढ्छ, श्रीकृष्णको उदय हुन्छ । अन्धा धृतराट्रको भीमसेनलाई अँगालोमा कसेर धुलोपिठो पार्ने षड्यन्त्र थाहा पाएपछि श्रीकृष्णले चलाखीका साथ फलामको नक्कली भीम बनाएर धृतराष्ट्रका सामु उभ्याइदिएका थिए । धृतराष्ट्रले अँगालो मारेर नक्कली भीम चकनाचुर पारिदिएपछि, धृतराष्ट्रको होस् खुल्यो, लज्जित भए । असली भीम बाँचे । यतिबेला राष्ट्ररूपी भीम खतरामा छ, धृतराष्ट्ररूपी शासक र गान्धार नरेश शकुनीको अन्त्यका लागि कुनै श्रीकृष्णावतारको प्रतीक्षा भइरहेछ । ती श्रीकृष्णरूपी सूर्योदय कहिले हुन्छ, श्रीकृष्णको पदार्पण कहिले हुन्छ ?
भुइँमान्छेको तक्दिर खोटो हो कि छाती कमजोर ? राष्ट्र खिइँदो छ, नेताहरू खाइलाग्दा देखिंदैछन् । राष्ट्र चुसेर डकार्नेहरू राजनेता मै हुँ भनेर भ्यागुतो उफ्रे झैं उफ्रेको देखिन्छ । यो सबै दुर्योधन अहङ्कार हो । राष्ट्र जुरूक्कै उचाल्ने नेता एउटा पनि छैनन् । राजनीति उजाड टारजस्तो छ । झरी नपरेर चरचरी चिरिएको खेतजस्तो बनिसक्यो ।
राजनीति नाली बन्यो ।
३३ वर्षअघि चुँडिएको चप्पल आगोले पोलेर, सेफ्टीपिनले अड्काएर, कपडाको लुतुरोले बाँधेर लगाउने नेताहरू अर्ब, खर्बका मालिक बनेका छन् । भुइँमान्छे नाना, खाना, छाना बिहीन नै छन्, चिसो भुइँमै छन् । मुनाफाखोर व्यापारीमा राष्ट्र चिनाउने, राष्ट्र बनाउने, त्याग र प्रतिबध्दता हुँदैन । भनिन्छ, व्यापारीको न देश हुन्छ, न देशभक्ति । व्यापारीको धर्म मुनाफा हेर्नु हो । हाम्रा नेता लाटाको देशमा गाँडो तन्नेरी बनेका छन् ।